डा. अल्का मज्गैया
२०१५ मा बंगलादेशबाट एम. बि.बि.एस सकाएर नेपाल आएर नेपाल आर्मीको जागिर खाइरहेकी छु। अहिले म बिरामीको सेवामा तत्पर भइरहेको बेला राजनैतिक कुरा सोच्ने फुर्सद छैन र जरुरत पनि नहुनु पर्ने हो। किनकि देशको बारेमा सोच्न राजनीति गर्न त हामीले नेता चुनेर पठाएका छौ। तर विडम्बना यहाँ आफ्नो दुनो सोझ्याउनमा नै सबै जना व्यस्त हुनुभयो अनि बिरामीको उपचार छोडेर डा गोविन्द केसीलाई सत्याग्रह गर्नुपर्ने भयो। अरू डाक्टरलाई आन्दोलन। हामीलाई मानसिक तनाव।

यही माहोलमा एउटा प्रस्तावित मेडिकल कलेजको व्यापारी बाट कथन आयो” बंगलादेशमा छोरी मान्छेलाई डाक्टर बन्न नौ वर्ष लाग्छ किनकि त्यहाँ प्रोफेसरले करणी गरेर राख्छन्।” अत्यन्त घिन लाग्दो कथन हो यो। महोदय तपाईँ बाङ्लादेश पुग्नुभएको छ ? कति वर्ष बस्नुभयो? म ६ वर्षमा आफ्नो मिहिनेतले र बुवा आमाको पैसाले पढेर (किनेर होइन) 75% भएको अब्बल सर्टिफिकेट लिएर आए । सर्टिफिकेट मात्र होइन नारीको इज्जत देखेर आए। हो त्यहाँ बुर्खा लगाइन्छ, तर यहाँ जस्तो गाडीमा, लाइनमा स्त्री को अङमा हात पुर्याइदैन।

मन्त्री महोदयले पनि हिजो भन्नू भयो कसै न कसैलाई शरीर नसुमपेर डिग्री पाइँदैन। नारीको प्रगतिलाई सधैँ शारीरिक रूपले हेर्ने यो गन्धा चस्मा लगाउने तपाईँहरूको चेतना शून्यता प्रति मलाई खेद प्रकट गर्नु बाहेक केही गर्नु छैन। तपाईँहरूको मानसिकताको विरोध गर्न म यो लेखिरहेको होइन।

म त ती सबै आमाबुबाको लागि लेख्दैछु जसले छोरीलाई बंगलादेशमा पढ्न पठाउँदै हुनुहुन्छ, जो मन्त्री र व्यापारीका भ्रामक कुराले अलिकति सोच्न बाध्य हुनुभएको होला। चिन्ता नगर्नुस्, १८ वर्षमा म एक्लै गएकी थिए, सकुशल फर्केर नि आए। हुन त छोरी कहाँ पो सुरक्षित छ र ? गिद्धे नजर लाउनेहरू विश्वभरि नै भेटिन्छन् । तर बंगलादेशमा शेख हसिनाले सैनिक शासन लादेर होस वा फाँसी चढाएर होस, त्यो देश चलाएकी छन्। ठुलो जनसङख्या, गरिबीको बाबजुद पनि चोक चोकमा गुणस्तरीय मेडिकल कलेज खोलेकै छन्।

प्रसाइ ज्यु तपाईँको एउटा कलेजले कति जना डाक्टर उत्पादन गर्नुहुन्छ? के तपाईँ नेपालमै पढ्न चाहेको तर किस्ताबन्दीमा पैसा तिर्न नपाइने भएर बिदेशीएका म जस्तै कैयौँ महिला चिकित्सकलाई डिग्री दिने ग्यारेन्टी गर्न सक्नुहुन्छ ? अनि डाक्टरलाई उत्पादन गरेर काजमा पठाएर रेमिटेन्स भित्र्याउन सक्नुहुन्छ ?

वास्तवमा यो एउटा खेल हो । नेपालमा सर्वाधिक रहेको नेपाल बाट पढेका र बंगलादेशबाट पढेका डाक्टर बिच फुट ल्याउने परिपच्न। बाङ्लादेशबाट पढेकाहरुको सेन्टिमेन्टमा यसले चोट पर्छ, भोलि हेपिनु पर्छ, किनेको वा शरीर बेचेर लिएको जस्तो हुन्छ। तर दुई तीन जनाले भन्दैमा वर्षै देखि हामीले गरेको मिहिनेत खेर जाँदैन। हामी आत्तिनु हुँदैन, फुट्नु हुँदैन। अहिले डा गोविन्द केसीको मुद्दालाई प्रमुख बनाऊ। गाउँठाउँमा मेडिकल कलेज, हस्पिटल भयो भने गाउँका मानिसले सास्ती पाउनु पर्दैन। हामी जस्तो डाक्टरले काठमाडौँमा घर बनाउनै पर्ने बाध्यता हुँदैन।

यो समयमा हामी प्रयोग हुनु हुँदैन। राजनैतिक हत्कण्डाको सिकार बन्नु हुँदैन। केही दिन बिरामीलाई असहज अवश्य हुन्छ तर यदि यसबाट पुस्तौ पुस्ताले नि:शुल्क सर्वसुलभ स्वास्थ्य सेवा, मेडिकल शिक्षा पाउँछन् भने हामी कागले कान लग्यो भन्दैमा उफृने होइन, आफ्नै कान छामौँ । कर्म गरौँ। गरेर देखाऊ।

प्रसाईं जी र मन्त्री जिलाई कुनै दिन बाङ्लादेशबाट पढेर आएका महिला चिकित्सकले उपचार गर्न नपरोस !

( बंगलादेशबाट मेडिकल शिक्षा हासिल गरेर आउनुभएकी डा. अल्का मज्गैया हाल मेडिकल अफिसरको रूपमा आर्मी अस्पतालमा कार्यरत हुनुहुन्छ । )

(Visited 17 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *