दशैको मुखमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको घटनास्थलमै निधन, श्रीमान घाइते


हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । निधन हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै निधन भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन् । हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन् । ठक्करबाट दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो पनि पढ्नुहोस : द्वन्द्वमा चार छोरा गुमाएकी दर्नाललाई सहयोग

दुई फरक द्वन्द्वमा आफ्ना चार छोरा गुमाएर पनि बेवास्तामा परेकी र सुकुम्बासी बस्तीमा बस्न बाध्य बेपत्ताकी आमा भनेर चिनिने हेटौँडाकी शुभद्रामाया दर्नाललाई दशैँका अवसरमा हेटौँडा उपमहानगरपालिकाले खाद्य सामग्री, लताकपडा तथा आर्थिक सहयोग प्रदान गरेको छ । हेटौँडा–९ की सुभद्राको घरमा छोरा गुमाउँदाको पीडा त छँदैछ, खान लगाउन धौधौले पनि कहिलै छोडेन । सुभद्राका धेरै चाड पर्व समस्यामै बिते । घरमा बिहान बेलुकाको छाक टार्न धौधौ । त्यसमा पनि थुप्रै रोगले थलिएको वृद्ध शरीर ।
आज एक्कासि उपमहानगरपालिका प्रमुख हरिबहादुर महत दशैँका लागि सामान बोकेर घरमा पुग्दा उहाँका आँखा रसाए । झुप्रो घरमा बस्दै आउनुभएकी सुभद्रालाई उपमहानगर प्रमुख महतले खाद्यान्नका सामान, दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नून, मसलालगायतका सामान हस्तान्तरण गर्नुभयो ।

दशैँमा लगाउनका लागि सुभद्रा र उहाँका नातिनीलाई कपडा र दशैँ तथा तिहार मान्नका लागि नगद रकमसमेत प्रमुख महतले हस्तान्तरण गर्नुभयो । छोरा गुमाए पनि वर्षौंदेखि उहाँलाई धेरै खालका अभाव नै अभाव थियो तर आज स्थानीय सरकारको रूपमा रहेको उपमहानगरले आफ्नै घरमा आएर सहयोग गरेकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

अलपत्र परेका तथा विभिन्न कारणले समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको उपमहानगरपालिकाले माओवादी जनयुद्ध र २०४६ सालको जनआन्दोलन गरी नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्ना चार छोरा गुमाउन पुगेकी ७० वर्षीया सुभद्रालाई सहयोग गरेको हो ।

आफ्नी १८ वर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्बासी बस्तीमा बस्दै आउनुभएकी सुभद्रालाई महतले उपमहानगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको व्यवस्था मिलाइने प्रतिबद्धतासमेत जनाउनुभयोे । यिनै आमाजस्ता छोराहरुकै बलिदानीमा आफू स्थानीय सरकारको प्रमुख भएका कारण शहीद परिवारका बलिदानीको आफूहरुले उपेक्षा गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँले आमा सुभद्राको बस्ने, खानेसहित औषधि उपचारको समेत व्यवस्था आफूले गरिदिने र नातिनीका लागि जीविकोपार्जनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो घरमा आजसम्म कोही नेता नआएको र उपमहानगर प्रमुख आएर आफ्नो पीडा सुनिदिएको भन्दै सुभद्राले खुशी व्यक्त गर्नुभयो । उहाँको पति नेत्रबहादुर दर्नालको पनि करीब एक दशक अगाडि ८० वर्षको उमेरमा निधन भइसकेको छ । उहाँका पाँच छोरामध्ये साहिँला छोरा एउटाको मात्र कालगतिले निधन भएको थियो । जेठो काजीबहादुर र माइलो झक्तबहादुरलाई ४६ सालको जनआन्दोलनमा लागेका कारण बेपत्ता पारिएको र माओवादी जनयुद्धमा लागेका कारण काइँलो अमृत र कान्छो उद्धवलाई बेपत्ता पारिएको वृद्धा दर्नालले जानकारी दिनुभयो ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु