कोरोनाका कारण ज्यान गुमाउनेको संख्या लाख नजिक, १६ लाखभन्दा बढी संक्रमित


२८ चैत । काठमाडौं : विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट निधन हुनेको संख्या ९५ हजार ७ सय १६ पुगेको छ ।

पछिल्लो तथ्याङ्क हेर्ने हो भने कोरोनाका कारण निधन हुनेको संख्याले भोलि (शनिबार) नै एक लाख नाघ्ने देखिन्छ । केहि साता यतादेखि दिनहुँ ७ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाइराखेका छन् ।

संक्रमण हुनेको संख्या भने १६ लाख नाघेको छ । अहिलेसम्म विश्वभर १६ लाख ३ हजार ६ सय ४८ जना कोरोनाबाट संक्रमित भएको वर्ल्डो मिटर्स जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ६९ हजार ४ सय ४० जना भने उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २ सय ७७ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४९ हजार १ सय २५ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी निधन हुनेमा इटाली, अमेरिका, स्पेन त्यसपछि फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ हजार २ सय ७९ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय १० जनाको निधन भएको छ भने ४ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ४३ हजारभन्दा बढीमा कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये २८ हजार ४ सय ७० जना भने पूर्णरुपमा निको भएका छन् । अहिले त्यहाँ ९६ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये २ हजार २७७ को अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी कोरोना संक्रमण हुने देश हो अमेरिका । निधन हुनेमा भने अमेरिका दोस्रो नम्बरमा पर्छ । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । बिहीबार मात्रै अमेरिकामा ३३ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट १६ हजार ६ सय ९१ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा १ हजार ९ सय जानको निधन भएको छ । संक्रमितमध्ये २५ हजार ९ सय २८ जान भने पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ४ लाख २५ हजारभन्द बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये १० हजारको भने अवस्था गम्भीर रहेको छ ।

कोरोनाले भयवह पारेको अर्को देश हो स्पेन । स्पेनमा अहिलेसम्म कोरोनाका कारण १४ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६५५ जनाको ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी थप नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये ५२ हजार १६५ जान भने पूर्णरूपमा निको भएका छन् । अहिले स्पनेमा ८५ हजार ६ सय १० जनामा कोरोना सक्रिय रहेको वर्ल्डे मिटर्सले जनाएको छ । तीमध्ये ७ हजारको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी र फ्रान्स पनि रहेको छ । जर्मनीमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख १८ हजार २३५ पुगेको छ । तीमध्ये ५२ हजार ४०७ सय भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६३ हजार २११ जनामा कोरोना सक्रिय रहेको छ । करिब ५ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ २ हजार १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

फ्रान्समा कोरोना संक्रमितको संख्या जर्मनीको भन्दा कम भएपनि मर्नेको संख्या भने निकै धेरै रहेको छ । अहिलेसम्म फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २१० पुगेको छ । शुक्रबार मात्रै त्यहाँ १ हजार ३४१ जनाको निधन भएको छ ।

अहिलेसम्म फ्रान्समा १ लाख १७ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । जसमा शुक्रबार मात्रै ५ हजार नयाँ संक्रिमत थपिएका हुन् । २३ हजार २१० जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८२ हजार ३३३ जनामा कोरोना संक्रिय रहेको छ । तीमध्ये ७ हजारको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले ११ सयको हाराहारीमा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजारभन्दा बढी पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८१ हजार ९ सय जनामा कोरोनाको संक्रमण देखिएको छ ।

एकैदिन ७ हजार बढीको निधन

विश्वभर शुक्रबार मात्रै ७ हजारभन्दा बढीको निधन भएको वर्ल्डो मिटर्सले जनाएको छ । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार ९ सयको निधन भएको छ । अमेरिका पछि फ्रान्समा १ हजार ३४१ बेलायतमा ८८१, स्पेनमा ६५५, इटालीमा ६१०, बेल्जियमा २८३, जर्मनीमा २५८, इरानमा ११७, नेदेरल्याण्डमा १४८, ब्राजिलमा १३४, जनाको निधन भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

(Visited 47 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु