काँकरभिट्टा नाकाबाट औषधिजन्य वस्तु, पेट्रोलियम पदार्थ वाहेकका सामानको ढुवानी निषेध


झापा । अब उप्रान्त पुर्वी काँकरभिट्टा नाकाभएर औषधिजन्य वस्तु, हवाई इन्धन सहित ग्यास तथा अन्य पेट्रोलियम पदार्थ वाहेकका सामानको ढुवानी निषेध गरिएको छ ।

आईतबार मेची भन्सार कार्यालय काँकरभिट्टाको सभाकक्षमा प्रदेश सभा सदस्य, स्थानीय सरकार, विभिन्न राजनीतिक दल मेची भन्सार कार्यालय, स्थानीय सुरक्षा निकायका प्रमुख प्रतिनिधिबीच सम्पन्न छलफलले यस्तो निर्णय गरेको हो ।

सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउनका कारण काँकरभिट्टा नाका भएर अहिले पनि निर्वाधरुपमा मालवहाक सवारी साधन प्रवेश गरीरहेकाले यसबाट संक्रमण बढ्ने भन्दैं अब उप्रान्त औषधिजन्य वस्तु, हवाई इन्धन सहित ग्यास तथा अन्य पेट्रोलियम पदार्थ वाहेक अन्य सनमानको ढुवानी निषेध गरिएको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताए ।

पूर्वकै चर्चित मेची भन्सार कार्यालयको तथ्याङ्क शाखाका अनुसार लकडाउनयता पूर्वीनाका भएर अहिले सवैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएको छ । अब उप्रान्त त्यस्ता वस्तुको आयातमा समेत रोक लगाइएको प्रमुख आचार्यको भनाई छ ।

छिमेकी मित्रराष्ट्र भारतका विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमण बढेपछि यसको जोखिम कम गर्न भारतबाट आउने मालबाहक सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णयमा भएको १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीले बताए । अहिले भारतबाट विभिन्न सामान बोकेर आउने सवारी साधनमा कार्यरत चालक परिचालकहरु कुचविहार, रायगञ्ज, भुटान, कालेम्पोङ, सिलगिुडीलगायतका स्थानबाट तरकारी र हरियो सागसब्जीसहित अन्य सामान बोकेर पटक पटक नेपाल आउने भएकाले नेपालमा कोरोना भाइरस प्रवेश गर्ने खतरा बढेको भन्दै स्थानीयको बिरोध भइरेहको थियो ।

लकडाउन शुरुपछिको समयमा काँकरभिट्टा नाका भएर ७ लाख रुपैयाँ मुल्य बराबरका फलफूलसहित झण्डै अढाई करोड रुपैयाँ मुल्य बराबरका तरकारी र फलफूल आयात भएको छ । आलु, प्याज, लसुन, टमाटरसहित हरियो तरकारी भारतबाट आयात भएको भन्सारले जनाएको छ । खाद्यन्नका लागि आवश्यक करीव २० लाख रुपैयाँ मुल्य बराबरको कोदो तथा २७ लाख रुपैयाँ मुल्य बराबरको मकै यो नाका भएर नेपाल आयात भएको छ ।

आइतबारसम्म भन्सार परिसरमा छिरेका तरकारी र हरियो सागसब्जी बोकेका मालवहाक सवारी साधनलाई प्रक्रिया पुर्याएर व्यवस्थितरुपमा गन्तव्यसम्म पठाउने त्यसपछि आउने सवारी साधनलाई आयातमा अनुमती नदिने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज बिश्वकर्माले बताए ।

खाना पकाउने ग्याँसका बुलेट, स्वास्थ्य सामग्री र पेट्रोलियम पदार्थका सावरी साधनलाई सिमानामा नै औषधी छर्केर निर्मुलीकरण गर्ने, त्यसका चालक र सहयोगीलाई स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गराएर मात्र नेपाल प्रवेश गराउन व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ ।

वैठकमा सहभागीले नेपालमा भारतीय सवारी सधान र मानिस निर्वाधरुपमा आहोर दोहोर गर्दा हुँदा कोरोनाको संक्रमण फैलिने जोखिम बढेको निष्कर्श निकालेका थिए । विश्व नै ठुलो संकटमा परेको बेला भन्सारमा सहज बनाएर नेपाली नागरिकलाई जोखिममा पार्नु नहुने र अति आवश्यक खाना पकाउने ग्यास र स्वास्थ्य सामग्रीहरु बाहेक अहिले नेपालमा कुनै अन्य बस्तु भारतबाट आयात गर्नु पर्ने परिस्थिति नभएकाले पनि त्यस्ता सवारी साधनमा पूर्ण रुपमा रोक लगाउनु पर्ने बैठकमा सहभागीहरुको भनाई थियो ।

बैठकमा प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपाका जिल्ला नेता डिल्लीराम घिमिरे, नगर नेता माधवलाल अर्याल, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा, भन्सार अधिकृतहरु प्रकाश सुवेदी, रामप्रसाद भट्टराई नेपाल इन्टरमोडल यातायात विकास समिति सुख्खा बन्दरगाह काँकरभिट्टा प्रमुख अम्विका सुवेदी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी नायव उपरक्षिक ज्ञानमणि पौडेल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हर्क फियाकलगायतको सहभागिता रहेको थियो ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु