मुलुकमा फेरि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कनु दुःखद : पूर्व राजा शाह


काठमाडौं, १८ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा फेरि पनि व्रिदोहको भुसको आगो भित्र–भित्रै सल्किदै जानु दुःखद पक्ष भएको बताउनु भएको छ । उहाँले व्रिदोहको भुसको आगो सल्किदै जानुले कसैको पनि हित नगर्ने तर्फ ध्यानाकर्षण गराउँदै निषेध र विभेदको शैली नअपनाउन सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

विजया दशमी २०७६ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले मुलुकमा राष्ट्रियता धर्मराएको र अमनचैन हराएकोप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै ‘राष्ट्रिय आदर्श’ बमोजिम समझदारीका साथ अटुट् प्रयत्न गर्ने तर्फ ढिलाई गर्न नहुनेतर्फ पनि सबैलाई सजग गराउनु भएको छ ।

शुभकामना सन्देशमा अगाडि भनिभएको छ ‘राष्ट्रका यावत विधि विधान, व्यवस्था र बन्दोबस्त सर्ब हितकारी हुनुपर्दछ, अनि त्यो सर्बग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि हाम्रो भलो हुदैन, एकले अर्काकाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आफनो कमी कमजोरीलाई ढाकछोप गरी निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृति कुनै पनि अर्थमा राम्रो होइन ।’

आम नेपालीका उदेश्य देशको उन्नति बाहेक अन्य केही हुन नहुने उल्लेख गर्दै पूर्व राजा शाहले भगवानको आर्शीवादले नेपाल आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्ने उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ ‘नेपाल हाम्रो हो, हामी नेपाली हौ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’

(Visited 22 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु