बिना अनुमती तरकारी वेचविखन गर्ने सवारी साधन नियन्त्रणमा


मेचीनगर । बजार मुल्यभन्दा बढीमा तरकारी विक्री गरेको भन्दैं मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य संघको संयुक्त बजार अनुगमन टोलीले मंगलबार एउटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

मेचीनगरको गेटमै सवारी साधनको सञ्चालन अनुमती पत्र समेत नलिई गाउँ गाउँमा गएर तरकारी विक्री गरेको भन्दैं तरकारीसहित मे १ च ५९६९ नम्बरको सानो हात्ती भेनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मेचीनगर नगरपालिकालाई बुझाईएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो । नगरप्रमुख विमल आचार्यले नगरमा तरकारी तथा खाद्य सामाग्री ओसारपास गर्ने हरेक सवारी साधनसहित ठेला भेन, सिटी सफारी रिक्शाले सम्बन्धित निकायबाट सञ्चालन अनुमती पत्र लिनुपर्ने र यसो नगरी काम गरे तत्काल कानुनी कारवाही गर्ने बताउनुभयो ।

संघकातर्फबाट अनुगमनमा उद्योग उपाध्यक्ष कपिल क्षेत्रीसहितको सहभागिता रहेको थियो । सवारी साधनको अग्रभागमा मेची उद्योग बाणिज्य संघ कोरोना विरुद्घ अभियान तरकारी डेलिभरी गाडी लेखिएको व्यानर राखिएको भएपनि संघले उक्त नम्बरको गाडीलाई यस्तो व्यवसाय गर्न अनुमती नदिएको उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले बताउनुभयो ।

संघले गाउँ घरमा यस्ता बस्तुको अभाव नहोस भनेर सीमित सवारी साधनलाई संघमा सुचीकृत गरी संघले तोकेको मुल्यमा सेवा सञ्चालन गर्न अनुमती दिएको भएपनि उक्त गाडीलाई संघले अनुमती नदिएको र व्यवसायीले अनुमती नलिएको क्षेत्रीले बताउनुभयो ।

गोलभेडा, प्याज, सजिउन, आलुलगायतका तरकारी विक्री गदैं आएको सो गाडीले प्याज प्रतिकेजी ७० रुपैयाँमा विक्री गरेको तथा उक्त मुल्य बजारको चलनचल्तीको मुल्यमा प्रतिकेजी २० रुपैयाँ बढी भएकाले कारवाही स्वरुप सवारी साधन नियन्त्रणमा लिइएको संघले जनाएको छ । पहिलो पटक भएकाले अब आइन्दा यस्तो काम नगर्न भन्दैं व्यवसायीलाई सजग गराउदैं तरकारी समबन्धितपक्षलाई फिर्ता गरी सवारी साधन थप अनुसन्धानका लागि मेचीनगर नगरपालिकामा राखिएको छ ।

(Visited 73 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु