तिहार अर्थात यमपञ्चक शुरु, आज बेलुकी यमदीप दान गरिने


काठमाडौं- कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । शुक्रबार बेलुकी यमदीप दान शुरु गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीप दान आजदेखि शुरु हुने भए पनि काग तिहार भने भोलि शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । यमदीप दान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ ।

यमदीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा गरिनेछ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार परेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने उनले बताए ।

कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाइने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय मान्यता छ ।

यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिनेछ ।

तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुमा बिक्रीका लागि किसानले उनेर राखिएको मखमली फूलको माला । तस्वीर : चन्द्रकला क्षेत्री

कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न शुरु भइसकेको छ ।

(Visited 37 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु