दशैंको अवसरमा पूर्वराजा शाहले बनाए देश भ्रमणको तालिका


काठमाडौं । करिब एक महिने लामो थाइल्यान्ड भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह अहिले निर्मल निवास बाहिर निस्केका छैनन् । सपरिवार अहिले निर्मल निवासमै रहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक वर्ष देशका विभिन्न जिल्ला भ्रमण गर्ने गरेका छन् । यसपटक पनि त्यसलाई निरन्तरता दिने तयारी गरेका छन् । उनले दशैंको अवसरमा देश भ्रमणको समय तालिका बनाएका छन् ।

महाअष्टमीको दिन गोरखा जाने पूर्वराजा शाहको कार्यक्रम छ । त्यहाँ उनले गोरखनाथ मन्दिरको पूजाआजा गर्नेछन् । पूर्वराजपरिवारको कुल देवता गोरखामै भएकाले पनि पूर्वराजाले यसपटक त्यहाँ गएर पूजाअर्चना गर्ने निर्मल निवास निकट स्रोतले जनाएको छ । पछिल्लो समय हिन्दु धर्म र राजसंस्थाप्रति देशभर समर्थकको संख्या बढेको निष्कर्ष निर्मल निवासले निकालेको छ । त्यसैले दशैंका अवसरमा उनले केही न केही निर्णायक कदम चाल्ने दाबी निकटस्थहरूको छ ।

प्रारम्भमा हिन्दु धर्मकै आडमा पूर्वराजाले केही न केही कदम चाल्ने दाबी एकातिर गरिँदै आएको छ भने सत्तारुढ दल नेकपाका शीर्ष नेताले गणतन्त्रमाथि कालो बादल मडारिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।प्रधानमन्त्री केपी ओलीले त सर्वदलीय बैठक राखेर गणतन्त्र उल्ट्याउने खेल भएमा सबै एकढिक्का भई प्रतिवादमा उत्रने चेतावनीसमेत दिइसकेका छन् । त्यसैले सबैको चिन्ता यस वर्षको दशैंमा पूर्वराजा शाहले कुनै घोषणा त गर्दै छैनन् भन्नेमा छ ।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु