वाफ रे वाफ – कोभिड १९


२०१९ डिसेम्बर ३१ तारिखका दिन चिनको वुहान शहरबाट यात्रा आरम्भ गरेको कोभिड १९ ले एक चक्कर अन्तर्राष्ट्रिय यात्रा पुरा गरि सकेको छ । कोभिड १९ को यात्रा रोक्न शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति ट्रम्प देखि म वस्ने वडाको वडा सदस्य आ–आफ्नो जिम्मेवारी अनुसार अहोरात्र क्षमता, योग्यता र अधिकार अनुसार क्रियाशिल हुनुहुन्छ । विश्व स्वास्थ्य संगठन देखि मेरो राष्ट्रसम्म दिनहु कोभिड १९ सँग जोडिएका हरेक सुखद तथा दुःखद समाचार सम्प्रेषण गरेर सवै राष्ट्र र आम मानिसहरुलाई सचेत र सजग वनाई रहेकै छन । सरकारको सही निर्णयका कारण कोही कसैको हताहत भएको छैन भन्ने विद्वान पनि हुनुहुन्छ, कहाँ सरकारले गर्दा हुनु र ? पशुपति नाथको कृपाले वाँचेका हौ छौ, भन्नेहरुको पनि राम्रै संख्या छ । कहि त्रास छ त कहि आश छ । अव सकिने भयो, सकियो भन्ने निराशावादीहरु पनि छन, अव नयाँ सम्भावनाहरुको ढोका खुल्दछन भन्ने आशावादीहरु पनि छन । अनुकुल र रुची वमोजिमको राजनैतिक, सामाजिक, सास्कृतिक र आर्थिक व्यवस्थाको संभावनाको चित्र कोरीे आफ्ना धारणा राख्ने क्रम वढिरहेकै छ, जो निरन्तर प्रकृया पनि हो, तर अहिले कोभिड १९ संक्रमण नियन्त्रणका लागि भएको लक डाउन नै प्रमुख कारण वनेको छ । कारण एक प्रभाव अनेक । अनि सम्झनुस कति खतरनाक छ यो कोभिड १९ । वाफ रे वाफ कोभिड १९ ।

अव राहतको कुरा गर्रौ । कोभिड १९ संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका कारण खाद्य अभाव भएका परिवारलाई राहत वितरण नगरपालिका र वडाले मापदण्ड वनाई र मेचीनगर नगरपालिका वडा नं. ९ का स्थायी वासिन्दा श्री सत्यसाई सेवा संगठन झापाका प्रतिनिधी मित्र कविन्द्र श्रेष्ठ खाना नपाई रहेका व्यक्तिहरुलाई तयारी खाना “प्रसाद” को रुपमा वितरण गरि रहनु भएको छ । फेरी अरु थुप्रै राहत संकलक र वितरक अभियन्ताहरु हुनुहुन्छ, वहाँहरुलाई चाहि छुटाएको हैन है । दाताहरुको नाम त कति कति ? कोई स्वास्थ्य सुरक्षण सामाग्री आफै तयार गरेर निशुल्क वा सशुल्क उपलब्ध गराउनु हुदैछ, कोही स्वास्थ्य सुरक्षण सामाग्री संकलक गरेर वितरण गर्दै हुनुहुन्छ । कोही सरकारी कोषमा रकम वा जिन्सी हस्तारण गर्दै हुनुहुन्छ त कोहि स्थानीय सरकारलाई जानकारी गराएर आफै वितरण गर्दै हुनुहुन्छ । सरकारको भर हुन्न भन्नेहरु सरकारलाई चुनौति दिदै आफै राहत वितरण गरेको फोटो सहित सामाजिक संजालमा देखिनु हुदैछ । विरतण गर्ने जो सुकै होस सार्वजनिक गर्ने तरिका पनि फरक फरक छन । अर्को तर्फ राहतलाई अधिकारको रुपमा व्याख्या गर्ने पनि हुनुहुन्छ अनि राहत कनिका जसरी वितरण भयो भन्ने नि हुनुहुन्छ । तीनै तहका सरकार राहत “एकद्वार” प्रणालीबाट संकलन र वितरण हुन पर्छ भनि रहेका छन । तर सरकारले एकद्वार नीति पनि आफ्ना विरोधीलाई तह लगाउने नीतिको रुपमा प्रयोग ग¥यो भन्नेहरुको पनि संख्या कहाँ कम छ र ? यति हुदाँ पनि सरकारी नीति वाहिर राहत संकलन र वितरण गर्न कहाँ छोडिन्छ र ? भन्दै क्रियाशिल हुनेहरुको प्रष्टीकरण पनि कहाँ कमजोर छ र । अव भन्नुहोस त कसको कुरा ठिक कसको कुरा वेठिक ? सवको स्वभाव अनुसारको अभिव्यक्ति गराउन सक्ने यो कोभिड १९, कति खतरनाक छ वाफ रे वाफ ।


थोरै लकडाउन र सामाजिक दुरीको पनि त चर्चा गरौ । नेपाल सरकार, ७ वटा प्रदेश सरकार, ७५३ वटा स्थानीय सरकार । विषय लक डाउन एक, तर तालिका, जति सरकार तेति नै । यसको वर्णन त गरि सक्नु भए पो ? अनि सगै जोडिएर आएको सामाजिक दुरी । रिसानी माफ, यि दुवैको चर्चा चै आफैसँग जोडेर गर्छु । आज विहान ४ः३० मा आखाँ खुले । आखाँ मिच्दै यसो नित्यकर्म के सकेको थिए, शुरु भई हाल्यो रिङ्ग वज्न, उठेर १५ मिनेट पनि पर्खिनु परेन । सामाजिक दुरी कायम गरेर उद्योग संचालन गर्न पाइने, सामाजिक दुरी कायम गरेर सरकारी योजना निर्माण गर्न पाइने, सामाजिक दुरी कायम गरेर चिया वगानमा काम गर्न पाइने अनि एक्लै चढेर मोटरसाइकल चाहि किन कुदाउन नपाइने ? के गर्न खोज्या हँ ? प्रश्न सँगै आवाज पनि कडा थियो । उत्तर नै आएन । है ल अव भरे कुरा गरौला ल भनेर सकी नसकी विदा मागे । राख्न पाएको छैन, अर्को कल आइहाल्यो । उठाए । विहान ६ वजे देखि विहान ११ वजेसम्म अनुमति लिएर दुग्ध ढुवानी गर्न पाउने अनि वेलुकाको चै कहाँ लगेर कसरी फ्याक्नु ? हैन तपाईहरुलाई यति सानो कुरा पनि थाह हुन्न ? लु यो त साँच्चै ध्यान पुगेन छ कि क्या हो ? आफै एकछिन अलमलिए । हस आजको विहान भै हाल्यो भरे वेलुका कुरा व्यवस्थापन गर्नु पर्छ ल भन्दै कलबाट विदा लिए । त्यसपछि अर्को कल औषधी त्यो पनि स्वदेशी र विदेशीको कुरा आयो । ठिक छ १० वजे भेटौला ल भनेर विदा माग्ने वित्तिकै मोवाइल घर भित्रै छोडेर घरको गेट वाहिर निस्किए । चटपटे वेच्ने एक जना दिदी गेटमा नै उभिनु भएको रैछ ।

अव वहाँको कुरा पनि त्यस्तै थियो । सर ! घरमै खाना वनाएर सडकमा वस्ने अनि तत्काल छाक टार्न नसक्नेहरुलाई प्याकेट वनाएर वितरण गरि रहेका रैछन । चटपटे वनाएर वेचेर परिवार पाली रहेको छु, सामाजिक दुरी कायम गरेर चटपटे पसल चलाउदाँ हुन्न ? उफ यो पनि खाद्यन्न नै हो, के भन्ने भन्ने । मिल्दैन होला हौ ? तर एक पटक उद्योग वाणिज्य संघले खाद्यन्न विक्रीका लागि मोवाइल भ्यानको अनुमति दिन्छ, त्यहाँ कुरा गर्नु ल भन्दै पन्छिए । यतिकैका छोराले घर भित्रबाट “बाबा” भनेर वोलायो । घर भित्र पसे । उसका पनि कुरा रैछन । टाउको कन्याएर कुरा शुरु ग¥यो । बाबा हामी आज साथीहरु मिलेर सगै पढने । अनि मैले भने – कोरोनाको यो वेला कहाँ समुहमा भेला हुनुहुन्छ र । उसको उत्तर थियो – हैन बाबा ! सामाजिक दुरी कायम गरेर वस्छौ नि । मसँग उत्तर थिएन । जिज्ञासा र प्रश्नको उत्तर विहिन वनाउने, तिमी कोभिड १९, तिम्रो लिला वाफ रे वाफ ।

अव विस्तारै कार्यालयको समय हुँदै थियो । साथीहरुले मोवाइलबाट सम्पर्क गर्न थाले । सर मोटरसाइकल चलाउन नपाइने रे ? कसरी कार्यालय आउनु । फेरी सुरक्षाकर्मीहरुले पास खौज्दै हुनुहुन्छ – के गर्ने भनेर । यता लकडाउनलाई प्रभावकारी वनाउन खोज्दा यो नयाँ आपत आएछ भन्ने सम्झिदै कार्यालय आए । उपस्थिति जनाएर के कार्य कक्षमा पसेको थिए – आपतकालिन राहतका लागि भनेर एकै चोटी १९ जना नगरवासी कार्यकक्षमा पस्नु भयो । अव कताको लकडाउन, कताको सामाजिक दुरी । मनमनै सम्झे खाली पेटले कोभिड १९ सँग जुध्न सक्दैन । जसो तसो प्रकृया मिलाएर आपतकालिन राहतको व्यवस्था त भयो तर मनमा एउटा ठूलो आँधी शुरु भयो, कतै कोभिड १९ ले भन्दा पहिला भोकमरीले त हामीलाई लादैन । द्विविधामा पु¥याउने कोभिड १९ । वाफ रे वाफ ।

अव कोभिड १९ । यसको चर्तिकला चर्चा गर्न नै गाहे भयो । यसका कारण घर घरमा टिकटकका नाममा कलाकार जन्माएको छ । शुक्ष्म सामाजिक संस्थाको एकीकरण र विग्रहका कथाहरु दिनै आएका आइछन । वृहत सामाजिक संस्था : राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक माथी परिवर्तन गर्न दवाव श्रृजना गदै उत्पात मचाइ रहेकै छ । धार्मिक संस्थाहरुले अघि सारेका “छु मन्तर” वाला उपचार पद्दतिको खिल्ली उडाउन यस्ले छोडेको नै छैन । भो अव कोभिड १९ ! वाफ रे वाफ । तिम्रो कुरा पछि गरौला । तिमीसँग अहिलेलाई वाई ल ।

अनन्त प्रकाश वस्ती
अध्यापक
हिमालयन मल्टिपल कलेज, धुलावारी

(Visited 149 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु