शनिबारदेखी प्रथम झापा जिल्लास्तरीय कराते प्रतियोगिता

काँकरभिट्टा । आगामी शनिबार प्रथम झापा जिल्लास्तरीय अण्डर–१८ जुनियर खुल्ला कराते प्रतियोगिता हुने भएको छ ।
बर्मेली कराते डोजोले आफ्नो तेस्रो स्थापना दिवशको सन्दर्भ पारेर सो प्रतियोगिता गर्न लागेको हो ।
आइतबार काँकरभिट्टामा आयोजित पत्रकार भेटघाटमा आयोजक डोजोका अध्यक्ष अभिषेक दवाडीले सो जानकारी गराएका हुन् ।
उनका अनुसार जिल्ला कराते टेक्निकल कमिटीको सहयोगमा मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।
एक दिवशीय सो प्रतियोगितामा नेपालसहित भारत र भुटानबाट गरी झण्डै ५ सय खेलाडीको सहभागिता रहने डोजोका सचिव अभिजित दवाडीले बताए ।
उक्त प्रतियोगिता सम्पन्न विभिन्न शीर्षकमा गरी करिब २ लाख ५० हजार रुपैयाँ खर्च पूर्वानुमान गरिएको उनको भनाई छ ।
प्रतियोगिताका लागि आवश्यक आर्थिक सहयोग नगर तथा वडा कार्यालय, संघसंस्था, समाजसेवी, खेलप्रेमीलगायतसँग समन्वय गरी जुटाइने आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल उद्घोषसहित हुन लागेको प्रतियोगितामा सहभागी खेलाडीहरुले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
सम्मेलनमा आयोजक डोजोका कोषाध्यक्ष सुमन प्रधान(बिट्टु), कार्यक्रम संयोजक विपिन सिटौला(प्रदीप)लगायतको उपस्थिति थियो ।
सो प्रतियोगिताको उद्घाटन संघीय सांसद् राम कार्कीले गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस्