कृष्ण सिटौलाले भेटे महराः सिटौलाले नर्भिकमा सुनाए ‘डिजाइनर’ हरुको नाम


काठमाण्डु, ३ असोज– संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन् ।

महरा भेट्न सिटौला नर्भिक अस्पताल पुगेका थिए । त्यहाँ उनीहरुबीच डेढ घण्टा एक्लाएक्लै कुराकानी भयो । प्रहरी हिरासतमा रहेका महरालाई उच्च रक्तचाप र स्वासप्रस्वाससम्बन्धी समस्या बढेपछि नर्भिकमा भर्ना गरिएको छ । महरानिकट स्रोतका अनुसार त्यस क्रममा सिटौलाले ‘ठूलो डिजाइनमा महरालाई फसाइएको’ बताए । त्यसमा देशभित्र र बाहिरका शक्तिको साँठगाँठ रहेको सूचना आफूलाई पनि प्राप्त भएको सिटौलाको भनाइ थियो ।

तत्कालीन माओवादी वार्ता टोलीका प्रमुख महरा र सरकारी वार्ता टोली प्रमुख सिटौलाबीच घनिष्ठ सम्बन्ध । ०६२/०६३ मा महरा माओवादी वार्ता टोली प्रमुख भएर काठमाण्डु आउँदा सिटौला गृहमन्त्री थिए । महरा–सिटौला शान्ति प्रक्रियाका कणकणबारे जानकार नेता हुन् । सिटौलाले त्यस क्रममा राज्य सञ्चालन गरिरहेका व्यक्तिहरुको नामै लिएर उनीहरुले महरालाई नियतबस फसाएको भन्दै सान्त्वना दिएका थिए ।

‘बाहिर देखाउनका लागि महिलाको आरोप तपाईंमाथि पक्राउ गर्नुको कारण जस्तो देखिए पनि भित्र ठूलो डिजाइन छ’, सिटौलाको भनाइ उद्धृत गर्दै स्रोतले काठमाण्डुटुडेसँग भन्यो’, ‘धेरै ठूला मान्छे यसमा लागेका छन् ।’ उनले महरा प्रकरण पूर्वमओवादीहरुलाई फसाउने डिजाइनको सुरुआत भएको पनि बताए । ‘यो अन्तिम होइन, पहिलो हो’, सिटौलाले भने, ‘पूर्वमाओवादीहरुलाई यसै गरी एकएक गरेर फसाउँछन् ।’

दसैं सकिएलगत्तै सिटौला महरा भेट्न गएका थिए । महराले खासै मानिस भेटेका छैनन् । उनले सचिवालयका केही सहयोगी, परिवार, कानून व्यवसायी र चिकित्सकबाहेक भेटेका छैनन् । तर, सिटौलासँग भने डेढ घण्टा एक्लाएक्लै कुरा गरे । महरामाथि शाहीले १२ असोजमा आफ्नो तिनकुनेस्थित डेरामा आएर महराले जबर्जस्ती करणी गर्न खोजेको र आफूले प्रतिकार गरेपछि कुटपिट गरेको आरोप लगाएकी थिइन् ।

उनको यो आरोपपछि नेकपा सचिवालय बैठकले उनलाई सभामुख र संसद सदस्यबाट समेत राजीनामा दिन निर्देशन दियो । महराले १४ असोजमा सभामुखबाट राजीनामा दिए । तर, संसद सदस्यबाट दिएका छैनन् । उनलाई परिवारका साथ दसैं मनाइरहेका बेला सरकारी बिदाका दिन १९ असोजमा सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको थियो ।

(Visited 10 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु