किरिया बस्दा पनि छैन खान, कोरामा बसेकै बेला चामल पैंचो माग्न छिमेकीको घर


पाल्पा : वरिपरी जंगल र झाडीसहितको खोल्साखाल्सी, त्यसको बीचमा बाँझिदै गरेका पाखोबारी। त्यहि बारीको बीचमा एउटा सानो पुराना जस्तापाता तेर्साएको छाप्रो। जहाँ पुग्न राम्रो गोरेटो बाटो समेत छैन्।

घरको छेउमै ठ्ड्एिको बिजुलीको पोल अनि बत्ति मुनीको अध्यारो। त्यहि हो स्याङ्जाको गल्याङ नगरपालिका–९ साङ्लीयाको देवलडाँडाका बुटे दमाइ भनिने भीमबहादुर दमाइको घर। उनका ५ छोरी र एक छोरा। अनि श्रीमति मनमायाँ। हलो जुवा बनाएर बिक्री गर्ने उनलाई कालले पनि अकालमै लग्यो।

छिमेकीको घरमा हलो जोत्नुका साथै ढुंगा मुढाको काम गरेर भिमबहादुरले ७ जनाको परिवार पाल्दै आएका थिए। बुटा अर्थात् रुख काटेर हलो जुवा बनाउने भएकोले उनलाई बुटे दमाइ भनिएको हो। पराइ घरमा समेत राम्रोसँग लाउने खाने अवस्था नभएपछि ती छोरीहरु पनि नातिनातिनासहित प्रायः माइतीघरमा नै सहारा लिदै आएका छन्। छोरा मुकेशले पनि तीन महिना अघि बिहे गरेर श्रीमती घरमा ल्याएका छन्।

यहि असोज २ गते ६४ वर्षीया मनमायाँ दमाई जंगलमा दाउरा खोज्न गएकी थिइन्। श्रीमान् भिमबहादुर घरमा गाइगोरुलाई कुँडो खुवाउने र गोबर सोहर्ने काम गर्छु भनेका थिए। उता उनका छोरा २१ वर्षीय मुकेश परियार जागिर खोज्दै बुटवल बजारमा भौतारिरहेका थिए। आर्थिक अभावले कक्षा ७ भन्दा माथि अध्ययन गर्न नपाएका उनी फर्निचरमा काम गर्ने कुरा चलिरहेको थियो। घरमा अरु कोही थिएनन्। दिउँसो पख दाउराको भारी बोकेर घरमा आएकी मनमायाले श्रीमान् भीमबहादुर गोरु बस्ने थरिमै पल्टिएको अवस्थामा देखिन्। उनले पटक–पटक श्रीमानलाई बोलाइन् तर बोलेनन्। पानी खुवाउन खोजिन् पानी पनि खाएनन्। त्यसपछि उनले घरभन्दा टाढा रहेका छिमेकीलाई गुहारिन्। छिमेकी आउँदा पनि भीमबहादुरको अवस्था उस्तै थियो।

घरमा काम गर्छु भनेर बसेका भिमबहादुरले गाइगोरु बस्ने ठाउँ चिटिक्क सफा गरेका थिए। अनि त्यहि ठाउँमा भिमबहादुरले संसार छाडे। गोरुले लात्तीले हानेको हुन सक्छ छिमेकी बमबहादुर सारु मगरले भने। घरभन्दा टाढाका छिमेकी जुटेर भिमबहादुरको दाहासँस्कार गरे। मनमायाँ श्रीमानको सम्झनामा किरियामा बसिन्। स‌ंस्कार अनुसार पहिलो दिन काँचो केरा खाइन्। अर्को दिन भात खानको लागि भने घरभित्र चामल थिएन्। घरखर्च चलाउदै आएका श्रीमानको मृ’त्यु भएपछि मनमायाँ समस्यामा परेकी थिइन्।

घरमा खानेकुरा नभएपछि सेता कोरा पहिरिएर किरियामा बसेकी मनमायाँ चामल पैंचो माग्न घरभन्दा टाढा छिमेकीको घरमा पुगिन्। देख्ने मान्छे आश्चर्यमा परे। ऋण दिन साहुले पत्याएनन्, म काजकिरियाबाट निस्किएपछि मेलो गरेर फिर्ता गरम्ला भन्दै एक पाथी चामल दिन आग्रह गरिन्। छिमेकी बमबहादुर सारुले एक पाथी र अरुले मानाको दरले चामल दिए, पुगनपुग दुइपाथी चामल लिएर आफू घरमा आएको मनमायाले सुनाइन्। घरमा मलाई कुरेर बसेका छोरीहरु र नातीनातीनाले मकै भुटेर खाएका थिए। पछि त्यहि चामलको भात खाउ भने। आधापेट खाएर जेनतेन ६ दिन गुजारेको उनले बताइन्। सात दिनका दिन गल्याङ नगरपालिकाले चामल, दाल, प्याज, तेल घरमै ल्याएर दियो गहभरी आँशु लिएकी मनमायाले लामो सास फेर्दै भनिन्। त्यसपछि पेटभरी खाने मौका मिलेको छ।

(Visited 14 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु