थापाले बाँँडे बालुवाटारमा राहत

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता बालकृष्ण थापाले मेचीनगर ९ स्थित बालुवाटार बस्ने विपन्न वर्गका ४३ घर परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेका छन् ।
थापा नेतृत्वको एक टोलीले मंगलबार बालुवाटारमा बसोबास गर्ने सुकुम्बासी परिवारलाई चामल, दाल, आलु, नुन र खानेतेल वितरण गरेको हो ।
दिनहुँ ज्याला मजदुरी गरेर खाई जीविका चलाउँदै आएका उनीहरु सरकारले घोषणा गरेको लक डाउनका कारण मारमा परेकाले राहत प्रदान गरिएको टोलीमा सहभागी जिल्ला ट्राभल संघका अध्यक्ष नेत्र कार्कीले बताए ।
राहत सामग्री जुटाएर त्यहाँ पुगेका थापाले नयाँ बस्ती टोल विकास संस्थाका अध्यक्ष छविलाल गिरीलाई दैनिक उपभोग्य खाद्य वस्तु हस्तान्तरण गरेका हुन् ।
त्यसपछि अध्यक्ष गिरीले सो क्षेत्रका प्रत्येक परिवारका सदस्यलाई क्रमशः राहत सामग्री वितरण गरेका थिए । ‘बन्दबाट विशेषगरी विपन्न वर्ग संकटमा परेको छ, यो वर्गलाई बिहान बेलुकाको छाक जुटाउन मुश्किल छ’ दाता थापा भन्छन्–‘त्यसैले, समस्यामा परेको वर्गको पहिचान गरी सहयोग गर्दै आएका हौं ।’
राहत वितरण टोलीमा नेकपाका युवा नेता हरि दाहाल, देवकोटा पार्क व्यवस्थापन समितिका सचिव शेखरकाजी थापा, युवा व्यवसायी नारायण पराजुली, सञ्चारकर्मी झुलन रेग्मी, दिलीप थापालगायतको उपस्थिति थियो ।
थोप्लेविरान सामुदाायिक वन नजिकै रहेको बालुवाटार भनिने सो ऐलेनी माटोमा तत्कालीन नेकपा माओवादीले भूमिहिनको व्यवस्थापनका लागि बस्ती बसाएको थियो ।
त्यस्तै, सो टोलीले मंगलबार नै मेचीनगर वडा नम्बर ६ मा बसोबास गर्ने २ र वडा नम्बर ८ का ३ गरी विपन्न ५ घर परिवारलाई राहत बापत खाद्य पदार्थ सहयोग गरेको छ ।
कोरोना भाइरसले विश्व आक्रान्त बनिरहँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लक डाउनका कारण हातमुख जोर्न समस्या परेका परिवारलाई राहत उपलब्ध गराउने क्रम जारी रहेको दाता थापाले बताए ।
प्रतिकृया दिनुहोस्