महानगरीय प्रहरी परिसर काठमाडौंले टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । प्रहरी परिसरले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै निकितालाई जिल्ला प्रहरी कार्यालय चितवन जान सल्लाह दिएको छ ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सार्वजनिक भएको भिडिओ किर्ते गरेको आरोपमा उनी तीन जनाविरूद्ध जाहेरी दिन काठमाडौं प्रहरी परिसर गएकी थिइन् ।

निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिन खोजेको बताइएको छ ।

परिसरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पत्रकार पुडासैनीको मृत्यु प्रकरणका बारेमा चितवन प्रहरीले अनुसन्धान गरिरहेकाले आफूहरुले जाहेरी दर्ता नगरेको प्रतिक्रिया दिए । “त्यो चितवनमा विचाराधीन मुद्दा हो । कानुनी रुपमा पनि हाम्रो क्षेत्राधिकारभन्दा बाहिर रहेकाले हामीले जाहेरी दर्ता नगरेको हो,” उनले बाह्रखरीसँग भने ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । पत्रकार पुडासैनी साउन २० गते नारायणगढ वसपार्कस्थित एक होटलमा मृत फेला परेका थिए ।

(Visited 15 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *