बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब


सप्तकोशी नदीमा पानीको बहाव ।

धरान । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २:०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

सप्तकोशी नदी ।

सो क्षेत्रमा आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी भएको सुचना पठाईसकेको बाढी सूचना केन्द्रले जनाएको छ । सप्तकोशीमा पानीको सतह खतराभन्दा माथि गएपछि कोशी ब्यारेजमा कोशी परियोजनाका सर्व कर्मचारीहरुलाई अलर्टमा राखिएको छ । पानीको बहाव बढ्ने क्रम निरन्तर भएपछि सप्तकोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।

यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु