बाढीले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गमा वैकल्पिक सडक सञ्चालन


महोत्तरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल बाढीले बगाएपछि छोटा तथा लामा दुरीका सवारी साधन बाटोमा नै अलपत्र परेका थिए । बाढीले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारीसाधन चलाउन वैकल्पिक सडक खोलिएको हो ।

लगभग राती १२ बजेदेखि रोकिएका सवारीसाधनहरु वैकल्पिक सडकबाट गन्तव्यतिर लागेका छन् । बैकल्पिक सडक बर्दिबास-औरही-गौशाला-माइस्थान हुँदै सञ्चालनमा आएको छ ।

पूर्वपश्चिम सडकखण्डमा सञ्चालनमा आएको वैकल्पिक सडक ।

भब्सी खोलामा आएको भीषण बढीले भब्सी पुल बगाउँदा रातिदेखि नै सवारीहरु जाममा परेका थिए । करिब १२ बजेको समयमा बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जनाए ।

यसअगाडी प्रकाशित भएको समाचार

पूर्वपश्चिम राजमार्गको पुल बग्यो, रात्रिदेखी नै हजारौं यात्रुहरु अलपत्र

२८ असार, बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत-जावत ठप्प छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।

अविरल आएको वर्षासँगै पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगेको छ । खोलाले पुल बगाएपछि रात्रीदेखी नै हजारौं यात्रुहरु अलपत्र परेका छन् । तस्विर विकास रौनियारको फेसबुकबाट ।

शनिबार बिहान विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सकृयतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । महोत्तरीको १४ नम्बर बजारका केही घरहरुमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका वडा नम्बर ७ का अध्यक्ष फागुनी मगरले बताए ।

बर्दिवास नगरपालिका १ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका चार-पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् ।

रातिदेखि नै नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु