दुबईमा कोरोनासँग लडिरहेका झापाका अरबिन्द भन्छन् : निको भएर नेपाल फर्किन्छु, तागतिलो खान पाए निको हुन्थेँ


मेरो घर झापा जिल्ला मेचीनगर १० धुलाबारीस्थित खयरडाँगी भन्ने गाउँमा हो । अहिले म ३४ बर्षको भएँ । घरमा आमा, बुवा, भाई, बुहारी, श्रीमती र २ छोराहरु छन् । ठूलो छोरा ४ वर्षको छ भने सानो १३ महिनाको भयो ।

म ७ बर्षदेखि रोजगारीका लागि दुबईमा छु । वर्षमा ३/४ पटक नेपाल आउने जाने गर्छु । गत फेब्रुअरी १२ तारिख भाइको विबाहका लागि नेपाल आएको थिएँ । र, मार्च ७ तारिखमा दुबई फर्किएको हुँ ।

म दुवई एयरपोर्टको ड्युटी फ्रि पसलमा काम गर्छु । एयरपोर्टभित्र भएकाले कोरोना भाइरसको संक्रमण नहोस् भनेर सबैले उच्च स्वास्थ्य सुरक्षा अपनाएर नै काम गरिरहेका थियौ । त्यहाँ हामी ६ सय जनाभन्दा बढी नेपाली काम गर्थ्यौं ।

म बस्ने सार्जा भन्ने ठाउँमै हो । मेरो फ्ल्याटमा एकजना इन्डियन र दुई जना नेपालीलाई भाडामा राखेको छु ।

नेपालबाट फर्किएर काममा जान थालेको एक सातापछि नै सामान्य ज्वरो आउने र श्वाप्रश्वासमा समस्या हुने भइरहेको थियो । साथीहरुलाई कोरोनाको लक्षण होला भनेर भनेको थिएँ । तर उनीहरुले होइन यस्तो लक्षण कोरोनाको मात्र हुँदैन भने ।

एयरपोर्ट गत मार्च २६ तारिखदेखि बन्द भयो । एयरपोर्ट बन्द हुनुभन्दा केही दिन त्यहाँ सबैको कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसमा मेरो रिपोर्ट नेगेटिभ आएको थियो ।

एयरपोर्ट बन्द भएपछि म कोठाबाट बाहिर भने गएको थिइँन । गत बिहिबार साँझतिर अलि बढी नै ज्वरो र श्वाप्रश्वासमा समस्या बढी भएकोे कारणले निजी अस्पतालमा उपचार गराउन गएँ । अस्पतालले अन्य सामान्य अपचारसँगै कोरोना भाइरसको पनि परीक्षण गर्यो । अस्पतालले मलाई रुममा नै आइसोलेट भएर बस्न निर्देशन दिएको थियो । त्यसकारण म रुममा नै बसेँ । वरिपरिका कसैसँग पनि भेटघाट गरिँन ।

मलाई कहिले काँही मात्र सामान्य ज्वरो र श्वासप्रश्वासमा केही समस्या भइरहेको थियो ।

शुक्रबार अस्पतालको रिपोर्टमा मलाई कोरोना भाइरस पोजेटिभ देखिएको खबर आयो । त्यस्तो खबर सुनेपछि म त बेहोस नै भएछु ।

मलाई एम्बुलेन्समा लगेर अस्पताल भर्ना गरिएछ । अस्पतालले छुट्टै आइसोलेसनमा राखेको छ । दिनमा २ पटक मेरो स्वास्थ्य परीक्षण हुन्छ ।

अस्पताल भर्ना भएको १ साता नाघिसक्यो । ५/६ दिनसम्म आफू कोरोना संक्रमित हो जस्तो पनि लाग्दैन थियो । ज्वरोको बिरामी हुँ भन्ने भान हुन्थ्यो । उपचारमा पनि मलाई ज्वरोको र श्वासप्रश्वासको औषधीहरु मात्र दिइरहनु भएको थियो ।

तर हिजो एक्कासी झाडा र वान्ता भयो । त्यसपछि मलाई डाक्टरहरुले इन्जेक्सनमार्फत झाडा र वान्ता रोक्ने औषधी दिनुभयो । झाडावान्ता त हिजो औषधी दिएपछि नै रोकिइसकेको छ । तर आफूलाई भने धेरै कमजोर महशुस गरिरहेको छु ।

पहिलो परीक्षणपछि अस्पतालले मेरो दोस्रो परीक्षण भने गरेको छैन । १/२ दिनमा थ्रेड स्वाब टेस्ट गर्ने भनेर कुरा भएको छ । विदेशी भूमिमा भएपनि मैले राम्रो अस्पतालमा उपचार गराउन पाएको छु । यहाँ धेरै नेपालीहरु कोरोना संक्रमित छन् । जसले उपचार गराउन अस्पतालसम्म जान पाएका छैनन् ।

मसँगै काम गर्ने अरु ३ जना नेपालीलाई पनि कोरोना पोजेटिभ देखिएर कम्पनीले नै उपचार गराइरहेको छ । साथै कम्पनीका अरु २५ जनाको रिपोर्ट पोजेटिभ आएर उनीहरुको उपचार पनि कम्पनीले नै गराइरहेको छ ।

मेरो कम्पनीले नै कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएपछि मलाई यो अस्पतालमा भनिदिएर भर्ना गराएको हो । मैले समयमा नै उपचार पाइरहेको छु । यो रोग लागेको बिरामीलाई शारीरिकभन्दा बढी मानसिक पीडा हुने रहेछ । यो भाइरस भएका बिरामीलाई उपचार भनेको जे रोग देखिन्छ, त्यसैको औषधी दिइने रहेछ । यस्तो बेला मानसिकरुपमा स्वास्थ्य रहनु अत्यावश्यक हुन्छ ।

अरु कम्पनीमा काम गर्ने कतिपय मैले चिनेका नेपाली दाजुभाईहरु रुममा नै आइसोलेट भएर बसेका छन् । न त उनीहरुलाई कम्पनीले हेरेको छ । न त कुनै अस्पतालले उपचार गराउन मान्छ । आफैं एम्बुलेन्समा अस्पताल गयो भने पनि भर्ना लिँदैन । धेरै नेपाली दाजुभाई उपचार नपाएर तड्पिनु भएको छ ।

मैले आफुलाई विदेशी भूमिमा पनि कम्पनीले पहल गरिदिएको कारणले उपचार गराउन पाउँदा धेरै भाग्यमानी ठानेको छु । तर विदेशी भूमिमा विरामी हुनुको पीडा भने छुट्टै हुने रहेछ । नेपालमा यही रोगबाट बिरामी भएको भएपनि आफ्नै भूमिमा बिरामी भएँ, परिवार साथीभाई नजिकै छन् भन्ने भरोसा हुन्थ्यो । सायद उपचारमा पनि यहाँभन्दा धेरै सतर्कता, मनोपरार्मश र खानेकुरामा ध्यान दिइन्थ्यो होला ।

परिवारको आवश्यकता, उनीहरुको कमीको महशुस मैले धेरै गरिरहेको छु । श्रीमती र छोराहरुको सम्झनाले धेरै सताउँछ । सानो छोरा ७ महिनाको मात्र छ । श्रीमती साथमा ४ वर्ष र काखमा १३ महिनाको छोरा लिएर विदेशमा कोरोना भाइसरसँग लडिरहेको श्रीमानको स्वास्थ्य लाभको कामना गर्छिन् ।

यो संक्रमणबाट बाहिर निस्किनको लागि आफुमा सबैभन्दा बढी रोग प्रतिरोधात्क क्षमता बढाउनु पर्ने हुन्छ । जसको लागि स्वास्थ्यकर खानाको आवश्यकता पनि पर्छ । तर यहाँ राम्रो खाना छैन । आफुले भनेको जस्तो खान पाइँदैन । सबै खानेकुरा उसिनेको मात्र हुन्छ । त्यस प्रकारको खानले पेट त भरिन्छ । तर तागत भने आउँदैन । हिजो झाडा वान्ता भएपछि धेरै नै कमजोर भएको छु । तागतिलो खानेकुरा र फलफुलहरु खान पाए चाँडै निको हुन्थेँ भन्ने लाग्छ ।

साथीहरुले मिलेसम्म खान मन लागेको चिजहरु ल्याइदिन्छन् । उनीहरुले ल्याइदिएको खानेकुरा नर्सहरुले ल्याइदिन्छन् । ल्याएका सबै खानेकुराहरु पनि खान पाइँदैन ।

अस्पताल भर्नाभएपछि कसैसँग पनि भेटघाट गरेको छैन । परिवार साथीभाईसँग फोनमा मात्र कुरा भइरहेको छ । मलाई कोरोना भाइरस संक्रमण भएपछि परिवारमा पनि त्यही दिन नै सुनाएँ । सुरुमा उनीहरुलाई सम्झाउन धेरै गाह्रो भएको थियो । परिवारका सबै धेरै अतालिनुभयो । यो सामान्य रोग हो । स्वास्थ्यको राम्रो ख्याल गरे चाँडै निको हुन्छ भनेर सम्झाएँ, बुझाएँ ।

पहिला त मलाई पनि सामान्य रुघा हो जस्तो महशुस हुन्थ्यो । ३/४ दिनमा नै निको भइहाल्छु भनेर सोचिरहन्न्थेँ । तर हिजोबाट भने अलि गाह्रो भएको छ । हिम्मत भने हारेको छैन । यो भाइरसलाई ६/७ दिनमा त जित्नसक्छु भन्ने आँट छ ।

दोस्रो परीक्षण भएको छैन । परीक्षण भएपछि मेरो रिपोर्ट नेगेटिभ नै आउँछ भन्ने पूर्णविश्वास छ । अस्पतालले ३ पटकको परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आयो भने केही दिन आइसोलेसनमा राखेर घर पठाउँछु भनेको छ ।

अब भने नेपालमा लकडाउन खुल्ने बित्तिकै यहाँका सबै काम छोडेर घर फर्किन्छु । उतै केही गरेर परिवारसँगै बस्छु । विदेशी भूमीमा काम गरेर पैसा कमाउन जति गाह्रो छ, त्यो भन्दा गाह्रो बिरामी भएर एक्लै बस्दा हुँदो रहेछ ।

भाईको बिहेको लागि २४ दिनको छुट्टी लिएर आएपछि नै परिवारका सबैले दुबई नजाउ भन्नुभएको थियो । त्यो बेला नै कोरोना भाइरसको महामारी फैलिरहेको भएर सबै डराएका पनि थिए ।

मैले काम गर्ने ठाँउमा संसारभरुका मानिसको आवतजावत हुने भएता पनि त्यहाँ उच्च स्वास्थ्य सुरक्षा अपनाइएको थियो । त्यस कारणले गर्दा पनि संक्रमण होला भनेर म नडराई काममा फर्किएँ ।

कम्पनीले धेरै सतर्कता अपनाएर मात्र काममा खटाएको थियो । सामाजिक दुरी हामी सबैले कायम गरेकै थियौं । मलाई कोरोना भाइरसको संक्रमण हुँदा देखिने धेरै लक्षणहरु पनि देखिएका थिएनन् ।

मेरो कम्पनीका अरु संक्रमितहरुमा पनि भाइरसको लक्षण केही देखिएका थिएनन् । यो भाइरसको लक्षण भनेको यही नै हो भन्ने यकिन नहुँदो रहेछ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आउनेलाई मात्र संक्रमण हुने भन्ने पनि नहुने रहेछ । जसलाई जस्तो माध्यमबाट पनि यो भाइरसको संक्रमणले भेटाउने रहेछ ।

अहिले दिनमा ५/६ पटक परिवारसँग भिडियो कल गरेर बोल्छु । श्रीमती आज पनि अस्ति नै नजानु भनेको मेरो कुरा नमानेर जानु भयो भन्दै गुसानो पोख्छिन् । उनको पीडा मैले बुझेको छु । सायद परिवारको कुरा सुनेको भए यस्तो अवस्था आउँदैनथियो भन्ने पनि लाग्छ ।

सानो छोराको त्यति धेरै बोली फुटेको छैन । ठूलो छोरा भने अहिले एलकेजीमा पढ्दैछ । सानै भएपनि धेरै ज्ञानी छ । बेला बेलामा ममीले फोन गरेको बेलामा बोल्छ अनि आफैं मलाई सम्झाउँछ- ‘बाबा डाक्टरले जे भन्छ त्यही मान्नु, राम्रोसँग औषधी खानु अनि चाँडै निको भएर नेपाल आउनु ।’

परिवार र साथीभाइको हौसला धेरै छ । सबैले आ-आफ्नो ठाँउबाट साथ दिइरहेका छन् । कोरोनासँगको मेरो लडाई जित्छु भन्ने मेरो पूर्णविश्वास छ । (क्लिकमाण्डूकर्मी दिलु कार्कीले गरेको कुराकानीमा आधारित)

(Visited 217 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु