जुठाभाँडा माझेर गुजारा चलाउँछिन् कीर्तिमानी आरोही लाक्पा शेर्पा::पुरा पढ्नु होस ।।

Loading...
इमेची संवाददाता | प्रकाशित भएको : November 6th, 2019

काठमाडौं। कीर्तिमानी महिला आरोही लाक्पा शेर्पाको दैनिकी कष्टकर छ। लाक्पा पहिलो नेपाली महिला हुन्, जो सगरमाथाको चुचुरोमा पुगेर सफलतापूर्वक फर्किइन्। भनिन्छ, सगरमाथाको चुचुरोमा पुग्नुभन्दा फर्किनु झन् गाह्रो हो र प्रायः आरोहीले फर्कने क्रममा ज्यान गुमाउँछन्।

उनको नाममा अर्को विश्व कीर्तिमान छ। सर्वाधिक नौपटक सगरमाथाको सफल आरोहण गर्ने उनी विश्वकै एकमात्र महिला हुन्। उनी आगामी वर्ष पुनः आरोहणको तयारीमा छिन्, र आफ्नै कीर्तिमान जित्न चाहन्छिन्।

विश्व कीर्तिमान भन्नेबित्तिकै सोच्नुहोला– प्रायोजक, ब्रान्ड विज्ञापन आदि। तर, उनले त्यस्तो दुनियाँ देख्नै पाएकी छैनन्। उनको जीविकोपार्जन चल्छ, अमेरिकाको होल फुड्स नामक एक कम्पनीमा जुठो भाँडावर्तन माझेर। उनी प्रायः आफ्नो कार्यस्थलसम्म हिँडेर पुग्छिन्, उनको आफ्नो गाडी छैन। घरमा उनको जिम्मेवारी छ, तीन सन्तानको।

नेपालकै हिमाली क्षेत्र मकालुको बालखर्कमा जन्मेकी हुन्, लाक्पा। त्यहाँ उनको बुबाको चिया पसल थियो, र उनकी आमा अझै त्यहीँ बस्छिन्। आफ्नो ठ्याक्कै उमेर उनलाई थाहा छैन। ४५ वर्ष जति पुगेको बताउँछिन् उनी। उनका बुबाआमाका ११ सन्तान थिए, सबै घरमै जन्मे। त्यसैले कसैको जन्मदर्ता पनि छैन।

उनका दाजुभाइ सबैजसो प्रायः हिमाल आरोहणमै निर्भर छन्। उनको जेठो दाइले १०–११ पटक सगरमाथा आरोहण गरिसके, अर्को दाइले आठपटक, कान्छो भाइले पाँचपटक र उनकी बहिनीले एकपटक।

विश्व कीर्तिमान भन्नेबित्तिकै सोच्नुहोला– प्रायोजक, ब्रान्ड विज्ञापन आदि। तर, लाक्पाले त्यस्तो दुनियाँ देख्नै पाएकी छैनन्। उनको जीविकोपार्जन चल्छ, अमेरिकाको होल फुड्स नामक एक कम्पनीमा जुठो भाँडावर्तन माझेर।

सन् २००३ मा उनले आफ्नो दाइ मिङ्मा गेलु शेर्पा र बहिनी मिङ्मा शेर्पासँग आरोहण गरी तीन सहोदर दाजु–बहिनी एकैसाथ सगरमाथा शिखर पुगेको अर्को कीर्तिमान बन्यो।

उनको विवाह भएको थियो, रोमानियान–अमेरिकन जर्ज डिज्मारेस्कुसँग सन् २००२ मा। तर, जर्जलाई क्यान्सर भएयता, विशेषतः उनको रिसाहा र हिंस्रक स्वभावका कारण उनीहरू अहिले सँगै छैनन्। सम्बन्धविच्छेदसँगै बालबच्चाको पालनपोषणको जिम्मेवारी लाक्पामाथि नै छ।

त्यसयता उनले अमेरिकामा न्युन पारिश्रमिकमा काम गर्दै आएकी छन्। उनले सेभेन–इलेभेनमा क्यासियरका रूपमा तथा घर सफा गर्ने काम पनि गरिन्। उनलाई त्यो पलको सम्झना छ, जब एकजनाले आफ्नो घरमा भुइँ सफा गर्ने महिला विश्वकीर्तिमानी आरोही भएको थाहा पाए।

उनको युवा उमेर यस्तै विभिन्न समस्यासँग जुझ्दै बित्यो। शायद पुरुष आरोहीलाई यी कुराले समस्या हुँदैन थियो। यस्दो अवस्था हुँदा पनि उनको कीर्तिमान भने अझै कायम छ।

यसका बाबजुद उनको सगरमाथा आरोहणको सपना टुटेको छैन। उनी अझै तिनै हिमालमा चढ्न चाहन्छिन्, थप सफलता र नयाँ कीर्तिमान चाहन्छिन्।

‘हिमालमा डर त हुन्छ, तर म हिमाललाई चिन्छु,’ उनी आफ्नी कान्छी छोरीलाई भन्छिन्, ‘मलाई थाहा छ, म घर फर्कन्छु, म फर्कनै पर्छ।’

सामान्यतः आरोहण गर्ने विदेशी सामग्री कम्तीमा ५० हजार डलर पर्छ, नेपाली चाहिँ झन्डै ३० हजार डलर।

सेरेना विलियम्स २३ साताको गर्भवती हुँदा उनले अस्टे«लियन ओपन जितिन्, लाक्पाले आफ्नो पहिलो सन्तान जन्मेको आठ महिनामा सगरमाथा आरोहण गरिन्, र अर्कोपटक दुई महिनाको गर्भवती हुँदा आरोहण गरिन्।

तर, सेरेना विलियम्सजस्तो लाक्पालाई प्रायोजक, विज्ञापन, पोषणविज्ञ, प्रशिक्षक केही पनि छैन। उनी पूर्ण रूपमा तालिममा व्यस्त हुन सक्दिनन् किनकि उनले आफ्नो अपार्टमेन्टको भाडा तिर्न काम गर्नुपर्छ।

उनको कहानी सामाजिक सञ्जालमा आएको छैन, जहाँ उनीभन्दा थोरै सफलता पाएकाले थुप्रै सुविधा पाइरहेका छन्। उनको नाम व्यापारीकरण भएको छैन, र व्यवसायीले त्यति कम चर्चा भएको नामलाई प्रायोजन गर्दैनन्।

शेर्पा गाइडका रूपमा सगरमाथा चढ्नु र आरोहीका रूपमा सगरमाथा चढ्नुमा फरक हुने उनको तर्क छ। पहिलो अरूको लागि हो भने दोस्रो आफ्नै लागि।

उनीसँग भएका आरोहण सामग्री पनि पुराना मात्र छन्। उनीसँग ५० वर्ष पुरानो अक्सिजन मास्क छ। उनी भन्छिन्, ‘यो अन्य नयाँभन्दा बढी भरपर्दो छ।’

उनका थुप्रै सपना छन्– ऐतिहासिक दसौं आरोहणका लागि प्रायोजन, आफ्नै आरोहण तालिमको व्यवसाय क्लाउडस्केप क्लाइम्बिङको नाममा, जुठो भाँडाकुडामा भन्दा हिमालमा समय बिताउने चाहना, आफ्नो जीवनबारे पुस्तक एवं डकुमेन्ट्री र आफ्ना छोरीहरूलाई पढाउन प्रशस्तै पैसा।

‘म हिमालमा हराउन चाहन्छु,’ उनी भन्छिन्, ‘तर, मैले यहाँ पनि जिम्मेवारी पूरा गर्नुपर्छ।’ यो समाचार नेपाल न्यूजबाट लिइएको हो ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु