खोला हेरेर फर्कियो प्रदेश टोली


 

मेचीनगर । एक नम्बर प्रदेश सरकार अन्तर्गतको प्राकृतिक स्रोत तथा भौतिक पूर्वाधार विकास समितिले सोमबार झापा जिल्ला अन्तर्गत मेचीनगर, अर्जुनधारा नगरपालिका तथा बुद्घशान्ति गाउँपालिका भित्रका नदी तथा त्यसमा सञ्चालित क्रसर उद्योगको स्थलगत अवलोकन गरेको छ ।

समितिका सभापति एवम् प्रदेशसभा सदस्य सर्वध्वज साँवासहितको टोलीले मेचीनगर नगपालिका भित्रको मेची, निन्दा, बुद्घशान्ति गाउँपालिका भित्रको टिमाई, मेचीनगर नगपालिका र बुद्घशान्ति गाउँपालिका भित्रको हडिया, अर्जुनधारा नगरपालिका भित्रको टाङटिङ र विरिङ नदीको प्राकृतिक स्रोतसँग सम्बन्धित क्षेत्रहरुको अवलोकन गरेको हो ।

सभापति एवम् प्रदेशसभा सदस्य साँवाले अहिले जसरी विभिन्न सञ्चारमाध्यममा खोला उत्खनन्का बारेमा आएको समाचार अनुसार जहाँ–जहाँ खोलानालाहरु धेरै दोहन भएका ठाउँहरुको अनुगमन गरिएको बताए ।

कुन स्तरसम्म दोहन भएका छन्, मापदण्ड विपरीत उत्खनन् भएको छ कि छैन भन्ने जानकारी लिनका लागि अनुगमन गरिएको उनले बताए । मेचीनगर क्षेत्रमा गिटी बालुवाभन्दा ढुङ्गा बढी प्रयोग गरिएको खासै अप्राकृतिकरुपमा दोहन भएको नपाइएको उनको भनाइ थियो ।

टोलीले प्राकृतिक स्रोतहरुको अवस्था, त्यहाँको उत्खनन्को अवस्था र भावी दिनमा प्रदेश सरकारको तर्फबाट प्रदेश सभाले बनाउने नीतिहरुको तर्जुमा गर्नका निमित्त टोलीले सो क्षेत्रको स्थलगत निरीक्षण र अवलोकन गरेको समितिका सदस्य तथा १ नम्बर प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले बताए ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले मेचीनगरले चालु आर्थिक वर्ष २०७६÷०७७ मा आफ्नो क्षेत्रभित्रका खोलाबाट २ लाख १६ हजार ६ सय ६५ घनमिटर नदीजन्य पदार्थ सङ्कलन तथा विक्री हुने टोलीलाई जानकारी गराएका छन् ।

नगरपालिकाले मेचीनगर क्षेत्रभित्रका मेची, टिमाई, हडिया–निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदन अनुसार नदीजन्य पदार्थ सङ्कलन तथा विक्री व्यवस्था सम्बन्धी ठेक्का बन्दोबस्तको कबुलियत नामासहितको सम्झौता पत्रका भएको थियो ।

अनुगमन टोलीमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, सचिवालयका कर्मचारी, पत्रकारलगायतको पनि सहभागिता रहेको थियो ।

(Visited 33 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु