कलाकार सरोज खनाललाई राष्ट्रपति भवनभित्र अपमान, ट्वाइलेटमा लगेर यसरि राखियो


बेलाबेला विवादमा पर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीफेरि अर्को विवादमा तानिएकी छिन् । शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर व्यवस्थापन र कलाकारहरूलाई अपमान गरेको भन्दै भण्डारीको आलोचना भएको छ ।

कलाकार सरोज खनालले राष्ट्रपति भवनमा ट्वाइलेटको कमोडमा बसेर प्रतिक्षा गर्नु परेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारीको आलोचना भएको हो । राष्ट्रपति कार्यालयमा ०७३, ०७४ र ०७५ साल गरी तीन वर्षको अवार्ड एकैपल्ट बाँडिएको थियो । चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुतिसमेत व्यवस्थापन गरेको थियो ।

राष्ट्रपति भण्डारीको कार्यालयमा कलाकारलाई नाच्न लगाएकोमा विरोध समेत भएको छ । राष्ट्रपति भण्डारीलाई देखाउने नृत्यको पालो कुरेर बसेका कलाकार खनाल बस्ने ठाउँ नपाएपछि ट्वाइलेटको सिटमा बसेका छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

राष्ट्रपति भण्डारीप्रति लक्षित गर्दै अभिनेत्री करिश्मा मानन्धरले आक्रोश पोखेकी छिन् । ‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन’, मानन्धरले भनेकी छिन्, ‘बाहिर आउनुस् तपाईं हाम्रो आमा हो । हामी तपाईंको लागि ज्यान दिन्छौं ।’

कलाकार खनालले पनि फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘म तिम्रो विचारदेखि पूर्ण सहमत छु । नृत्य गुरुका कारण मैले नाई भन्न सकिनँ । तर त्यो ठाउँमा यो नै मेरो पहिलो र अन्तिम प्रस्तुति हो ।’

आयोजकको कमजोर व्यवस्थापनका कारण ट्वाइलेटको कमोडमा बसेर नाच्ने पालो कुर्नुपरेको तितो यथार्थ समेत कलाकार खनालले बाहिर ल्याइदिएका छन् ।

‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए । तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाई १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसेँ । के गरुँ, आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिनँ तर मनको बह कसैलाई कह’ भन्छन्, त्यसैले मैले तिमीसँग सेयर गर्न चाहेँ’, खनालले भनेका छन् ।

अवार्ड कार्यक्रममा कलाकार खनालसँगै गौरी मल्ल, रमेश उप्रेती, दिपिल रायमाझी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङ लगायत कलाकारले नेतृत्य देखाएका थिए ।

(Visited 11 times, 1 visits today)

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु