मेचीनगरमा मेयर पदमा पराजित भएका प्रसाई बने ३ नम्बर प्रदेशको प्रमुख

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

झापा-गत स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा उठेर पराजित बनेका विष्णु प्रसाईं प्रदेश नम्बर ३ को प्रमुखमा नियुक्त छन् ।

तत्कालिन नेकपा एमालेको तर्फबाट उनी मेयरका उम्मेद्वार थिए। उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए।

२०५४ सालमा नेकपा एमाले फुटेपछिको निर्वाचनमा उनी एमालेका तर्फबाट झापा क्षेत्र नं १ का लागि सांसदको उम्मेद्वार थिए।त्यो बेला पनि उनी पराजित भए।

त्यसअघि उनी जिल्ला विकास समिति झापाको उपाध्यक्ष थिए।

गत स्थानीय तहको निर्वाचनका बेला उनले राँगा गाडीमाथि चढेर चुनाव प्रचार गरेका थिए।

प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस : कुन प्रदेशमा को ?

सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिस गरेअनुसार प्रदेश प्रमुखको जिम्मेवारी निम्न अनुसार दिइएको छ-

प्रदेश १– सोमनाथ अधिकारी ‘प्यासी’

प्रदेश २– तिलक परियार

प्रदेश ३– विष्णु प्रसाईं

गण्डकी प्रदेश – अमिक शेरचन

प्रदेश ५– धर्मनाथ यादव

कर्णाली प्रदेश– गोविन्द कलौनी

सुदूरपश्चिम प्रदेश– शर्मिला पन्त त्रिपाठी

अर्यालका अनुसार प्रदेश प्रमुखहरुले भोलि (मंगलबार) सपथ ग्रहण गर्नेछन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।

७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। विष्णु प्रसाईं, सोमनाथ अधिकारी ‘प्यासी’, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।

आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।

देश प्रमुख सिफारिसमा माधव नेपाल असहमत

सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । नेपालले नोट अफ डिसेन्ट नै लेख्ने बताएका छन् ।

सोमबार विहान बसेको नेकपा सचिवालय बैठकमा नेपालले प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट केही नेताको नाम पेश गरेका थिए । प्रदीप नेपाल, विश्वकान्त मैनाली, बेदुराम भुसाल, रघुजी पन्त र श्रीमाया थकालीमध्येबाट प्रदेश प्रमुख बनाउन नेपालको प्रस्ताव रहेको स्रोतले जनाएको छ ।

तर आफूले प्रस्ताव गरेका नाममाथि छलफल नै नभएपछि उनी केहीबेर अलमल्लिएको एक सचिवालय सदस्यले बताए ।

उनले आफूले पेश गरेका नाममा कम्तिमा छलफलसम्म होस भन्ने माग गरेका थिए । तर त्यो पनि सुनुवाई भएन । नेपालले नाम प्रस्ताव गर्नुअघि नै पार्टी अध्यक्षद्धय केवी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट महासचिव बिष्णु पौडेलले सात जनाको नाम प्रस्ताव गरेका थिए ।

नेता नेपालले आफूसँग परामर्श नै नगरी नाम पेश गरिएको भन्दै यस्तो गर्ने हो भने बैठक किन बोलाएको भन्ने प्रश्न समेत गरेका थिए ।

उनलाई प्रचण्डले सम्झाउन खोजे पनि मानेनन् । प्रचण्डले मापदण्ड मिलाएरै नाम पेश भएकाले कसका मान्छे परे परेनन् भनेर नसोच्न आग्रह गरेका थिए । तर उनले प्रदेश प्रमुख नियुक्ति गर्दा सन्तुलन नमिलेको र आफूलाई पेल्न खोजिएको भन्दै नेपालले अशन्तुष्टि व्यक्त गरेका थिए ।

नेता नेपालले बैठकको निर्णयमा असहमति जनाएको उनी निकट नेताले बताए । पूर्व माओवादीले पाएका तीन प्रदेश प्रमुखमा रामवहादुर थापा बादल पक्षबाट तिलक परियार पर्दा पूर्व एमालेमा माधव नेपाल पक्षलाई निषेध गरिएकाले पनि नोट अफ डिसेन्ट राख्नु परेको नेपाल पक्षको तर्क छ ।

पूर्वएमालेबाट प्रदेश प्रमुख बनेका सोमनाथ प्यासी, बिष्णु प्रसाईं, धर्मनाथ यादव र गोविन्द कलौनी चारैजना ओली पक्षका हुन् । कलौनी ओली पक्षमा पनि बामदेव गौतम निकट मानिन्छन् ।

‘जसरी पनि माधव नेपाललाई पेल्ने नियत देखियो’ नेपाल पक्षीय एक नेताले भने , ‘यसरी नगरौं बरिष्ठता र सन्तुलन पनि मिलाऊँ भन्दा उहाँको कुरा सुनुवाई भएन । प्रधानमन्त्रीले आफ्नो गुटका ममान्टेहरुलाई राख्नु भयो । व्यक्तिमा भन्दा पनि प्रक्रिया र असुन्तलनप्रतिको असहमति हो ।’

यसैबीच नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई उपेक्षा गरिएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् । अन्यत्र मेयर हारेकाको पनि योग्यता पुगेको भन्दै कर्णालीलाई योग्यता पुग्न के के चाहिने हो भनि प्रश्न उठाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु