कलवलगुडी क्‍वारेन्टाइनमा बसेका १७ जनालाई घर पठाइयो


भद्रपुर । र्‍यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि झापाका दुइटा क्वारेन्टाइनमा १४ दिन बिताएकालाई घर पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसमार्फत मंगलबार बिहान १७ जनालाई विभिन्न जिल्लास्थित घर पठाएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जनाए। लकडाउनको समयमा भारतको विभिन्न स्थानबाट हिडेर पूर्वी नाका काँकडभिट्टा र भद्रपुर हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको थियो।

१७ जना सबैलाई भद्रपुर नगरपालिका १० कलवलगुडीस्थित क्वारेन्टाइनमा राखिएको थियो। घर पठाइएकामा सिरहाको धनगढी नगरपालिकाका ६, गोलबजार नगरपालिकाका २ र बरियापट्टी गाउँपालिकाका १ जना छन्। उदयपुरको चौदण्डी नगरपालिकाका ३, त्रियुगा नगरपालिकाका २ र ताप्ले नगरपालिकाका १ जना छन्।

खोटाङको रुपाकोट नगरपालिका र सप्तरीको महुली नगरपालिकाका एकरएक जना छन्। उनीहरुलाई बसमार्फत सप्तरी, सिरहा र उदयपुरसम्म पुर्‍याउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत युवराज कट्टेलले जनाए।

मंगलबार नै थप १५ जनालाई क्वारेन्टाइनबाट घर पठाउने तयारी भइरहेको कट्टेलले जानकारी दिए। कलवलगुडी र झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा १४ दिन बिताएका सुर्खेतका १०, कैलालीका ३ र दैलेखका २ जनालाई घर पठाउने तयारी गरिएको हो। उनीहरु सबैको आरडीटी परीक्षणमा कोभिड–१९ नेगेटीभ देखिएको मेयर श्रेष्ठले बताए।

उनीहरु सबैलाई ७ दिनसम्म अनिवार्य सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने शर्तसहित घर पठाएको कट्टेलले बताए। जिल्ला प्रशासन झापाले घर फर्किएका सबै मानिसका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी घर फर्किएकाहरुको स्थानीय तहसंग समन्वयमा निगरानी गर्ने व्यवस्था मिलाउन आग्रह समेत गरेको छ।

कान्तिपुरबाट

 

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु