पोखरा विमानस्थलमा बम पड्किँदा, जमिन थर्कियो, घर चर्कियो


पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गति सुस्तिएको छ । यसको कारण विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस नै हो । यो विमानस्थलमा सुरुदेखि नै चिनियाँ कामदार खटिएका छन् । हाल पनि करिब २०० को हाराहारीमा चिनियाँ र बाँकी २५० नेपाली कामदारहरुले विमानस्थललाई पूर्णता दिन खटिएका छन् ।निर्धारित लक्ष्यमै काम सक्न विमानस्थलमा डोजर चलेकै छन् । आयोजनाले बम पनि प्रयोग गर्न थालेको छ । डोजरले नसकेपछि बम प्रयोग गरेको तर्क विमानस्थलको छ । स्थानीयहरुले भने बम पड्किँदा घर थर्किएको बताएका छन् ।

स्थानीयका अनुसार १५० जति घर चर्किएका पनि छन् ।विमानस्थल आयोजनाले जिल्ला प्रशासन कार्यालय कास्की र विमानस्थल निर्माण भई रहेको वडा, पोखरा महानगरपालिका वडा नम्बर १४ बाट अनुमति लिएर बम प्रयोग गरेको बताउँदै आएको छ ।विमानस्थल क्षेत्र पर्ने वडा नं. १४ का बासिन्दा भने बमकै कारण घरको संरचना हल्लिएको गुनासो गरेका छन् । प्रत्यक्ष रुपमा १ सय ५० बढी घरधुरि मर्कामा परे पनि अप्रत्यक्ष रुपमा ५ सय बढी घरधुरि बम विस्फोट गराउँदा मर्कामा पर्ने गरेको उनीहरुको गुनासो छ । हवेली मार्गकी हिरा थापा भन्छिन्, “बम पड्काउन रोक्नुस् बरु डोजर लगाइ दिनुस्,” उनले भनिन्, “घरमा बालबच्चा बुढाबुढीहरु हुन्छन् ।

बम पड्केर घरै हल्लिदा यता जाने कि उता जोन हुन्छ । यसरी डराएर कसरी बाँच्नु ?”मान्द्रे ढुंगाकी बिनु गुरुङको आक्रोश पनि उस्तै छ, “जनतालाई यसरी दुख दिएर के पाउँनुहुन्छ ? साह्रै अन्याय भयो । भुकम्पलेभन्दा बढी बम पड्केर घर चर्किएका छन् ।”यस विषयमा विमानस्थल आयोजनासँग कुरा गरेतापनि आयोजनाले भने टार्दै आइरहेको त्यहाँका स्थानीय गुनासो गर्दछ । मान्दे्रढुंगा टोल विकास समितिको निर्वतमान अध्यक्ष मोहनराज गिरीले आफूहरुलाई बेवास्ता गरे अदालत जाने चेतावनी दिए ।गएको जेठदेखि विस्फोट गराउँदै आए पनि बीचमा केही समय स्थानीयको विरोधका कारण रोकिएको उनले सुनाए ।

यसबारेमा जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिइएको उनले बताए ।विमानस्थलले भने स्थानीयको आरोपलाई स्वीकार्दैन । विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मी क्षति भए आफूहरुले क्षतिपुर्ति पनि दिने तर घर चर्केको कुरा सत्य नभएको बताउँछन् । “प्लास्टर गरेको उप्किएको मात्र हो, क्षति होइन,” उनले थपे, “डेलिकेसन आउँदा यस्तो क्षति भयो भनेर भन्नु भएको थियो । पहिलाको प्लास्टर उप्किएको मात्र देखाउनु भयो । बालुवा, सिमेन्ट राम्रोसँग नघुले प्लास्टर उप्किहाल्छ । केहि भइहाल्यो भने त्यसको क्षतिपुर्ति दिन्छौं ।” विमानस्थल आयोजनाले जनतालाई तहसनहस गर्ने काम गरेको भन्दै सरोकारवाला निकायले पनि खासै सुनुवाई नगरेको उनको आरोप छ ।

(Visited 8 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु