पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका ६४ जनालाई घर पठाइयो

मेचीनगर । काँकरभिट्टाको होटलहरुमा बेखर्ची भएका ६४ जना नेपालीलाई सोमबार उनीहरुको घर पठाइएको छ ।
दुईवटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना बोकेको एउटा बस काठमाडौं गएको छ भने ३६ जना बोकेको अर्को बस धनगढी पठाइएको मेचीनगर विपद् व्यवस्थापन समिति संयोजक टिका मंग्रातीले जानकारी दिए ।
बस खोज्न स्थानीय सरकार र प्रशासनले मदत पुर्याएको थियो ।
सबै यात्रुको र्यापिड किटमार्फत कोरोना टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
उनीहरु नुवाकोट, धादिङ, बाजुरा, बझाङ, जुम्ला, हुम्लाका हुन् । काँकरभिट्टाको होटलमा बसेका उनीहरु लकडाउन लम्बिएपछि बेखर्ची भएका थिए । केही दिनदेखि उनीहरुलाई होटल व्यवसायीहरुले निशुल्क खाना खुवाउँदै आएका थिए ।
भारतको विभन्न स्थानमा मजदुरी गर्ने नेपालीहरु लक डाउन हुनुभन्दा केही दिन अगाडी र कोही लकडाउनको समयमा भारतबाट नेपाल प्रवेश गरेका थिए ।
प्रशासनको निगराीनमा उनीहरुलाई १४ दिन अगाडीदेखि विभिन्न होटलहरुमा क्वारेन्टाइनमा राखिएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको समन्वयमा अलपत्रहरुलाई सम्बन्धित जिल्ला पठाइएको जानकारी दिए । ‘लामो समयदेखि अलपत्र भएर बेखर्ची बनेकाहरुलाई स्वास्थ्य जाँच पछि घर पठाएका हौं ।’
प्रतिकृया दिनुहोस्