उपभोक्ताको घर घरमा पुग्दै मेची उद्योग बाणिज्य संघ


काँकरभिट्टा । विश्वभर आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रण गर्ने उद्घेश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सर्वसाधारणको दैनिकी सहज बनाउनका लागि मेची उद्योग बाणिज्य संघ मेचीनगर हरेक दिन प्रत्येक नगरवासीको घर घरमा पुग्ने गरेको छ ।

लकडाउनका बखत दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक खाद्य वस्तु र सागसब्जी हरियो तरकारी संघले नगरका १५ वटै वडामा पुर्याउने गरेको छ । यस्तो परिस्थितीमा उपभोक्ताहरुलाई खाद्यन्नको अभाव नहोस र विचौलियाबाट ठगिनु नपरोस भन्ने उद्घेश्यले लकडाउन शुरुभएदेखिनै सर्वसुलभ मुल्यमा छिटो छरितो ढंगले यस्ता सामाग्री उपलब्ध गराउदैं आएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिदैं आएको नोवल कोरोना भाइरस कोभिड १९ का कारण देश लकडाउनका अवस्थाबाट गुज्रिरहेको छ’ अध्यक्ष तिम्सिनाले भने —‘ यस्तो अवस्थामा मेचीनगर क्षेत्रमा खाद्यन्न तथा सागसब्जी आपूर्ति एवम् ढुवानी कार्यमा आम उपभोक्ताहरुको सहजताका लागि दैनिकजसो हामी विहान, दिउसो साँझ प्रत्येक उपभोक्ताहरुको चुल्हो चुल्होमा पुग्ने गरेका छौ । ’

संघले यस्तो कार्यको सहजिकरण एवम् समन्वयका लागि नगरका विभिन्न वडाहरुमा संघका जिम्मेवारी पदाधिकारीहरुलाई सम्पर्क व्यक्तिकारुपमा तोकेको उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले जानकारी दिए । क्षेत्रीका अनुसार नगरको वडा नम्बर १ देखि ४ सम्म संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, सचिव रविचन्द्र नेपाल र कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेलाई सम्पर्क व्यक्तिकारुपमा निर्णय गरी जिम्मेवार प्रदान गरेको छ । यसैगरी, वडानम्बर ५ र ६ मा सहजिकरण एवम् समन्वयका लागि महिला उपाध्यक्ष वीना तामाङ, कार्यकारिणी सदस्य अञ्जु थापा, विपेन्द्र लामा, उषा नेपाली श्रेष्ठ, टोलबहादुर सुनुवार र गणेश मैनालीलाई जिम्मेवारी प्रदान गरेको सचिव रविचन्द्र नेपालले बताए । कार्यकारिणी सदस्यहरु भूमि पौडेल र संदिप ओलीलाई ७, ८ र १५ नम्बर वडामा, कार्यकारिणी सदस्यहरु राजुकुमार पोद्घार झुनादेवि बानियाँलाई नगरको वडानम्बर ९ मा सहजिकरण एवम् समन्वयकालागि सम्पर्क व्यक्तिकारुपमा पठाएको सचिव रविचन्द्र नेपालले बताए ।

संघका उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिल, बाणिज्य उपाध्यक्ष कल्याण खड्का महासचिव ध्रुव कनालले वडानम्बर १० र ११ मा सहजिकरण तथा समन्वयन गर्ने छन भने वडानम्बर १२ र १३ मा कार्यकारिणी सदस्य धनबहादुर तामाङ वडानम्बर १४ मा कार्यकारिणी सदस्य उमेश सुवेदी तथा संघका सहायक निर्देशक गणेश गिरीले जिम्मेवारी प्राप्त गरेका छन् ।

संघले शुरुदेखि नै आफ्ना सदस्यहरु र आम नगरवासीले महंगो मुल्यमा खरीद गर्नु नपरोस तथा नगरमा खाद्यन्नसहित हरियो सागसब्जीको अभाव नहोस भन्ने उद्घेश्यले खाद्यन्न तथा ताजा तरकारीलगायतको ढुवानी, विक्री वितरणाके कार्यलाई समेत व्यवस्थित गर्ने तथा आवश्यक सुरक्षा व्यवस्थासहित भीडभाडलाई कम गर्ने गरी नगरभरि ११ वटा सवारी साधन परिचालन गरिएको कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेले जानकारी दिए । ती सवै सवारी साधन अहिले संघमा सूचिकृत भएका छन् । संघमा सूचिकृत नभएका अन्य सवारी साधनले यस्तो सेवा दिन नपाउने उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले बताए । संघले सवै काम मेचीनगर नगरपालिकासँग समन्वय गरेर सञ्चालन गरेको हो । सूचीकृत भएका ती सवारी साधनलाई संघले हरेक दिन तरकारीको मूल्य सुची उपलब्ध गराउने गरेको छ । सूचीकृत सवारी साधनले हरियो तरकारी बोकेर गाउँ जादा मेची उद्योग बाणिज्य संघको पहिचान झल्किने व्यानर प्रष्टरुपमा लगाउनुपर्ने, संघले तोकेको मूल्य सूचीभन्दा बढीमा विक्री वितरण गर्न नपाउने तथा संघले उपलब्ध गराएको मूल्य सूची उपभोक्ताहरुले देख्ने गरी प्रष्टरुपमा सवारी साधनको अग्रभागमा टास्नुपर्ने मापदण्ड बनाएको सचिव नेपालको भनाई छ ।

मापदण्ड विपरीत सवारी साधन सञ्चालन भएको तथा बढी नाफा कमाउने गरी संघले तोकेको मूल्यभन्दा बढी कसैले विक्री वितरणको प्रमाणसहित संघमा कसैले शिकायत गरे तत्काल त्यस्ता सवारी साधनको सूचिकृत रद्घ गरी हटाउने र कारवाही गर्ने संघले जनाएको छ । संघले यस्तो सुविधा दिएपछि अहिले हरेकका घर घरमा हरियो सागसब्जी सहित अन्य तरकारी पुग्ने गरेका कारण उपभोक्ताहरुले समेत राहत महसुश गरेका छन् । बजारभन्दा कम मूल्यमा आफुले खोजेका वस्तु आगनमै आएपछि अहिले धेरैले उद्योग बाणिज्य संघले सञ्चालनमा ल्याएका ती सवारी साधन नै उपभोक्ताहरुले पर्खने गरेका छन् ।

लकडाउनका कारण अहिले हरेक पसलहरु बन्द छन्, यस्तो अवस्थामा उपभोक्ताहरुले आफुले खोजेका मालवस्तु नपाउने भएकाले यो समस्याबाट हरेक उपभोक्ता मुक्त हुन भन्ने चाहाना संघको रहेको सचिव नेपालको भनाई छ । लकडाउनको फाइदा उठाएर व्यापारीले कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्न खोज्ने प्रयास गर्छन् । त्यसतर्फ पनि संघ चनाखो रहेको छ भने छड्के अनुगमनलाई समेत मेचीनगर नगरपालिकाको नगर स्तरीय बजार अनुगमन समितिसँग समन्वय गरी अनुगमनलाई तीव्रता दिने गरेको छ । सचिव नेपाल भन्छन् —‘कुनै पनि उपभोक्ता विचौलियाको फन्दामा पर्नु नपरोस, सस्तो र सुलभ मुल्यमा आफुले खोजेको खाद्य वस्तु उपभोक्तालाई घर घरमा उपलब्ध गराउनु संघको मुख्यः दायित्व पनि हो ।’

(Visited 105 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु