दशैँमा मासु खानुअगाडी यी कुरामा ध्यान दिनुहोस्

Loading...
इमेची संवाददाता | प्रकाशित भएको : October 2nd, 2019

नेपालीहरुको महान चाड दसैँ नजिकिदै जॉदा मासुको कुरा पनि आइहाल्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ ।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन उनले भने । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउँछन् । उनले भने,‘दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने अपनाउनुपर्छ । ’क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उनको सल्लाह छ ।

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई भने दसैँमा खानै पर्छ भनी खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिनुहुन्छ । बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ । उनले एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह दिनुभयो ।

वरिष्ठ पोषणविद् डा अरुणा उप्रेती दसैँमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । उनले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन आग्रह गरिन् । ‘मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ उनले भनिन् ।

रातो मासु खाने यी हुन् सही तरीका

दशैंमा रातो मासुको खपत बढी हुने गर्छ । विशेषगरी, खसी, बोका, भेडा र च्यांग्राको मासु दशैंमा अन्य बेलाको तुलनामा ८० प्रतिशतसम्म बढी खपत हुन्छ ।रातो मासुको अत्यधिक सेवनले तौल बढ्नुका साथै बोसो लाग्ने गर्छ । त्यसबाट बच्न सही तरीका अपनाउनु जरुरी छ ।

बोसोरहित मासु

प्रोटिनको मुख्य आधार मानिने रातो मासुमा बोसोको मात्रा अधिक हुन्छ । यस्ता मासु मनपरि तरीकाले सेवन गर्दा तौल बढ्छ । त्यसका लागि मासु काट्दै ध्यान दिनुपर्छ ।सकेसम्म बोसो तथा छालारहित मासु छनोट गर्नुपर्छ । छातिको मासुमा बोसो कम हुन्छ ।

क्यालोरी घटाऊँ

बिनाडाइटिङ शरीरको तौल घटाउने अर्को उपाय भनेको क्यालोरीयुक्त खानेकुरा कम गर्नु हो ।एक अध्ययनका अनुसार एउटा मानिसले दिनमा आफूले लिने पाँच सय क्यालोरी कम गर्दा सातामा करिब एक पाउन्ड घटाउन सकिन्छ ।

पौष्टिक आहारमा सन्तुलन

शरीरको अतिरिक्त तौल कम गर्न पौष्टिक आहारमा सन्तुलन आवश्यक छ । त्यसका लागि भिटामिन, मिनरल्सलाई सन्तुलित ढंगले ग्रहण गर्नुपर्छ ।अमेरिकी कृषि विभागका अनुसार रातो मासु सेवन गर्ने मानिसले तौल बढ्न नदिन प्रशस्त मात्रामा दूध, दही, प्रोटिन, फलफूल, सागसब्जी र अनाज सेवन गर्नु जरुरी छ ।बोसोरहित मासुका साथमा पोषकतत्वको दैनिक सेवनले कोलेस्ट्रोलको उतारचढावलाई नियन्त्रणमा मद्दत पुग्छ ।

मासु पकाउने विधि

मासु पकाउँदा त्यसको विधिबारे ध्यान दिन पनि उत्तिकै आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले मासुमा भएको सबै बोसो हटाउनुपर्छ ।सकेसम्म गि्रल गरेको र उसिनेको मासुको सेवन उत्तम हुन्छ । यदि तपाईं तारेको वा पोलेको मासु खान चाहनुहुन्छ भने पनि त्यसमा भएको बोसो तथा चिल्लोपनालाई हटाउनु आवश्यक हुन्छ ।

थाहा पाउनुहोस् मासु खाँदा कति फाइदा कति बेफाइदा ?

धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स :

यस्ता मासु स्वस्थकर

मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्‍याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ ।

मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ।

कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।

नखानुस् यसरी

बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ ।शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ । त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ । डिनरमा भने मासु नखाएकै राम्रो ।

किनभने डिनरमा मासु खाँदा अपच, मोटोपनलगायतका समस्या आउन सक्छ ।पकाएको मासुलाई कहिल्यै पनि फ्रिजमा राख्नुहुँदैन । पकाएर फ्रिजमा राखेको मासुमा पौष्टिक तत्व हुँदैन ।

मासु खाएपछि

मासु खाएपछि शरीरलाई व्यायाम वा शारीरिक क्रियाकलापको अवश्यकता हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु