प्रधानमन्त्रीकाे दशैँ शुभकामना सन्देश- बढी खर्चालु नबनाैं, तडक भडक देखाउने प्रवृत्ति हटाऔं

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : October 23rd, 2019,

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएकाे छ । एक शुभकामना सन्देश जारी गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भन्नु भएको छ ।

‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर हामी अहिले समृद्धिको यात्रामा छौँ । यस यात्रामा समृद्धिसँगसँगै समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ। ‘जारी सन्देशमा उल्लेख गर्नु भएकाे छ । दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो भन्दै उहाँले आफन्त र छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड बडादशैँलाई सकेसम्म भव्यताका साथ मनाउन पनि जोड दिनुभएको छ । बडादशैँ भव्यतासाथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलन तोड्दै जानु पनि आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘दशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान दिनुपर्छ ।

यस चाडले परिवार, छिमेक, आफन्तमा स्नेह, मायाममता र सद्भाव फैलियोस् । ‘ प्रधानमन्त्री ओलीले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा बडादशैँले जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यसरी नै योगदान दिँदै जान सकोस् भन्नुभएको छ। चाडहरू बढी खर्चालु नहोऊन्, हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन सकौँ भन्दै उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु