संकटका बेला मेचीनगर नेतृत्व चुक्यो : डालमिया


मेचीनगर  । मेची अभियानका संयोजक विजय डालमियाले अत्यावश्यक उपभोग्य सामान र औषधि नगरवासीको घरघरै पुर्याउने व्यवस्था मिलाउन मेचीनगर नगरपालिकालाई आग्रह गरेका छन् ।

कोरोना रोकथामका लागि गरिएको लकडाउन चार हप्ता पुगिसक्दा जनजीवन अस्तव्यस्त बनेको बताउँदै अभियन्ता डालमियाले नगरवासीलाई घरभित्रै बसेर लकडाउन सफल बनाउन आह्वान गरेको स्थानीय सरकारले नगरवासीको अत्यावश्यक आवश्यकतालाई सहज रुपमा पूरा गराउने जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे ।

उनले पहिलो चरणको राहत बाँडिसकेको नगरपालिकाले अब दोस्रो चरणको राहत बाँड्न ढिला गर्न नहुने सुझाव राखेका छन् । लोकतन्त्र पोस्टसँग कुराकानी गर्दै उनले नगरपालिकाका प्रमुखलाई आफुले दायित्व स्मरण गराउँदै नगरको सचेत नागरिकको हैसियतले सामाजिक सञ्जालमा समेत खुला पत्र लेखेको बताए ।

‘यसो गर्नु उचित हुन्छ, नगरवासीको चाहना यस्तो छ भनेर धेरैपटक भनिसक्दा समेत सुनुवाई नभएपछि मैले खुला पत्र लेखेको हुँ’, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका डालमियाले भने–‘क्राइसिसकै बेला नेतृत्वको भूमिका नागरिकले खोजिरहेका हुन्छन्, मेचीनगरको नेतृत्व यसमा चुकेको छ ।’

अहिलेको अवस्था सामान्य सङ्कट नभएर महामारीको महासङ्कट भएको हुँदा यस्तोबेला स्थानीय सरकारले सामाजिक अभियन्ता, दाता र संघ संस्थाहरुलाई समन्वय गरेर साझा अभियानमा डोहोर्याउनु पर्ने उनले बताए ।

‘तर नगरपालिकाले सामाजिक अभियन्ताहरु कसैसँग पनि केही सल्लाह गरेको छैन, बरु उल्टै राहत बाँड्छु भनेर स्वतस्फुर्त आउनेहरुलाई कार्वाहीको डण्डा लगाउँछु पो भनिरहेको छ,’ उनले नगरपालिकाले समन्वयका लागि पहल नगरेको आरोप दोहोर्याउँदै भने–‘खगेन्द्र भाइ, बालकृष्णजीहरुले राहत वितरणमा सक्रियता देखाउनु राम्रो कुरा हो, नगरपालिकाले त आउनुहोस् विपत्तिको घडीमा मिलेर बाँडौं पो भन्नुपर्यो ।’

मेची अभियान विपत्तिमा परेकाहरुका लागि फुड बैङ्क स्थापना गरेर राहत पुर्याउन प्रतिबद्ध रहेको जनाउँदै उनले नगरपालिकाले निर्धारण गरेको मापदण्डमा रहेर विपन्न, गरीव र मजदुर वर्गलाई राहत पुर्याइने जानकारी दिएका छन् ।

कोरोना संकटको दुई तीन महिनापछि नै मुलुक निकै ठूलो आर्थिक संकटमा फँस्ने अवस्था देखिएको जनाउँदै उनले नगरपालिका मात्र होइन, प्रदेश र संघीय सांसदहरुको भूमिका समेत फितलो देखिएको टिप्पणी गरे । यतिबेला नेताहरुले बारीका झारपात उखेलेर र फेसबुकमा हलुका टिप्पणी लेखेर बस्ने बेला नभएको उनको भनाई छ ।

मेची अभियानको फुड बैङ्कका लागि हालसम्म ४ लाख रुपैयाँ देश विदेशमा रहेका विभिन्न शुभचिन्तकहरुबाट सहयोगस्वरुप प्राप्त गरिसकेको डालमियाले जानकारी दिएका छन् ।

उनका अनुसार अभियानले नगरपालिकाको मापदण्ड बमोजिम १६९ परिवारलाई १ लाख ६९ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिसकेको छ ।

अभियानले स्थानीय स्रोत साधन र प्रविधिका आधारमा निर्माण भएको स्यानिटाइजर टनेल जिल्ला प्रहरी कार्यालयलाई एक थान दिने तयारी गरिरहेको र व्यक्तिगत रुपमा एक थान टनेल मेची अञ्चल अस्पताललाई दिइसकेको अभियानका संयोजक डालमियाले बताए ।

टनेल निर्माणमा अभियानले प्रोत्साहन गरिरहेको छ । अर्को एक थान टनेल मेचीनगरका महेन्द्रद्वार सहकारी, आधुनिक सहकारी, मासु उपभोक्ता सहकारी लगायत ६ वटा सहकारीको सहयोगमा इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई प्रदान गरिने उनले बताए ।

(Visited 92 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु