नवरात्रको पहिलो दिन घटस्थापना कसरी मनाउने ? यस्तो छ महत्व


नेपालीहरुको मूल पर्व विजयादशमीको पहिलो दिन घटस्थापना आज घरघरमा जमरा राख्ने तथा घटको स्थापना गरेर मनाईंदैछ । सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो । घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ । यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवं महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ । नवरात्रिको समयमा ब्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत गर्ने गरिएको छ । यो घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ ।

घटस्थापना गरिसकेपछि कलशको मध्यमा स्थापित नवदूर्गामध्येकी पहिली देवी शैलपुत्रीको पूजा गर्ने गरिन्छ । शैलपुत्री हिमालयकी पुत्री पार्वतीको अर्को नाम हो । वृषभ वाहन भएको कारणले नै यी देवीलाई वृषरुढा नामले समेत चिन्ने गरिएको छ । शैलपुत्री दूर्गाको पहिलो रुप भएकोले पनि नवरात्रमा उनको पहिलो दिन घटस्थापनलगत्तै पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको पूजा विधि

घटस्थापनाको दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा माटो ल्याई पूजाकोठामा विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

वैदिक विधिद्वारा हुने पूजामा जौलाई अनिवार्य अन्नको रुपमा मान्ने गरिएको छ । जमरा राखिएको पात्रमा गहुँ तथा जौको अंकुरणसँगै घरमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । आयुर्वेद शास्त्र अनुसार जौको जमरालाई महाऔषधि मानिएको छ ।

यसरी जमरा राखिएको स्थान नजिकै पूर्णजल युक्त घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति स्थापना गर्ने गरिन्छ । जसमा नवरात्र भरी नै पूजाआजा गर्ने गरिन्छ । त्यसपछि पूर्ण जलयुक्त कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ ।

हाम्रो धार्मिक मान्यता अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, नदीनाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।

यसरी राखिएको जमरामा हरेक दिन विहान पहिले आफू शुद्ध भएर जमरामा पानी राख्ने गरिन्छ । कलश स्थापित गर्ने ठाउँ मुनी विधिपूर्वक स्वस्तिक चिह्न बनाएर कलश स्थापना गरिन्छ । साथमा घटस्थापना गरेर कलशमा सुपारी फलफूल, दुबो आदि राख्ने गरिन्छ । कलशमा पञ्चरत्न र सिक्काहरु सहित पाँच प्रकारको पत्ताहरु समेत राख्ने गरिन्छ । यसरी राखिएको पातहरु केही बाहिर निस्किएको आकारमा हुनु पर्दछ भने बाहिर निस्किएको पातले कलशलाई छोपेको हुनु पर्दछ ।

यसरी कलशमाथि अक्षताबाट अष्टदल बनाएर त्यसमुनी पानीले भरेको कलश राख्ने गरिन्छ । त्यसमा आँप पिपलको पात राखेर दीप प्रज्वलित गर्दै ईष्टदेवको ध्यान गर्नुपर्दछ । त्यसपछि पहिलो दिन देवी शैलपुत्रीको मन्त्रद्वारा जप गर्ने गरिन्छ ।

यसरी कलशलाई छोपिएको पातको बिर्कोलाई अक्षता अर्थात् चामलले भरिदिने गरिन्छ । त्यसमा एउटा रातो कपडाले बेरिएको नरिवल राखिन्छ । यसरी राखिएको नरिवलको मुख अर्थात् भेट्नाको भाग पूजा गर्ने व्यक्तिको तर्फ भएमा शत्रु बढ्छ भन्ने मान्यता छ । त्यो मुख पूर्वतर्फ भयोभने धननष्ट हुन्छ भन्ने विश्वास छ । त्यसपछि एकपटक सम्पूर्ण देवी देवतालाई विशेष मन्त्रहरुद्वारा आह्वान गर्ने गरिन्छ ।

यसरी कलशको सामु गहुँ र जौको माटोको पात्रमा रोप्ने गरिन्छ । सोही अंकुरित जौलाई पनि नवदूर्गाको स्वरुप मानेर पूजा गर्ने गरिन्छ । हरेक दिन यसरी गरिने जौयुक्त पात्रलाई घामले नदेख्ने ठाउँमा राख्ने गरिन्छ । घाम नदेखिएको यो जमरा विजयादशमीको दिन रातो टीकासँग मिसाएर लगाउने गरिन्छ भने टीकाको पाँचौं दिन पूर्णिमाको दिन यसको विसर्जन गर्ने गरिन्छ ।

(Visited 86 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु