पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ


रवि लामिछानेसँगै पक्राउ परेका सिधा कुरा जनतासँग टीमका अर्का व्यक्ति युवराज कँडेल ।

न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।

लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

‘लामिछानेलाई उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको हो,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिलेलाई यति नै भनौं।’

उनले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको बताए पनि विस्तृत खुलाएनन्।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको छ।

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए। पत्रकार पुडासैनीको शव भरतपुरस्थित कंगारू होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको छ । प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।

(Visited 112 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु