लकडाउनपछि खाद्य सामग्रीको मुल्य बढ्यो, मेचीनगरमा अभाव सिर्जना


मेचीनगर । सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउन पछि झापाको मेचीनगरमा अत्यवश्यक खाद्य सामग्रीको मुल्य बृद्घि भएको छ ।

सोमबार मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य संघले संयुक्तरुपमा नगरको ९ र १० नम्बर वडाका दर्जनबढी खाद्य पसलको छड्के अनुगमन गरेको थियो । अहिले नगरको मुख्यः व्यापारिक केन्द्रविन्दु धुलावारी बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्य वस्तुमा मुल्य बृद्घि भएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता वस्तुको मुल्यमा बृद्घि भए पनि धेरै खाद्य सामग्री अहिले बजारमा पाउन छाडीएको व्यवसायीहरुको भनाई छ ।

व्यवसायीहरुले आफुहरुले महंगो मुल्यमा खरीद गरेका कारण विक्री गर्दा त्यस्ता वस्तुको मुल्यमा बृद्घि गर्नुपरेको अनुगमन टोली समक्ष प्रतिक्रिया दिएका थिए । उनीहरुका अनुसार लगडाउन पश्चात दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रति काटन १ सय देखि एकसय ५० रुपैयाँ, चिनीमा प्रति केजी १० रुपैयाँका दरले मुल्य बृद्घि भएको छ ।

होलसेल विक्रेताले सवै वस्तुमा मुल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाँध्य भएर मुल्य बढाउनु परेको व्यवसायीको भनाई छ । ढुवानी तथा लोडअनलोड गर्ने मजदुरको अभाव देखाउदै होलसेल विक्रेताले सवै वस्तुमा मुल्य बढाएको खुद्रा विक्रेताको भनाई छ ।

लकडाउनअघिसम्म प्रतिकाटन १ हजार ५ सय ४० रुपैयाँ होलसेल मुल्य भएको सनफ्लावर तेल अहिले १ हजार ६ सय ५० देखि १ हजार ६ सय ६० रुपैयाँ पुगेका कारण खुद्रा विक्रेताले १ हजार ७ सय रुपैयाँ प्रतिकाटन विक्री गर्नुपरेको भनाई छ । बजारमा चिनी, नुन, दाल, तेल आटाको अभाव छ । दैनिक २० देखि २५ जनासम्म नुन किन्न आएका ग्राहक नभएकै कारण फर्किने गरेको मेचीनगर ९ स्थित मास भेराइटिज स्टोर्सले जनाएको छ । यसै गरी जानकी किराना पसलमा नुन चिनको अभाव छ भने मौज्दात चामलले धेरै टिक्ने अवस्था नरहेको जनाएको छ ।

मेचीनगर नगरपालिकाले होलसेल विक्रेताहरुसँग एक्कासी मुल्य बृद्घिको कारण खोज्ने र आफ्नो मन खुशी मुल्य बृद्घि गर्ने होलसेल व्यवसायीलाई कारवाही गर्ने नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाइ छ ।

उहाँ खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको वील विजक सुरक्षित राख्न र नगरपालिकाले आवश्यक परेका बखत माग गरेका बेला उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले यस्तो परिस्थितीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालो बजारी गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने बताउनुभयो । टोलीले घिमिरे किराना पसल, सुहाना भेराइटीज, पाथीभरा स्टोर्स, रेग्मी किराना पसल, जानकी किराना पसल, कट्टेल किराना पसल, प्रविण किराना पसल, भूमि ट्रेडर्स, आदर्श किराना पसल, मास भेराइटिज स्टोर्सलगायतको अनुगमन गरेको थियो ।
अनुगमन टोलीलमा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, महासचिव ध्रुव कनाल सदस्य भूमि पौडेल इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी नायव निरीक्षक राजन खड्कालगायतको सभागिता रहेको थियो ।

वडानम्बर ९ मा रहेको सव्जी पसल अस्तव्यस्त
अनुगमन टोलीले वडानम्बर ९ मा रहेको सव्जी पसल अस्तव्यस्त भएको भन्दैं व्यवस्थित गर्न सम्बन्धित वडा कार्यालयलाई जानकारी गराएको थियो । वडा कार्यालयकै छेउमा सरकारले नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न कायम गरेको सामान्य दुरी समेत पालना नगरेको भन्दैं ९ नम्बर वडाका वडाध्यक्ष गोपाल खडकाको ध्यानाकर्षण गराएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

मुख्य सडकमै निक्कै भिडभाड र अस्तव्यस्तरुपमा सव्जी बजार लागेको थियो । अहिले हिजोसम्म चटपटेलगायत सडकमा अन्य वस्तुको विक्री गर्ने समेत अहिले अन्य व्यापार गर्न पाउन छाडेपछि सव्जी पसल गर्न थालेकाले भीड बढेको खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए ।

(Visited 50 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु