नेपाल भित्रिने नेपाली, पानीट्याङ्की नाकामा अलपत्र (फोटोफिचर)


कोरोना संक्रमणका कारण नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द गरेपछि सीमावर्ती नाकाबाट नेपाल भित्रिने चार सय भन्दा बढी नेपाली, पानीट्याङ्की नाकामा अलपत्र परेका छन् । भारतका विभिन्न ठाउँबाट नेपाल फर्किएका नेपाली सरकारले सीमा नाका सिल गरेपछि काँकडभिट्टा नाका प्रवेशको पर्खाइमा अलपत्र परेका हुन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार विहान १० बजेदेखि नेपाल भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

नाका बन्द भएलगत्तै आइपुगेका नेपाली मेची पुलमा रोकिएका छन् । अपराह्नसम्म चारसय भन्दा बढी नेपाली काँकडभिट्टा नाकामा रोकिएको प्रहरीले जनाएको छ । रोकिएका नेपालीका आफन्तले उनीहरुलाई नेपाल प्रवेशका लागि सहजीकरण गरि दिन स्थानीय प्रशासनसँग अपिल गरेका छन् ।

हामीले पूर्वी नाका काँकडभिट्टाको अवस्था के छ भने बिहानै देखि हाम्रो फेसबुक पेज Ktm Dainik मा लाइभ गरिरहेका छौं । उक्त लाइभमा बोल्दै अलपत्रका परेका एक यात्रु भन्छन् । सरकारले २५ जना भन्दा बढी भेला नहुन भनेको छ तर यहाँ ४ सय भन्दा बढी यात्रूहरु अलपत्र परेका छन् । सबै एकैठाउँमा छन् । कोही गर्भवती महिलाहरु छन् भने त कोही बालबालिका र वृद्धहरु छन् । सरकारले छिटै नै हामीलाई हाम्रो गन्तव्यमा पुग्न सहयोग गरोस् नत्र यही भिडबाट हामीलाई कोरोनाको संक्रमण हुने डर छ ।

नेपालबाट भारत प्रवेशको तयारीमा रहेका भारतीय नागरिक पनि काँकडभिट्टामा रोकिएका छन् । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले सीमा नाकामा अलपत्र परेका नेपालीका विषयमा सरकारलाई जानकारी गराइएको बताउनुभयो ।

‘माथिको आदेश के आउँछ भन्ने पर्खाइमा छौँ’, उहाँले भन्नुभयो, ‘आदेश अनुसार उनीहरुको टुङ्गो लाग्छ ।’ सीमा नाकामा रोकिएका नागरिकका विषयमा मुख्यमन्त्री शेरधन राईले जानकारी लिनुभएको छ । सीमा नाकाको अवस्था बुझ्न उहाँ सोमबार अपरान्ह काँकडभिट्टा नाका आउनुभएको हो । मेचीनगरमा ७० जनाको मात्रै क्वारेन्टाइन क्षमता रहेको छ ।

मुख्यमन्त्री राईले संक्रमणबाट बच्न प्रदेश सरकारले ५० लाखको कोष खडा गरेको जानकारी दिनुभयो । स्थानीय सरकारलाई आवश्यक सहयोग गर्ने राईले बताउनुभयो ।

नाका अनुगमनपछि मुख्यमन्त्री राईले सरकारले आवश्यक प्रक्रिया पु¥याएर अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिइने भए पनि भारतबाट नेपाल भित्रिने सर्वसाधरणले निश्चित समय नेपालको क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो ।

यता, छिमेकी मुलुक भारत तर्फका झापा गाउँपालिकामा पर्ने पाँचवटा सीमा नाकाहरु सिल गरिएको छ । पन्थापाडा, सुकुम्बासी टोल (खयरबारी), सालमारा, लसुनालगायतका सीमा नाकाहरु बन्द गरिएको प्रहरीले जनाएको छ । नेपाल सशस्त्र प्रहरी बल र जनपथ प्रहरीको संयुक्त टोली सीमामा खटिएको प्रहरीले जनाएको छ ।

सीमामा अहिले कुनै पनि मानिस आवतजावत गर्न नदिएको सशस्त्र प्रहरी बल कुमरखोदका प्रमुख सचिन प्रधानले बताउनुभयो ।

पछिल्लो समय कोरोना भाइरस (कोभीड–१९) को संक्रमणलाई फैलिन नदिन मन्त्रिपरिषद्को निर्यणानुसार भारत र चीनमा पर्ने सम्पूर्ण नाकाहरु सिल गर्ने निर्णय भएको थियो । त्यही निर्णयानुसार झापा गाउँपालिकामा पर्ने सीमा नाका सिल गरिएको हो ।

(Visited 34 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु