डाक्टर देवकोटा जसले बन्द हुनै लागेको स्कुललाई पुनर्जीवन दिए…


गाेरखा – गोरखाकाे ऐतिहासिक लिगलिगकोटको काखैमा छ, सगरमाथा स्कुल । स्कुलको आँगनबाटै देखिन्छ, माथितिर लिगलिगकोटमा फहराइरहेको ठूलो झण्डा र तल बेसींतिर चेपे र मर्स्याङ्दी नदी किनारका ठूल्ठूला टार । सिरसिर हावा चलिरहने पारिलो राउतेपानी डाँडामा यो स्कुल खुलेको ५२ वर्ष पूरा भयो । जसरी यो वर्षको अवधिमा मर्स्याङ्दी र चेपेमा थुप्रै पानी बगे, यो स्कुलले पनि थुप्रै आरोह अवरोह झेल्यो । यही स्कुलमा पढेका सात जना पूर्व विद्यार्थीले विद्यावारिधी गरेका छन् । कयौँले इञ्जिनियरिङ गरिरहेका छन्, त्यति नै हाराहारीमा पूर्व विद्यार्थी सरकारी सेवामा छन् ।

तर गर्विलो इतिहास बोकेर उभिएको यो स्कुलको पछिल्ला वर्षहरु भने सुखद् हुन सकेन । छेउछाउमा निजी विद्यालयहरु खुल्न थालेपछि विद्यार्थी संख्या घट्दै जान थाल्यो । हुँदाहुँदा पछिल्लो शैक्षिक सत्रमा त पाँच कक्षासम्म पढाइ हुने यो स्कुलमा विद्यार्थी संख्या पनि पाँचमै झर्‍यो ।यही अवस्थालाई देखेर पालुङटार नगरपालिकाले कम विद्यार्थी भएका स्कुललाई नजिकको अर्को स्कुलमा गाभ्ने योजना अघि सार्‍यो ।नगरपालिकाले गाभ्नुपर्ने भनेर सूचीकरण गरेका १० विद्यालयको पहिलो क्रममा सगरमाथा स्कुल पनि थियो।आफैँले दुःखसुख गरेर स्थापना गरेको विद्यालय अर्को कुनै विद्यालयमा गाभिने कुराले अभिभावकहरुलाई झस्कायो, तर गाभ्नु हुँदैन भन्ने बलियो आधार पनि थिएन ।

यही पृष्ठभूमीमा विद्यालयले गएको फागुन ६ गते अभिभावक भेला बोलायो । ‘भेलाले स्कुल मर्ज गर्ने नगरपालिकाको निर्णयलाई अनुमोदन गर्ने थियो’ व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङ भन्नुहुन्छ, ‘तर डाक्टर लक्ष्मीप्रसाद देवकोटा सरसहितले पहल गरे पछि स्कुल गाभिनबाट त रोकियो नै, स्कुलको कथा नै अर्को भयो ।’ डाक्टर लक्ष्मीप्रसाद देवकोटालाई धेरै कोणबाट चिन्न सकिन्छ, सारमा चाहिँ उहाँ जलस्रोतविद् ।बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुरुको चार वर्ष आयोजना विकास समितिको अध्यक्ष रहनुभएका देवकोटा पनि यही सगरमाथा स्कुलका पूर्व विद्यार्थी हुनुहुन्छ ।

स्कुल समायोजन हुन लागेको र फागुन ६ गते अभिभावक भेला बोलाइएको खबर काठमाण्डौमा रहनुभएका देवकोटासम्म पुग्यो । ‘६ गते अभिभावक भेलाको दिन म पनि गाउँ आएँ, त्यसअघि स्कुललाई कसरी जोगाउन सकिन्छ भनेर काठमाण्डौमै अरु साथी हरु सँग पनि छलफल भयो’ स्कुल परिसरमै कुरा गर्दै देवकोटाले भन्नुभयो,‘साथीहरुले मिलेसम्म स्कुललाई जोगाउने म्याण्डेट दिएर मलाई गाउँ पठाउनुभयो ।’नगरपालिकाले विद्यार्थी संख्या २० भन्दा बढी भएमा समायोजन हुनबाट रोक्न सकिने बतायो।अभिभावक भेला अघि देवकोटासहितको टोलीले अभिभावकहरुको कुरा बुझ्यो ।

आसपासको बोहोरागाउँ, राउतेपानी, धारापानी, पाँच चिहान र मैबल गाउँका दर्जनौँ विद्यार्थी नजिकैको सगरमाथा स्कुलमा पढ्न आउँदैन थिए, पहेँलो स्कुल बस चढेर बोर्डिङमा पढ्न जान्थे, अभिभावक पनि यसमै खुशी देखिन्थे । तर स्कुल जोगाउने हो भने वरपरको गाउँका यिनै विद्यार्थीलाई आकर्षित गर्नु बाहेक अरु उपाय थिएन । ‘विद्यार्थी संख्या २० कटाउँछु भन्दैमा जबर्जस्ती गरेर पनि भएन’ देवकोटाले भन्नुभयो, ‘केटाकेटीलाई ओच्छ्यानबाट उठाउनासाथ रुच्दै नरुचे पनि जबर्जस्ती भात खुवाएर बिहान सातै बजे स्कुल पठाउनु पर्दा अभिभावक त्यति सन्तुष्ट नभएको जस्तो लाग्यो ।’

डाक्टर देवकोटासहित विद्यालय परिवारले सबै गाउँ डुल्यो । टोलीले अभिभावकलाई सोध्यो, केटाकेटीलाई छेउको स्कुल छाडेर किन बोर्डिङमा पढाउनु भएको ? सबैजसो अभिभावकको साझा उत्तर थियो, ‘स्कुलमा राम्रो पढाइ नै हुँदैन ।’ ‘उसो भए, के भयो भने चाहिँ यहीँ राख्नुहुन्छ त ?’ देवकोटा टोलीको यो प्रश्नको पनि साझा उत्तर आयो, ‘पढाइ राम्रो भयो भने हामी यहीँ पढाउँछौं ।’ अभिभावकले खोजेको राम्रो पढाइभित्र अंग्रेजी माध्यम पनि थियो । यति बुझिसकेपछि डाक्टर देवकोटालाई अभिभावक भेलामा कुरा गर्ने प्रशस्तै एजेण्डा मिल्यो ।

फागुन ६ गते भएको भेलामा स्कुलको पढाइका बारेमा लामो कुरा भयो । शिक्षक र अभिभावकले एक आपसमा मन माझ्ने मौका पाए । वडाध्यक्ष रेशम अधिकारीले पनि विद्यार्थी संख्या बढाउन सके पूर्वाधार निर्माण लगायतका काममा वडाले पनि सघाउने प्रतिब द्धता जनाउनुभयो । ‘स्कुललाई मर्ज गर्ने नगरपालिकाको निर्णय अनुमोदन गर्ने उद्देश्यले बोलाइएको भेलाले स्कुललाई सञ्चालन गर्ने निर्णय गर्‍यो’ व्यवस्थापन समिति अध्यक्ष रामबहादुर गुरुङले भन्नुभयो । पहिलो भेलामा सहभागी भएर डाक्टर लक्ष्मीप्रसाद देवकोटा काठमाण्डौ फर्किनुभयो ।

अर्को भेला चैत ९ गतेका लागि डाकिएको थियो । ‘अभिभावकको कुरा बुझेपछि म स्कुल सञ्चालनको खाका बनाउनतिर लागेँ’ उहाँले भन्नुभयो, ‘विद्यार्थी नै आउँदैनन् भने त टाउको फुटाएर पनि हुन्नथ्यो ।’ चैत ९ गतेको भेलाको अघिल्लो दिन नै देवकोटा गाउँ आउनुभयो र अभिभावकसँग भेटघाट गर्नुभयो । यो पटक उहाँसँग स्कुलको पढाइ कसरी राम्रो बनाउन सकिन्छ भन्ने आधार र लिखित दस्तावेज पनि थियो । यो पटकको भेलामा एक सय नौ जना अभिभावक आए । भेलामा डाक्टर देवकोटाले सगरमाथा प्राथमिक विद्यालयको पुनर्जागरण सम्बन्धी अवधारणापत्र प्रस्तुत गर्नुभयो ।

जसमा सगरमाथा स्कुललाई पाँच वर्षभित्र जिल्लाकै पाँचौं गुणस्तरीय स्कुलभित्र पार्नेलगायतका विषय समेटिएका थिए । गुणस्तरीय शैक्षिक अवस्था सिर्जना गर्न चाहिने आवश्यक तत्वहरुबारे देवकोटाले झण्डै एक घण्टा व्याख्या गरेपछि अभिभावक केही जोशिएको जस्तो देखियो । तर त्यो दिन कोही पनि अभिभावकले आफ्ना केटाकेटी भर्ना गराएनन् । चैत २३ गते फेरि अर्को भेला भयो, त्यसअघि घरदैलो भयो । त्यो भेलामा वडाका पाँचैजना जनप्रतिनिधिसहित नगरप्रमुख दीपकबाबु कँडेलको पनि सहभागिता रह्यो । स्कुल सरकारी भए पनि बोर्डिङस्तरकै पढाइ सञ्चालन गर्छौं भन्ने प्रतिबद्धताले अभिभावकलाई सोच्न वाध्य बनायो ।

भर्ना हुने विद्यार्थीलाई झोला र आमालाई पछ्यौरा उपहार दिने योजना सुनाइयो । त्यही दिन व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङले आफ्नी छोरी मञ्जितालाई त्यही विद्यालयमा शिशु कक्षामा भर्ना गराउनुभयो ।त्यसलगत्तै अभिभावकहरु कृष्णहरि देवकोटा, बासु देवकोटालगायतले बोर्डिङमा पढिरहेका आफ्ना केटाकेटीलाई फिर्ता ल्याए । त्यही दिन २६ जना विद्यार्थी भर्ना भए अर्थात् समायोजन हुनबाट जोगिनका लागि आवश्यक पर्ने विद्यार्थी संख्या पूरा भयो । ‘तर हाम्रो उदेश्य विद्यार्थी जम्मा पार्नु मात्रै थिएन, गुणस्त रीय शिक्षाको आधार खडा गर्नु पनि थियो’ देवकोटा सम्झनुहुन्छ, ‘एक हप्ताभित्रै नयाँ शिक्षक राख्छौं भनेर गरेको प्रतिबद्धताले पोल्न थालिसकेको थियो ।’

सगरमाथा विद्यालयमा सरकारी दरबन्दीका तीन जना शिक्षक थिए, अभिभावकले खोजेको जस्तो गुणस्तरीय शिक्षा दिन थप तीन जना शिक्षक निजी स्रोतमा राख्नुपर्थ्याे । त्यसका लागि आर्थिक स्रोतको कुरा आउने नै भयो । देवकोटाले अमेरिका, बेलायत, हङकङ, अष्ट्रेलियालगायतका देशमा बस्ने पूर्व विद्यार्थीहरुसँग सम्पर्क बढाउनुभयो र उनीहरु पनि आर्थिक सहयोग गर्न सहमत भए । चैत २९ गते बोर्डिङमा पढाउँदै गरेका दुई जना शिक्षिकालाई नियुक्त गरियो । वैशाख ४ गतेदेखि भर्ना अभियान सुरु भयो । पाँच जनामा सीमित विद्यार्थी संख्या बढेर ७६ पुग्यो ।

वैशाख ६ गते अर्को अभिभावक भेला भयो, सबै अभिभावकको चाहनाअनुसार, डाक्टर देवकोटा स्वयंसेवकका रुपमा नियमित शिक्षण गर्ने गरी गाउँमै बस्ने टुंगोमा पुग्नुभयो । अहिले विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन्, भर्ना भएकामध्ये पाँच जना विभिन्न कारणले आउन सकेनन् । ‘३५ छात्रा, ३४ छात्र छन्, दलित समुदायकै २८ जना छन्’ डाक्टर देवकोटाले पछिल्लो तथ्याङ्क सुनाउनुभयो । विद्यार्थी बढेसँगै शिक्षक, कर्मचारीको संख्या पनि बढ्ने नै भयो । दरबन्दीका तीन, निजी स्रोतका तीन, स्वयंसेवक एक शिक्षकसहित भान्छामा सघाउने गरी नौ जना कर्मचारी छन् ।

विद्यार्थीहरुलाई दिउँसो खाजा खुवाउने गरिएको छ । अंग्रेजी माध्यमका किताब छन् । विद्यार्थीहरुलाई किताब, कापी, झोला निःशुल्क उपलब्ध गराइएको छ । नियमित पढाइ बाहेक अतिरिक्त क्रियाकलापमा पनि जोड दिइएको छ । अभिभावकको विद्यालयप्रतिको अपनत्व पनि बढेको छ । ‘हामीले विद्यालय वरपर पर्खाल लगाउन अभिभावकलाई बोलायौं’ डाक्टर देवकोटाले उत्साहित तर भावुक हुँदै भन्नुभयो, ‘९१ वर्षका अभिभावक पनि पर्खाल लगाउने काममा खटिनुभयो ।’ तर अभिभावकलाई प्रतिबद्धता गरे अनुसारको गुणस्तरीय शिक्षाका लागि यतिमै सन्तोष मान्ने अवस्था छैन ।

‘अझै थप दुई शिक्षक चाहिन्छ, नगरपालिकाले एउटा दरबन्दी दिन्छु भनेको छ’ उहाँले भन्नुभयो, ‘दिवा खाजालगायतका कारण खर्च बढेको छ, अर्को वर्ष देखिने गरी केही नतिजा दिनुपर्छ ।’ त्यसकै लागि देवकोटाले पाँच सयभन्दा बढी पूर्व विद्यार्थीलाई सहयोग का लागि आग्रह गर्नुभएको छ । १४/१५ जनाले एक लाख रुपैयाँका दरले अक्षयकोष स्थापनाको प्रतिबद्धता जनाएका छन् ।प्रतिबद्धता अनुसारको सहयोग प्राप्त भए निजी स्रोतबाट जुटाउनु पर्ने मासिक १ लाख खर्च जुट्ने देवकोटाको आशा छ । डाक्टर लक्ष्मीप्रसाद देवकोटा सगरमाथा विद्यालयको पूर्व विद्यार्थीसँगै पूर्व शिक्षक पनि हुनुहुन्छ ।

वि.सं. २०३७ सालमा अमरज्योती जनता माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि चार महिना देवकोटाले सगरमाथा विद्यालयमा नै पढाउनुभएको रहेछ । चार महिना पढाउँदा तलबबाट बचेको एक हजार २५ रुपैयाँ बोकेर काठमाण्डौ पस्नुभएका देवकोटाले हाइड्रो लोजीमा विद्यावारिधी गर्नुभएको छ । सन् १९९७ मा जापानबाट पिएचडी सकेपछि चार वर्ष त्यहीँकै विभिन्न कलेजमा पढाउनुभएको देवकोटाले नेपाल फर्केपछि पनि धेरैजसो समय अध्यापनमै बिताउनुभयो । गाउँ फर्किनु अघिसम्म पनि पुल्चोक इञ्जिनियरिङ क्याम्पस र नेपाल इञ्जिनियरिङ क्याम्पसमा पढाउनुहुन्थ्यो ।

खानेपानी संस्थानको अध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य हुँदै चार वर्ष बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिको अध्यक्ष हुनुभएका देवकोटा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पनि हुनुहुन्छ । विभिन्न अनुसन्धानात्मक काम गर्ने गरी आफैंले खडा गरेको संस्थाको जिम्मेवारी चटक्कै छोडेर गाउँ फर्किनुभएका देवकोटा भाइ बहिनीहरुलाई विशेष गरी विज्ञान र सामाजिक शिक्षा विषय पढाउनुहुन्छ।क्याम्पसमा मास्टर्सका विद्यार्थी र यहाँका विद्यार्थीलाई पढाउँदा के फरक पाउनुभयो ?छुट्ने बेला हामीले सोधेको प्रश्नको एकै वाक्यमा उत्तर दिँदै देवकोटाले भन्नुभयो, ‘मलाई केटाकेटीहरुले निर्दोष तर गम्भीर प्रश्न पनि सोध्छन्, धेरैजसो प्रश्नको उत्तर नै हुँदैन ।’

स्कुलले एउटा गति नलिएसम्म पढाइरहने उहाँको योजना छ । त्यसका लागि केही वर्ष लागे पनि उहाँ गाउँ बस्न तयार देखिनुभयो । देवकोटालाई सहकर्मीका रुपमा पाउँदा विद्यालयका अरु शिक्षकहरु पनि उत्साहित छन्, अभिभावक त हुने नै भए । प्रधानाध्यापक रुद्र गिरीले भन्नुभयो, ‘देश विदेशमा ख्याती कमाएका विद्वानले नियमित रुपमा पढाइरहनुभएको छ, उहाँकै कारण स्कुलको रुप नै फेरियो ।’ तर देवकोटालाई लाग्छ, यो त सुरुवात मात्रै हो, अझै धेरै माथि पुग्न बाँकी छ ।

(Visited 20 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु