तरकारीमा कोरोना असर : समिति भन्छ– अभाव छैन, व्यापारी भन्छन्– भोलिबाट पाइदैन


५ चैत, काठमाडाैं ।

विश्वमा आतङ्क मच्चाइरहेको कोरोना भाइरसको असर नेपाली बजारमा पर्न थालिसकेको छ । आयातमा करिब ८० प्रतिशत निर्भर रहेको मुुलुक छिमेकी देश भारतले नाकामा कडाइ गर्ने हल्लासँगै नेपाली बजारमा महँगीले चरम रूप लिन थालेको छ । खाद्य वस्तुको सँगै ग्यासको अभाव बजारमा देखिएको छ ।

तरकारी पनि भारतबाट नआउने भन्दै उपत्यकाका साना तथा खुद्रा तरकारी पसलहरूमा व्यापारीले महँगो दरमा तरकारी बेचिरहेका छन् । तर, नेपालकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समिति भने मूल्य बढेको मान्न तयार छैन ।

समितिको मूल्य सूची हेर्ने हो भने कोरोनाको त्रासकै कारण मूल्य बढेको भने देखिँदैन । सामान्य उतारचढाव भइरहने हुँदा असर परिसकेको नै भन्न नमिल्ने समितिको भनाइ छ ।

कागती, अंगुर, अनार, सुन्तला, रूख कटहर, नासपाती, अदुवा, लसुनलगायतका वस्तुको मूल्य १० देखि २० रुपैयाँले बढेको छ भने प्याज, मटरकोसा, घीउसिमी, टाटेसिमी, तिते करेला, फर्सी, भिण्डी, बरेला, बकुल्ला, च्याउ, मेवा, हरियो खुर्सानीलगायतका तरकारी तथा फलफूलको मूल्य ५ देखि ३० रुपैयाँसम्मले बढेको छ । मासुजन्य सामग्रीको मूल्य भने स्थिर छ ।

उपत्यकाका खुद्रा बजारमा तरकारी खरिद गर्न जाने हो भने टमाटर, हरियो साग, प्याज, खुसार्नी जस्ता सामानको प्रति केजी मूल्य ८० रुपैयाँभन्दा माथि नै हुन्छ, किन बढ्यो ? भनेर सोध्दा अधिकांश व्यापारीको एउटै उत्तर हुन्छ– ‘कोरोनाले गर्दा ।’

‘कोरोनाका कारण सामान आउन छोड्यो । भोलि यो पनि पाउनुहुन्न’ भन्दै व्यापारीहरूले १ किलो लिन जाँदा ५ किलोसम्म किन्ने गरेकाे बताउँछिन् बानेश्वर बिजुलीबजारको एक तरकारी पसलमा भेटिएकी सुस्मिता नेपाल ।

‘व्यापारीले भोलि पाउँदैन भनेपछि जोहो त भोलिका लागि आजै गर्नुप¥यो । त्यही भएर मैले पनि ३–४ दिनलाई पुग्ने गरी तरकारी ल्याएकी छु’, झोला देखाउँदै उनले भनिन् ।

यो त उदाहरण मात्र हो । उपत्यकाका अधिकांश व्यपारीहरूमा कोरोनाको बहानामा गज्जबको कमाउने बाटो भएको छ । उपभोक्तालाई अभाव हुने भ्रममा पारेर सक्दो महँगो मूल्यमा धेरै सामान थामाइदिने गरेका छन् ।

यता, उपनिर्देशक श्रेष्ठ भन्छन्, ‘अहिले भारतबाट आउनुपर्ने तरकारी तथा फलफूलमा कमी आएको छैन । कसरी बढ्छ मूल्य ? यो हल्ला मात्रै हो, मूल्य बढेको छैन । उनले बजारमा अभाव भन्दा पनि कोरोनाको त्रासले गाउँ फर्किने बढ्दै गएपछि माग घट्ने चिन्ताले सताएको बताए ।

आपूर्ति विभागका अनुगमन शाखा अधिकृत दीपकराज पोखरेलले भने तरकारीमा अहिले कुनै उजुरी नपरेको बताए । उनी भन्छन्, ‘अहिले ग्यास र औषधिजन्य वस्तुहरूमा बढी मात्रामा उजुरी परकाले त्यतै व्यस्त छौँ । तरकारीमा अनुगमन गरेका छैनौँ । उजुरी आएपछि त्यो पनि सुरु हुन्छ ।’

समितिका उपनिर्देशक श्रेष्ठ पनि भारतबाट आउनुपर्ने खाद्य वस्तु आइरहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताउँछन् । उनी भन्छन्, ‘बजारमा हरिया सागपात भने नेपाली उत्पादनले नै धान्ने गरेको छ । विशेषगरी भारतबाट प्याज, बन्दा, भाण्टा, च्याउ, लसुन जस्ता तरकारीजन्य सामग्री आउने गर्छन् ।’

यदि भारतले पूर्ण रूपमा तरकारी निर्यात बन्द गरेको खण्डमा भने यस्ता वस्तुहरूको अभाव हुने निर्देशक श्रेष्ठ बताउँछन् ।

१ देखि ४ चैतसम्ममा २ लाख ३४ हजार ५३ किलो फलफूल, २९ लाख ९६ हजार ५ सय ९७ किलो तरकारी, ४७ हजार २ सय ३० किलो माछा आयात भइसकेको छ । त्यसमा भारतबाट मात्र प्रत्येक दिन ८ सय टनको हाराहारीमा तरकारी नेपाल भित्रिएको समितिको भनाइ छ ।

शिलापत्रबाट साभार

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु