एनआरएनको विश्व सम्मेलनमा रमिता, राजनीतिक लुछाचुँडी (भिडियाे)


काठमाडौं । सार्क बाहेकका मुलुकमा रहेका नेपाली तथा नेपाली मुलका विदेशी नागरिक अटाउन सक्ने सञ्जाल हो– गैर आवासीय नेपाली संघ (एनआरएन) । मस्कोको प्रारम्भिक छलफलपछि सन् २००३ अर्थात् २०६० सालमा लण्डनमा भएको भेलाले संगठनको आवश्यकता महसुस गरेपछि एनआरएन जन्मिएको थियो ।

सन् २००३ मा काठमाडौंमा पहिलो सम्मेलन गरेको संघको दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नवौं सम्मेलन बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । अभियान सुरु भएको १० वर्षपछि २०७० सालमा यो संस्था दर्ता भएको थियो । गैर अवासीय नेपालीसम्बन्धी ऐन २०६४ ले २ वर्षभन्दा बढी विदेश बस्नेलाई एनआरएन मान्ने भएपनि एनआरएनकै विधानले भने विदेशमा १ सय ८३ दिन बसेकाले सदस्यता लिन पाउने व्यवस्था गरेको छ । संघको हाल ८१ देशमा शाखा छ ।

मुख्य उद्देश्य:
– नेपालको उन्नती नभइ नेपाल बाहिरका नेपालीको पनि प्रशिद्धि बढ्न नसक्ने भएकाले जन्मभूमिको विकासका लागि सबैले यथासक्य योगदान गर्ने ।
– विदेशमा रहेका नेपालीले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने ।
– विदेशी मुलुकमा नेपाली संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने, विदेशी प्रत्यक्ष लगानी नेपालभित्र आकर्षण गर्नका लागि उत्प्रेरकका रुपमा काम गर्ने ।

उद्देश्य जतिसुकै राम्रो भएपनि नेतृत्व सही नहुँदा संस्था कतिसम्म बद्नाम हुँदो रहेछ भन्ने गतिलो उदाहरण हो– गैर आवासीय नेपाली संघ । पत्यारिलो नेतृत्व हुँदा सुरुका केही वर्ष उत्साह जगाएको एनआरएन पछिल्ला वर्षमा बद्नाम बन्दै गएको छ । कारण हो–व्यक्तिगत र राजनीतिक स्वार्थ, अमर्यादित क्रियाकलाप र सम्मेलन स्थलमै गरिएको हुलहुज्जत र तोडफोड ।

राणमूमि बन्यो सम्मेलनस्थल

नेपाल र नेपालीको हितमा सक्रिय भनिएको एनआरएनएको नवौं सम्मेलन सुरु भएदेखि नै विवादमा फस्यो । हायात होटलको सम्मेलनस्थलमा नाराबाजी र गालीगलोज सामान्य भयो । विभिन्न देशमा पुगेर त्यहाँको सम्भयता र संस्कृति सिकेर आएका भनिएका एनआरएन तोडफोड र हुलदंगामै उत्रिए । सरकारको समेत लगानी रहेको सम्मेलनस्थल हायात होटलमा चुनावी प्रक्रियामा धाँधली भएको भन्दै तोडफोडमा उत्रिएपछि कयौं कुर्सी भाँचियो ।

सुरक्षाकर्मीले बल नै प्रयोग गर्नुप¥यो । त्यसअघि प्रतिनिधिले मतदान सुरु नभएको भन्दै नाराबाजी र तोडफोड गरे । आक्रोशित समुहले मतदानस्थल बहिरका केही टेबल र कुर्सी फुटाए । मतदान स्थगित भएपछि पुनः नाराबाजी भयो । विदेशमा बस्ने नेपालीले त्यहाँको उदाहरण दिँदै नेपालभित्रको बेथिति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा गुनासो र आक्रोश व्यक्त गरिरहन्छन् । तर, उनीहरु आफैंले चाहिँ विदेशमा बसेर के सिके त ? यसपालिको गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं विश्व सम्मेलनका क्रममा आएका प्रतिनिधिले देखाएको तमासा हेर्दा लाजमर्दो स्थिति देखियो ।

राजनीतिक रस्साकस्सी, प्यानलगत उम्मेद्वारी

उम्मेद्वार र प्रतिनिधिको राजनीतिक अस्था हुनु स्वभाविक भएपनि नवौं सम्मेलनमा आएर एनआरएन राजनीतिक कित्ताकाटको शिकार बन्यो । र, त्यसैले निम्त्यायो– सम्मेलन स्थलमा गालीगलौज, नाराबाजी र तोडफोड । चरम राजनीतिकरण भएको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोले उद्घाटन सत्र बहिस्कार गर्नुको पुष्ट्याई राजनीतिक रुपमा बनेका प्यानलले ग¥यो ।

दुवै समूहमा केही उम्मेद्वार फरक राजनीतिक आस्थाका भएपनि नेकपा र कांग्रेसबीचको शक्ति संघर्षको केन्द्रमा रह्यो निर्वाचन । अध्यक्षका एक दाबेदार कुमार पन्तलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहँदा कूल आचार्यलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साथ दियो । तर, अध्यक्षका दुवै उम्मेद्वार आफूहरुलाई दलीय आशीर्वाद नरहेको दावी गर्छन् ।

अध्यक्षका दुई उम्मेदवारलाई दुई ठूला दलको आर्शीवाद प्राप्त भएपछि गोप्य कोठामा नेताले चुनावी रणनीति बनाए भने पार्टी कार्यकर्ताले नै मैदानमा प्रचार–प्रचार नेतृत्व गरे । एउटा पक्षको नाराबाजी र जुलुस नसकिँदै अर्को पक्षले झन् चर्को स्वरमा नाराबाजी गरे । सम्मेलनस्थलले स्ववियू निर्वाचनकै झल्को दियो ।

विदेशमा बस्ने नेपालीले त्यहाँको उदाहरण दिँदै नेपालभित्रको बेथिति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा गुनासो र आक्रोश व्यक्त गरिरहन्छन् । तर, उनीहरु आफैंले चाहिँ विदेशमा बसेर के सिके त ? यसपालिको गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलनका क्रममा आएका प्रतिनिधिले देखाएको तमासाले प्रश्न उठाएको छ ।

‘सभ्य’ ठानिने एनआरएनको सम्मेलन स्थालको अराजकताले नेपालीलाई नै दुःखी बनायो । जसप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । व्यवस्थापनको भद्रगोलमा राजनीतिक स्वार्थसमेत प्रवेश गर्दा कुनै पनि संस्था कतिसम्म घरासायी र बद्नाम हुँदो रहेछ भन्ने उदाहरण बनेको एनआरएका सदस्यको उच्छृङ्खल गतिविधि विमानस्थलबाटै सुरु भएको थियो ।

अराजकताको सुरुवात विमानस्थलबाटै
एनआरएनले काठमाडौं उत्रिने बित्तिकै तोडफोड र अराजक व्यवहार देखाउन थालेका थिए । अस्ट्रेलियाबाट सम्मेलनमा भाग लिन आएका रमेश थापाले आइतवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तोडफोड गरे । थापालाई एक दिन प्रहरी हिरासत र एक दिन अध्यागमन विभागको हिरासतमा राखेर ५० हजार धरौटीमा छोडियो ।

थपासँगै अष्ट्रेलियाबाट नेपाल आएकी एक महिलालाई २५ हजार जरिवाना गराइयो । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अधिकृत दीर्घनारायण पौडेलले सोमबार निकालेको विज्ञप्तिमा नेपाली नागरिकता त्यागेका विदेशीले पटक पटक अराजक व्यवहार दोहो¥याएको दाबी गरेका छन् । ‘नेपाली मूलका विदेशी नागरिकबाट पटक पटक अध्यागमन कार्यालयका कर्मचारीसँग अभद्र व्यवहार हुने गरेकोमा अब उप्रान्त यस्ता किसिमका व्यवहार नहोस् भन्ने अनुरोध गर्न चाहन्छौं, पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमै ‘नेपाली पारा’
एनआरएनको ‘नेपाली पारा’ असोज २७ गते बालुवाटारस्थित सचिवालय भवनमा आयोजित पत्रकार सम्मेलनमा पनि देखिएको थियो । पत्रकार सम्मेलन अव्यवस्थित र भद्रगोल मात्र थिएन अध्ययक्षसहितका बहुमत पदाधिकारी नै अनुपस्थित थिए । पत्रकारको कुर्सी एनआरएन प्रतिनिधिले ओगटेका थिए । प्रश्न पनि उनीहरुले नै धेरै सोधे । पत्रकारहरुको अगाडि आफ्नै नेतृत्वको आलोचना गरे ।

पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट टुप्लुक्क आइपुगे । आफूलाई नराखी किन पत्रकार सम्मेलन गरेको भन्दै जंगिए । अनि पुनः पत्रकार सम्मेलन दोहो¥याए । तर, उनको पत्रकार सम्मेलनमा ४–५ जना पत्रकार मात्र थिए । भित्र पत्रकार सम्मेलन चलिरहँदा बाहिर केही युवती ‘फलानोलाई भोट दिनुस्’ भन्दै पर्चा बाढिरहेका थिए । जतिसुकै फाँइफुट्टी लगाए पनि समयसहित समग्र व्यवस्थापनमा चुक्दा नवौं सम्मेलनमा आएर एनआरएन अहिलेसम्मकै धेरै बद्नाम भएको छ ।

१५ करोड ऋणको भारी

विदेशबाट नेपालमा लगानी भित्र्याउने दाबी गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आफैंले अहिले करिब १५ करोड रुपैयाँ ऋणको भारी बोकिरहेको छ । भलै, १२ करोड रुपैयाँ उठ्न बाँकी छ । केन्द्रीय पदाधिकारीले संघलाई ऋणस्वरूप सापटी रकम दिएर चलाइरहेका छन् । चुनावी प्रक्रिया चलिरहँदा करोडौं रकमको खोलो बग्यो । तर, संस्था भने आन्तरिकरुपमा खोक्रो छ । सन् २०१३ देखि २०१७ सम्म शेष घलेका दुई कार्यकालमा संघमा १ अर्बभन्दा धेरै स्रोत विकास भएको थियो ।

घलेले दुई बर्षअघि नेतृत्व हस्तान्तरण गर्दा पनि ५० करोड भन्दा धेरै रकम संघको खातामा थियो । तर, २०१७ र २०१९ मा भवन भट्टको कार्यकाल सकिँदै गर्दा संस्थालाई झन्डै १५ करोड रुपैयाँ ऋण भार थोपरिएको छ । अहिले काठमाडौंमा भइरहेको सम्मेलनमा रात्रीभोजदेखि अन्य खर्चसम्म नेपाल सरकारको चन्दाबाट धानिएको छ । देशलाई केही दिने भनेर स्थापित संस्था नेपाली जनताको करबाट उठेको रकमबाट सम्मेलन र भोजभतेर गर्नुपर्ने अवस्थामा आइपुगेको छ ।

व्यवस्थापन र व्यवहारमा एनआरएनले अनेकौं गल्ती गरेको छ । हरेक संस्थामा स्वार्थी समूह सलबलाउँदा विकृति बढ्छन् । केही उद्दण्ड सहभागीले अमर्यादित व्यवहार देखाउँदा संस्था नै बद्नाम हुन्छ । एनआरएनको हकमा पनि भएको यही हो । समयतालिका अनुसार गतिविधि सञ्चालन नहुँदा सम्मेलनका सहभागीमा असन्तुष्टि देखिएको र केही उत्तेजित बनेको सत्य हो । यति हुँदैमा संस्थाको औचित्यमै प्रश्न उठाउनु हतार भएपनि ८१ देशसम्म फैलिएको यति ठूलो नेटवर्कलाई सच्याएर अगाडि बढाउनु पर्छ ।

सम्मेलनमा भएका केही अप्रिय घटनालाई लिएर एनआरएनएको आलोचना भइरहेको छ । दसैं मान्न आएका नेपालीले उधुम मच्चाए, नेपाली सभ्यता र संस्कृति नै बद्नाम गरे, अब यस्तो सम्मेलन नेपालमा गर्न दिनै हुँदैन, के–के न गर्छौ भन्ने एनआरएनको पारा पनि देखियोजस्ता टिप्पणी जनस्तर र सामाजिक सञ्जालमा ब्याप्त छ । यस्ता टिप्पणीको व्यवहारिक पक्ष र भएका कमीकमजोरीप्रति विदा हुँदै गरेको नेतृत्वले जवाफ दिन आवश्यक छ भने आउँदो नेतृत्वले एनआरएनलाई मर्यादित र पारदर्शी बनाउने प्रतिवद्धता जनाउनु पर्ने छ ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु