नेपाली काङ्ग्रेस : क्रियशिल सदस्यता र संगठन निर्माण


रुपसागर अधिकारी

नेपाली काग्रेसको  १३ औ महाधिवेशन ताका  क्षेत्रीय प्रतिनिधी पदमा उम्मेदवारी दिने निश्चित गरेपछी मेचीनगरका एक स्थानीय नेता मेचीनगर निवासी क्रियाशील सदस्यकोमा मत माग्न पुग्नु भएछ । व्यापारी घरानाका उक्त क्रियाशील सदस्यले तपाईलाई मत दिन्छु भनेर बाँचा गरेपछी छुट्टीने बेलामा उम्मेदवारलाई प्वाक्क सोधिहालेछन – “ साच्चै दाई मत  तपाईलाई नै  दिन्छु भनिहाले , तर चुनावमा तपाई विरूद्ध एमाले र माओबादीबाट चाहि को को उठेको छन ?” ।  काग्रेस भित्रको आन्तरिक चुनावमा मत माग्ने क्रममा काग्रेस कै क्रियाशील सदस्यबाट यस्तो किसिमको प्रश्न सुनेपछी अवाक् भएर फर्केको कुरा उहाँले धुलाबारीको चिया पसलमा चियाको चुस्की  लगाउँदैं हामिलाइ सुनाउदा आन्द्रा बटारिने गरी हाँसेका थियौं  । यो सानो उदाहरणले नेपाली काग्रेसको क्रियाशील सदस्य वितरणमा कस्तो विकृति छ भनेर प्रस्ट हुन्छ ।

क्रियाशील सदस्य वितरण पारदर्शी नभएको बिषयमा विवाद , कुटाकुट , पार्टी कार्यालय तालाबन्दी लगायत का घटनाहरू हामीले सुनेका अनि देखेका  पनि छौ । क्रियाशील वितरणमा हुने ठेकेदारी र डफेदारी  प्रथाले काग्रेसको क्रियाशील सदस्यता वितरणमा  चरम लापरवाही  देखिन्छ । यस्को दुस्परिणाम हामीले  नमज्जा संग भोगेको पनि छौ । नेपाली  काग्रेस पार्टी महामन्त्री शशांक कोइरालाले गत चुनावमा नवलपरासीमा लगभग १२०० क्रियाशील सदस्य भएको एउटा गाऊँमा मुश्किलले २३० मत मात्र प्राप्त   गरेको कुरा स्वयं एक कार्यक्रममा भनेका छन । जम्मा क्रियाशील सदस्यको आधाले पनि उनलाई मतदान नगरेको प्रस्ट देखिन्छ ।  यदाकदा चुनाव ताका काग्रेसका क्रियाशील सदस्य  हँसिया हतौड़ा  छाप अँकित टिसर्ट  लगाएर मार्क्सबादी जुलूसमा पनि भेटिने गरेका छन । काग्रेस नै यती बृहत् छ , समुन्द्र जस्तै । गाई , गोरू , साढ़ेगोरू , मादल , बादर , हलो , कोदालो , टर्चलाईट हुदै सूर्य सम्मको चिन्ह अंकित दलमा काग्रेसका  क्रियाशील सदस्यहरूको उपस्थिति रहन्छ  । क्रियाशील सदस्यले नेता  छान्ने अनि तेही छानिएका नेताले नेतृत्व चयन गर्ने प्रक्रिया भएको ले गर्दा क्रियाशील वितरणमा आफ्नो नजिकका मानिसलाई भर्ती गराउन तछाड मछाड चल्छ ।आफ्ना आफन्त देखि लिएर निजी  ड्राइभर र घरेलु कामदार सम्मलाई ससम्मान क्रियाशील सदस्य बनाइन्छ । बजारकै हल्ला अनुसार  त  कोरोनाको कारणले यदी यो बन्दाबन्दी पौष सम्म जाने हो र काग्रेसको १४ औ अधिवेशन समयमै भयो भने पानिटंकि , नक्सिसल सिलीगुड़ी , मत्तिगड़ा , मिरिक , सिक्किम  लगायतका धेरै ठाउँमा छरिएर बसेका क्रियाशीलहरू मतदान बाट वंचित हुने अवस्था आउने पूर्वानुमान छ । हाम्रो क्रियाशील वितरणको अवस्था यस्तो छ !

फेरी पनि  क्रियाशीलले छानेको नेताले निर्माण गर्ने नेतृत्वबाट हामी बिपीको समाजबादी सपना पूरा हूने आश गरिरहेका छौ । तितेपाती रोपेर कागतीको आश गरे जस्तै । काग्रेसको केन्द्रीय नेता छान्ने यो प्रकिया हेर्दा  क्रियाशील ले नेतृत्व चयन गरे जस्तो देखिए पनि वास्तविकता ठ्याक्क उल्टो छ । यहाँ त नेतृत्वले क्रियाशील छान्छ अनि त्यही नेतृत्वले  छानेको क्रियाशीलले फेरी उस्लाई नै नेता छान्छ । घुमीफिरी रूँगजटार  ।नेपाली काङ्ग्रेस र कोइराला परिवारसंग निकट कुनै समय तत्कालीन   प्रम स्व. गिरिजा प्र. कोईरालाका सल्लाहकार एवंम  राजनितिक विश्लेषक  पुरञ्जन आचार्य भन्छन काग्रेसको  क्रियाशील सदस्यताका कारण कांग्रेसभित्रै काग्रेस अल्पमतमा छ र अनिर्णयको बन्दी छ । उनी लेख्छन योग्य र इमान्दार कांग्रेसको क्रियाशील सदस्यले हुमर्त लिने काम गरेको छ । उनी यस्तो किसिमको  क्रियाशील सदस्यता वितरण बन्द गरेर अघि बढ़नु पर्ने बताउछन ।

नेपाली काग्रेसका लागी यस्का सदस्यहरू मेरुदण्ड हुँन । कांग्रेसको पार्टी विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ । कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछी मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानमा व्यवस्था छ । तर हालको केन्द्रीय समितीको बैठकले “साधारण सदस्यता लिएको एक वर्ष पुगेपछी” मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरिसकेको छ । आगामी १४ औ महाधिवेशनको क्रममा देशभरीमा २ लाख ५७ हजार नयाँ क्रियाशील बढ़ाउने योजनामा काग्रेस छ । आफ्नो क्रियाशील सदस्यको संख्यालाई वृद्धि गरेर जाने निती लिए सगसगै , नेपाली काग्रेसले भएका सदस्यहरूको क्रियाशीलतालाई वृद्धि गरेर जानु पर्ने पनि देखिन्छ ।नयाँ क्रियाशील सदस्यता वितरणको अहिलेको प्रक्रिया पूर्ण रूपले अबैज्ञानिक छ र  काग्रेसले यो वितरणलाई वैज्ञानिक र पारदर्शी बनाउन  बिषेश अग्रसरता लिनु पर्ने देखिन्छ । संभवतः अधिवेशनको क्रममा हुने  आन्तरिक प्रतिस्पर्धालाई अधिकतम समानुपातिक प्रणालीमा गर्ने सके क्रियाशील सदस्यता वितरण पनि न्यायसंगत हुने सम्भावना हुन्छ ।हैंन भने  आन्तरिक प्रतिस्पर्धाको नाममा हुने अस्वास्थ्य प्रयोगले गर्दा काग्रेस भित्रको  गुटबन्दीको श्रीगणेश क्रियाशील सदस्य वितरणबाट नै हून थाल्छ  । येस्का लागी पोलिटिकल स्वामीहरूले ठाउँठाउँमा डफेदार हरू तयार पारेर राखेका हुन्छन । यी डफेदारहरूलाई काग्रेसको इतिहास अनि काग्रेस पार्टी भित्र रहेर कस्ले काम गरिरहेको छ भन्ने कुरा सँग केहि मतलब नै  हुदैन । यि ख़ाली स्वामीको आदेश अनुसार  काम गर्ने खप्पिस हुन्छन । यिनै  “डफेडार क्रियाशील” हरूले स्वामीको आदेश अनुसार इमान्दार कार्यकर्ताको हुर्मत लिने काम गर्छन । तेसै कारण राजनितिक विश्लेषक  पुरञ्जन आचार्य काग्रेस नेता र उम्मेदवारविरूद्ध “बोगस क्रियाशील” सदस्यले हुमर्त लिने काम मात्र गरेकोले यस्तो क्रियाशील सदस्यता खारेज गर्ने माग गर्छन । तर उनले  भनेझै “बोगस क्रियाशील” सदस्यता खारेजीको प्रक्रियामा काग्रेस जाने सम्भावना निकै कम छन ।तसर्थ  बिद्यमान परिस्थितिमै रहेर न्यायोचीत तरिका कसरी क्रियाशील वितरण गर्ने भनेर नै ध्यान पुर्याउँन  जरुरी छ ।

क्रियाशील सदस्यले नेतृत्व चयनलाई प्रत्यक्ष असर पार्ने हुन्छ । क्रियाशील सदस्यहरूले नै वडाकमिटी अनि गाउँ/ नगर कमिटीको निर्माण गर्छन । क्रियाशील सदस्यबाट छानिएका वडा प्रतिनिधीले प्रदेश सभा र क्षेत्रीय सभा अनि जिल्ला कमिटीको संगठन बनाउछ । क्रियाशील सदस्यबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले नै केन्द्रीय कमिटीको निर्माण गर्छन । यो अर्थमा पनि क्रियाशील सदस्यताको महत्वपूर्ण भूमिका रहेको हुन्छ र पार्टी र पार्टीको संगठनलाई बलियो बनाउन पार्टीको संगठनमा रहेर पार्टीमा समर्पित व्यक्तिलाई क्रियाशील सदस्यता वितरण गर्ने सके , उनीहरूले आफ्नो मत मार्फ़त न्याय दिन सक्ने अवस्था रहन सक्ने सम्भावना हुन्छ  । काग्रेसको विधानले क्रियाशील सदस्यता जहिले पनि वितरण गर्ने सक्ने व्यवस्था भए पनि पार्टीको क्रियाशील सदस्यता महाधिवेशनको मुखमा मात्र वितरण गर्ने परिपाटीले गर्दा संगठनलाई मजबुत बनाउने भन्दा पनि महाधिवेशनको रणनितिक योजना अन्तरगत क्रियाशील वितरण हुदा संगठन धरासाई भई रहेको कुरा काग्रेस कै नेता तथा केन्द्रीय सदस्य रमेश लेखक स्वीकार गर्दछन । महाअधिवेशन केन्द्रित क्रियाशील वितरणले एकातिर शक्तिशाली  कोटरीको वरिपरिकाले  मात्र क्रियाशील पाउने सम्भावना बढ़ी रहन्छ र सगसगै वैचारिक र लामो समयसम्म पार्टी र संगठनमा टेवा पूराएका कार्यकर्ताहरू सदस्यताबाट नै बन्चित हुने अवस्था पनि आएको छ । डनबाद हावी भएको पार्टीमा धनबाद त तेसै पनि हावी नै छ   ।

क्रियाशील सदस्य वितरण को अर्को दुःखद पाटो भनेको काग्रेसमा वाड देखि क्षेत्रभरी छरिएर बसेका यूबा पंक्तिको क्रियाशील सदस्यता बितरणमा हुने न्यून उपस्थिति पनि हो । प्राय: क्याम्पस र आफ़्नै उमेर समुह केन्द्रित  राजनीतिमा  होमिएका अधिकांश यूबाहरूको क्रियाशील सदस्यताबाट बन्चित छन । आफ्नो योगदानको उचित मूल्यांकन हुने अवस्था नहूँदा क्रियाशील सदस्यता प्राप्तिको लागी नेताहरूको घर/घर धाएर हैरान परेशान भएका यि युवा पंक्तिलाई सहज क्रियाशील वितरण गर्नु पर्ने आजको आवश्यकता छ । ३० वर्ष भन्दा कम उमेर समूहलाई अति नै न्यून संख्यामा सदस्यता वितरण हुने भएकाले यो उमेर समुहका युवाहरुको काग्रेस मा  आकर्षण घटदो  छ । यो बारेमा पनि नीती र नियम बनाएरै जानु पर्ने आश्यकता छ । वितरण हुने जम्मा क्रियाशील मध्ये यो उमेर समुहलाई निस्चित प्रतिशत क्रियाशील  छुट्टाएर वितरण भएन भने काग्रेस भित्र युवा पंक्तिको उपस्थिति एकदम कमजोर  हुने देखिन्छ । तेसकारण पनि क्रियाशील वितरण गर्दा कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नु ज़रुरी छ । संख्यामा मात्र देखाउन नभई साच्चै क्रियाशील भएकालाई नै क्रियाशील दिनु जरुरी छ ।

नया क्रियाशील वितरणमा चरम नाताबाद ,ब्यापारीकरण , आर्थिक चहलखेल र डफेदारी प्रथा हावी भएको खण्डमा  पार्टीमा कमजोर आर्थिक अवस्था भएका , निरन्तर संघर्ष र संगठनमा होमिएका र नेताहरूको चाकड़ी गर्ने नचाहने स्वाभिमानी कार्यकर्ताहरू पार्टीबाट नै बिस्तापित हुन सक्ने सम्भावना अत्याधिक रहने छ ।

– जय नेपाल
( लेखक नेपाली काग्रेस क्षेत्र न १ का क्षेत्रिय सह-सचिव हूनूहुन्छ )

(Visited 129 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु