मौसम पूर्वानुमान विभाग : पर्सी अबेरसम्मै बर्षा, जे पनि हुनसक्छ यस्ता पूर्व तयारी थाल्नुहोस्


काठमाडौ । लगातारको वर्षासँगै देशभरी बाढी पहिरो र डुवानका खबर आएका छन् । यस्तै बर्षा पर्सीसम्म जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ । उसले यस्तै बर्षा भइरहे जहाँ जतिबेला जे पनि हुनसक्ने भन्दै विपदका बेला अपनाउने सावधानीका पूर्व तयारी गर्न अपिल गरेको छ । यता उपत्यकाका नदी किनारमा बस्तीहरु डुवानमा पर्न थालेका छन् । कलंकी, कुलेश्वरलगायतका स्थानमा बाढी बस्तीमा पसेको छ भने हनुमन्ते खोलाको पानी पनि बस्तीतिर सोझिएको छ ।

तर अझै वर्षा रोकिने छाँटकाँट देखिएको छैन । जल तथा मौसम विज्ञान विभागकाअनुसार अझै दुई दिन पानी पर्छ । मौसमविद् समिर श्रेष्ठ भन्छन्, ‘अझ भोलि त आजको जस्तै लामो झरी पर्ने सम्भावना छ ।’

विभागकाअनुसार शुक्रबार विहान ८ः४५ बजेसम्म काठमाडौंमा ५०।६ मिलिमिटर पानी परेको थियो। त्यसपछि दिउँसो २ः४५ सम्म थप ४४ मिलिमिटर पानी परेको छ । अब केहीबेरमा साँझ ५ः४५ सम्म परेको पानीको मात्रा आउँछ । यसरी हेर्दा काठमाडौंमा अहिलेसम्मकै ठूलो पानी परेको होइन । तर, ठूलोमध्ये एक भने हो ।विभागको तथ्यांकअनुसार २३ जुलाई २००२ मा १७७ मिलिमिटर पानी परेको थियो । जुलाई महिनाभरको हिसाब हेर्ने हो भने गतवर्ष ३६५ मिलिमिटर पानी परेको थियो । यो वर्ष १३९ मिलिमिटर पानी परेको विभागले जनाएको छ । तर डुवानको समस्या भने बढ्दो छ ।

उपत्यकामा विगतका वर्षहरुमा डुवान नभएका सडक किनारका बस्तीहरु समेत यो वर्ष पानी परेको छ । यसको प्रमुख कारण कोरिडर सडकका नाममा नदीलाई साँघुरो बनाउने, नदी मिचेर बस्तीहरु बनाउनुलाई मानिएको छ । यस्तै शहरका कंक्रिट संरचनाहरु बढ्दो छ । यसले गर्दा परेको पानी जमिनमुनि जाने ठाउँ छैन । मौसदविद् श्रेष्ठ भन्छन्, ‘आकासबाट परेको पानी जमिनमुनि जानै पाउँदैन । सिधै खोलामा पुग्छ। यसले पनि पानीको सतह बढेको हो ।’पानीको सतह बढेपछि स्थानीय प्रशासनले नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
यस्तो छ सूचना

मौसम पूर्वानुमान बुलेटिन (जारी मितिः २०७६-०३-२७, साँझ: ६ बजे) हाल देशभर लगातारको मनसुनी वर्षा (Monsoon Rainfall) जारी रहेको छ।मनसुन न्यून चापिय रेखा (Monsoon Trough) र न्यून चापिय क्षेत्र (Low Pressure Area ) का कारण आगामी २ दिन सम्म मनसुन सक्रिय (Active) रहने देखिन्छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०३-२६, बेलुका: ६ बजे) असार २६ गते (बिहिबार) राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि तथा १ /२ स्थानहरुमा अति भारी वर्षाको संभावना छ । मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०३-२६, बिहान ६ बजे) देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना।

पूर्व तयारीमा के गर्ने ?

मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।

सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।

एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।

शुद्ध पानीको जोहो गरिराख्नोस ।

खानेकुरा जोगाउनुस ।

बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।

बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।

राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस ।

वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।

बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनूस।

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु