बागलुङको कालिका भगवती मन्दिरमा दशैं लागेसँगै रौनक सुरु


बागलुङ । बागलुङको कालिका भगवती मन्दिरमा दशैं लागेसँगै रौनक बढेको छ । एक सय पर्यटकीय गन्तव्य क्षेत्रमा परेको यो मन्दिरको सम्वद्र्धनमा तीन वटै सरकारले बजेट विनियोजन गरेका छन् । तर, पनि सडक निर्माण हुन नसक्दा बाहिरबाट पर्यटक आउन समस्या रहेको छ ।

कालिका भगवती मन्दिर धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनिन थालेको छ । धौलागिरीसँगै पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवन लगायतका क्षेत्रबाट आउने भक्तजनको घुँइचो लाग्ने गर्दछ । दशैं सुरु भएसँगै यहाँको रौनक समेत बढेको छ । तर, सडक सुधार हुन नसक्दा मन्दिरसम्म पुग्न पर्यटकले सास्ती व्यहोर्नुपरेको छ । यहाँको पर्यटन प्रवद्र्धनका लागि संघीय सरकारले एक करोड रुपैयाँ छुट्याएको छ भने प्रदेश सरकारबाट ५० लाख रुपैँया बिनियोजन गरिएको छ ।

पर्यटन मात्र होइन, धार्मिक आस्था र विश्वास समेत रहेको छ । आफ्नो मनोकामना पुरा हुने विश्वासमा विभिन्न स्थानबाट भाकल गर्ने भक्तजनले कुखुरा, राँगा, बोका, परेवा आदि बलि चढाउने गर्छन् । मन्दिरमा एकादशी, औंशी र श्रावण तथा माघ महिनामा भने बलि चढाउन निषेध गरिएको छ ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले कालिका मन्दिरमा पनि घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरेर जमरा राखिन्छ । दशैं अवधिभरी छिमेकी मुलुक भारतबाट समेत सन्यासी जोगीहरु आउने गर्छन । यस्तै दशैँ सुरु भएसंगै मन्दिर परिसरका होटलहरु पनि भरिभराउ भएका छन् । तर निर्माणाधिन बागलुङ–पोखरा राजमार्गको सडक हिलाम्मे तथा समय समयमा अवरुद्ध हुने समस्या रहेको छ ।

सोह्रौं शताब्दीमा पाल्पाका राजा मणीमुकुन्द सेनले आफ्नी छोरीलाई पर्वतका राजा प्रतापी नारायण मल्लसंग विवाह गराएर देवीको मूर्ति दाइजो दिएको भन्ने कथन रहेको छ । मन्दिर सार्न खोजिएपनि हाल रहेको स्थानबाट मूर्ति नसरेपछि यही स्थानमा प्रतिस्थापन गरिएको भनाइ रहेको छ ।

बागलुङ जिल्ला छिचोलेर जाने मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भएपछि यस जिल्लाको पर्यटन प्रबद्र्धन हुने विश्वास गरिएको छ ।

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु