झापाका मिजास पोखरेल : उच्च शिक्षाको लागि अमेरिका र अष्ट्रेलिया पुगे तर अहिले स्वदेश फर्केर आफ्नै व्यवसाय गर्दैछन्


पुष्कर गुरागाई । ३ कात्तिक, बिर्तामोड (झापा) :

स्वदेशमा काम गरेर पनि केही हुँदैन भन्दै ठुलो जनशक्ति वैदेशिक रोजगारीमा पलायन भएका छन् । तर, पछिल्ल्लो समय विदेशी भूमिबाट ज्ञान र सीप सिकेर स्वदेशमै प्रयोग गर्ने गरेका उदाहरण पनि भेटिन थालेका छन् ।

झापा जिल्ला साविक अनारमनी गाविस हाल विर्तामोड नगरपालिकामा जन्मेका मिजास पोखरेलले नेपालमै बसेर विदेशी ज्ञान र सीप प्रयोग गरी युवाहरुका लागि गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

२०४४ सालमा बाबु राजकुमार पोखरेल र आमा मीना पोखरेलको कोखबाट माइला छोराको रुपमा ­­उनको जन्म भएको हो । प्लस टु सम्मको अध्ययन सेन्टपल स्कुल भारतमा गरेका थिए । उच्च शिक्षा अध्ययनका लागि उनी अमेरिका गए । अमेरिकाको एमयसयू कलेजबाट बीएसी इन फाइनान्समा अध्ययन पुरा गरे । अमेरिकामा उनलाई त्यहीँ बस्नका लागि विभिन्न ठाउँबाट अफर पनि नआएको होइन । तर, उनी विदेशमा सिकेको ज्ञान आफ्नै देशमा उपयोग गर्ने चाहनाले देशमै फर्कन चाहन्थे । उनले मास्टर (डिग्री) भने अस्ट्रेलियाबाट गरेका हुन् ।

अमेरिका र अस्ट्रेलिया जस्तो विकसित मुलुक छाडेर उनी बुवाको पुख्र्यौली पेशा चलचित्र क्षेत्रलाई अँगालेका छन् । पूर्वकै चर्चित चलचित्र हल कृष्ण चलचित्र मन्दिर अहिले मिजासले सञ्चालन गर्दै आएका छन् । सो चलचित्र मन्दिर उनका बुवा राजकुमार पोखरेलले खोलेका हुन् ।

कृष्ण चलचित्र मन्दिर सँगसँगै उनले पूर्वमै पहिलोपटक अत्याधुनिक सिनेमा हल QFX सञ्चालनमा ल्याएका छन् । जुन पूर्वमै पहिलो हो । बिर्तामोडस्थित मुक्ति चोकदेखि पश्चिम राजमार्ग उत्तरमा सुविधासम्पन्न वान स्टप कम्प्लेक्ससँगै QFX पनि सञ्चालनमा छ । यो वान स्टप कम्प्लेक्स विदेशी मोडलमा रहेको छ । करोडौँको लगानीमा सञ्चालन भएको यो वान स्टप कम्प्लेक्समा ३२ जनाले रोजगारी पनि पाएका छन् ।

झापाको बिर्तामोडमा रहेको वान स्टप मल । तस्विर इन्द्रजित मुखिया ।

आफू अध्ययन र अनुभवको लागि विदेश गएको मिजासले बताए । उनी भन्छन्, ‘परिवर्तन आफैबाट सुरु गर्नुपर्छ तब मात्र राष्ट्र समृद्ध बन्छ ।’ उनका बुवा नेपाल चलचित्र सङ्घका पूर्व अध्यक्ष पनि हुन् । हाल मिजास पनि सोही चलचित्र सङ्घका उपमहासचिव छन् । विरता जेसीज, राउन्ड टेवल लगायतका थुप्रै सङ्घसंस्थामा उनी आबद्ध भएर सक्रिय छन् ।

उनले अनारमनी आधारभुत विद्यालयलाई हरेक वर्ष सहयोग गर्दै आएका छन् । समितिमा बसेर बिर्तामोडस्थित राजमार्गमा सोलार बत्ती जडान कार्य पनि सम्पन्न गरेका छन् । मिजासले आफूलाई व्यवसायसँगै समाजसेवामा सक्रिय बनाएका छन् ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु