‘महिनावारीको कथा’ महिलालाई तर्सा’उन बुनिएका काल्पनिक हुन्ः केकी


महिनावारीका कुरा: फागु पूर्णिमाको भोलिपल्ट । अघिल्लो दिन खेलिएको होलीको रङ जताततै छरिएको थियो। रातो अबिरले घरका सबै कोठाका भुइँ रंगीन भएका थिए।झट्ट हेर्दा आकर्षक लाग्ने त्यो दृश्य अभिनेत्री केकी अधिकारीलाई भने डर लाग्दो बन्यो। बिहान उठेर बाथरूम छिरेकी केकीको मष्तिस्कमा रातो रङले कुनै रमणीय क्षणको संकेत गरेको थिएन। हिजोसम्म त्यही अबिरसँग होली खेलेकी उनलाई त्यो दिन भने रातो रङले त्रास उत्पन्न गरायो। त्यो डर उनको शरीरबाट आएको रातो रगतले उत्पन्न भएको थियो। केकी पहिलोपटक महिनावारी भएकी थिइन्।

१८ वर्षअघिको त्यो क्षण सम्झँदा केकीको मन आज पनि सिरिङ्ग हुन्छ। त्यो बेला भखर्रै १३ वर्ष टेकेकी केकी महिनावारीबारे अपरिचित थिइन्। उनले बाथरूममा लत्पतिएको होलीको अबिर र आफ्नो शरीरबाट आएको रातो रगतमा फरक छुट्टाउन सकिनन्। उनका निम्ति त्यो कुनै ‘भूत फिल्म’को दृश्य जस्तै भयो।

आमाबुबा दुवै शिक्षक भए पनि केकीलाई महिनावारीबारे केही ज्ञान थिएन। छोरी सानै भएकीले उनीहरूले कहिल्यै महिनावारीको ज्ञान दिनुपर्छ भनेर पनि सोचेनन्। त्यसै कारण केकीलाई महिनावारी बुझ्न आफ्नै महिनावारी कुर्नु पर्यो। समस्या यतिमै सीमित रहेन। पहिलो पटक महिनावारी भएको थाहा पाउँदा तर्सिएकी केकीलाई पछिका दिनहरूले झनै त्रसित बनाए। पढे-लेखेको परिवारमा हुर्के पनि उनी अध्याँरो कोठामा लुकेर बस्नुपर्ने नियममा बाँधिइन्। ‘आमाबुबा अध्यापक भए पनि सामाजिक सोचको बन्धकीमा पर्नु भएको थियो,’ केकी भन्छिन्, ‘नचाहँदा नचाहँदै उहाँहरूले मलाई अँध्यारो कोठामा लुकाएर राख्न बाध्य हुनुहुन्थ्यो।’

धन्न, केकीले अन्य केटीले झैं पन्ध्र दिन लुकेर बस्नु परेन। परीक्षा नजिकिएका कारण सात दिनमै मुक्ति पाइन्। तर भाइ, बुबा र केटा मान्छेलाई हेर्न नपाउने त्यो सात दिन पनि उनका लागि अत्यास लाग्दो भइसकेको थियो। घरमा ‘बार्नु’ पर्ने हुँदा केकीको विगतका महिनावारी पनि सजिला भएनन्। हरेक महिना चार दिन भान्साकोठा छिर्न नहुने, दाजुभाइ र बुबालाई छुन नहुने, मठमन्दिर जान नुहने र बोटबिरुवा समेत छोइएला भन्दै डराउनुपर्ने ‘नियम’ झन्झटिला बन्न थाले।

यी सबै कुरिति आफैंमा लादिएको भए पनि उनले त्यसको विरोधमा आवाज उठाउन सकिनन्। महिनावारीका कठिनाइ तब मात्र अलि कम हुन थाले जब केकीको परिवारमा कामको व्यस्तता बढ्यो। आमाबुबा काममा व्यस्त हुने भएकाले उनले भान्साकोठा छिर्न नपाउने नियमबाट छुट्कारा पाइन्। तर, समाजले उनको मनमा बसाइ दिएको ‘डर’ले गर्दा केकी आज पनि महिनावारी हुँदा मन्दिर जान सक्दिनन्।

केकीको त्यो डर झनै बढ्दै गयो जब उनले महिनावारी भएकै कारण कार्यक्षेत्रमा नै वचन खानु पर्यो। उनलाई आज पनि त्यो दिन छर्लङ्गै याद छ। ‘सुटिङका क्रममा क्यामरा चलेन। क्यामरा बिग्रिएको थाहा पाएपछि टिमकै सदस्यबाट ‘कसले छोइछाइ गरेछ’ भन्ने आवाज आयो’, केकीले भनिन्, ‘हाम्रो टिममा मबाहेक एक जना मात्र महिला सहकर्मी हुनुहुन्थ्यो। त्यो वचन हामी दुईलाई थियो।’

केकी त्यति बेला केही बोलिनन्। आठ वर्ष अगाडिको यो घटनामा महिनावारीबारे खुलेर बोल्न सक्ने वातावरण पनि थिएन। चलचित्र क्षेत्रमा आफू नयाँ भएकाले पनि आवाज उठाउन सक्ने हिम्मत नभएको उनी बताउँछिन्।

सानैदेखि सामाजिक बन्धनमा बाँधिएकी केकीले महिनावारीमा शारीरिक पीडाभन्दा मानसिक तनाव धेरै सहनु पर्यो। सुटिङ क्रममा महिलामाथि हुने भेदभाव, गुणस्तरीय शौचालय र सफा पानी अभाव जस्ता समस्याले उनलाई महिनावारी हुनु ‘पाप भोगेको’ जस्तो महशुस हुन्थ्यो। तर बढ्दो उमेर र प्राप्त शिक्षाले समयक्रममा उनले यसलाई सकरात्मक तरिकाले लिन थालिन्।

‘महिनावारी महिलाको शरीरमा हुने केबल एउटा प्राकृतिक प्रक्रिया हो,’ उनले भनिन्, ‘यसको नाममा सिर्जना भएका अनेकौं अन्धविश्वास र धारणाले गर्दा आजसम्म महिलाहरू पिछडिएका छन्। अब पनि यसविरुद्धमा केही बोलिएन भने यो कुचलन कहिल्यै रोकिँदैन।’ केकीले ‘सावित्री’ फिल्ममा पनि पूर्वीयकालीन समाजमा महिलाले कसरी महिनावारी बार्नु पर्थ्यो भनेर देखाएकी छिन्। उनका अनुसार फिल्मकी पात्र महिनावारी भएको दृश्यमा उनी आफैं पनि महिनावारी भएकी थिइन्। यसले गर्दा पात्रको परिस्थितिलाई उनले नजिकैबाट भोग्न सकिन्।

समाजले बनाइ दिएको मानसिकताबाट निस्केर बिस्तारै महिनावारी विषयमा खुलेर बोल्न सक्ने भएकी केकीलाई आजका पुस्ता यसबारे बोल्न हिच्किचाएको देख्दा अनौठो लाग्छ। र, उनी यसमा परिवार र नेपालको शैक्षिक प्रणालीलाई दोष दिन्छिन्। ‘कतिपय विद्यालयमा अझै पनि प्रजनन् स्वास्थ्य विषय खुलेर छलफल गरिँदैन, न घरमा नै छोराछोरीलाई त्यसबारे बुझाइन्छ,’ उनी भन्छिन्, ‘यसले गर्दा बालबालिकालाई यो कुनै लाजको विषय हो भन्ने महशुस हुन्छ र पछिका दिनसम्म प्रजनन् स्वास्थ्यमा आइपर्ने समस्याबाट अपरिचित रहन्छन्।’

उनका अनुसार विशेषगरी साना बालिकाहरूलाई महिनावारीको अग्रिम शिक्षा दिन धेरै आवश्यक छ। सरसफाइ र खानपिनमा ध्यान पुर्याउनु पर्ने ज्ञान भयो भने मात्र उनीहरूले महिनावारीलाई सहज रुपमा लिन सक्छन्। ‘महिनावारीलाई लिएर डर वा घिन मान्नुपर्ने कुनै कुरा छैन,’ बालिकाहरुरूलाई केन्द्रित गर्दै केकी सुझाउछिन्, ‘यो प्रजनन् प्रणालीको एउटा पाटो हो, जसका कारण संसारमा अस्तित्व कायम छ। यसबारे खुलेर बोल्न हिचकिचाउनु वा अप्ठ्यारो मान्नु पर्दैन।’

महिनावारीको समयमा दाजुभाइ वा बुबालाई छोएमा उनीहरू बिरामी हुने, मन्दिर जाँदा पाप लाग्ने, बोटबिरुवा छुँदा मर्ने जस्ता थुप्रै अन्धविश्वास कथाहरू केकीले आफ्नो बाल्यकालमा सुनिन्। अझै पनि यस्ता कथा सुन्दै आएकी छिन्। तर, समाजले महिलामाथि डर सिर्जना गरेर तर्साउन मात्र यस्ता कथा बुनिएको उनको भनाइ छ।

‘महिलाहरू आफ्नो परिवारको कुरामा निकै भावुक हुने भएकाले कथामा पनि परिवारका सदस्यलाई नै असर पर्ने भनिएको छ,’ उनी भन्छिन्, ‘यदि आफूलाई मात्र असर पार्ने सुनाइएको भए पक्कै पनि महिलाहरूले महिनावारी बार्थेनन्।’ उनी थप्छिन्, ‘जमानादेखि मानिँदै आएको महिनावारी चालचलनलाई एकैपटकमा हटाउन त सकिँदैन। तर, अहिलेबाट आफ्नो विचार फराकिलो बनाउँदै जाने हो भने अबको ३० वर्षमा पक्कै पनि ‘बार्ने’ चलनलाई दन्त्यकथा बनाउन सकिन्छ।’

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु