काँकरभिट्टाबाट विद्युतीय बस चल्ने


मेचीनगर । नेपालमै पहिलो पटक काठमाडौँमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । यी तीन जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ ।

विराटनगर, काँकरभिट्टा, इटहरी, धरान, दमक लगायतका क्षेत्रमा ७ कठ्ठादेखि ९ कठ्ठासम्म जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेसन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर यातायात प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले बताए ।

उनका अनुसार पहिलो चरणमा विराटनगर–काँकरभिट्टा र विराटनगर–धरान बस सञ्चालन हुने बताइएको छ । एउटा चार्जिङ स्टेसन निर्माण गर्न ७० लाख रुपैयाँसम्म खर्च हुने अध्यक्ष थापाले बताए ।

सञ्चालन हुने बसको मूल्य १ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बस अपाङ्ग मैत्रीसमेत हुने बताइएको छ । एसीको सुविधासहितको बस सञ्चालन हुँदा अहिले तोकिएको भन्दा ३० प्रतिशत कम भाडामा सवारी चलाइने थापाको भनाइ छ ।

(Visited 45 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु