थाइल्याण्डबाट फर्किएका झापाका एक व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’मा




इमेची डटकम । १० चैत झापा (भद्रपुर) :

व्यक्तिगत काममा थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आइतबारदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बसेका छन् । स्वनिगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै प्राविधिक सहयोग पुर्याएको छ ।

भद्रपुर नगरपालिका–६ का ३७ बर्षीय ती व्यक्ति शनिवार काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै घर फर्र्किएका थिए । उनले घरमा पुगे लगत्तै भद्रपुर नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफू ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहेको बताए ।

आइतबार स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उनको घरमा पुगेको थियो । उनको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भने ‘सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैं सम्पर्क गरेर सेल्फ क्वारेन्टाइन बस्छु भन्नुभयो र हामीले उहाँकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उहाँलाई राख्यौं ।’
उनका अनुसार २० दिन अघि व्यक्तिगत कामले थाइल्याण्ड जानुभएका उनी सरकारले भने झैं सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । उनलाई समितिले तयार गरेको भद्रपुर–८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए तापनि आफैं घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागाईले बताए । उनको स्वास्थ्य नियमित परीक्षण गरिने चौलागाईंको भनाई छ ।

झापाको भद्रपुर र मेचीनगरमा स्थानीय नगरपालिकाको पहलमा क्वारेन्टाइनका पर्याप्त बेडहरु व्यवस्था गरिएका छन् । तर तयारी अवस्थामा रहेका क्वारेन्टाइनमा बस्न हालसम्म कोही पनि गएका छैनन् ।

मेचीनगर–४ मा भारतको केरलाबाट चार दिन अघि घर फर्केका नौ जना क्वारेन्टाइन बस्नु पर्ने हो कि भन्दै शनिवार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र मेचीनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको सम्पर्कमा आएका थिए । परिवारसँग घुलमिल भइसकेको र स्वास्थ्य अवस्था सामान्य भएको कारण उहाँहरुलाई क्वारेन्टाइनमा नराखिएको मेचीनगर–४ क्वारेन्टाइन समितिका संयोजक एवम् वडाध्यक्ष नविन बरालले जानकारी दिए । मेचीनगर–४ को सरस्वती मावि, वडा नं. ११ को स्वास्थ्य चौकी भवन र वडा नं. ७ को माइती नेपालको भवनमा क्वारेन्टाइन तयार पारिएको छ ।

झापाको मेचीनगर–१,२,३ र ४ क्षेत्रमा भारतको केरला, मुम्बई र बेङ्लोरमा रोजगारी र अध्ययन गरिरहेका नेपाली युवाहरु ठूलो सङ्ख्यामा कोरोना त्रासका कारण एक सातादेखि घर फर्किने क्रम जारी रहेको छ । अहिलेसम्म सबै आआफ्नो घरमा बसेको भए तापनि आइतवारदेखि घर फर्किनेहरुलाई सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको समितिका संयोजक बरालले बताए ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु

    Loading...