देवीमाया मेचेमा चिन्ताभन्दा खुशी बढी !


फाइल फोटो

मेचीनगर । साउन १९ गते सोमबार अर्थात जनै पूर्णिमाका दिन । झापा मेचीनगर–९, कमलचोक पर्तिर रहेको घरमा देवीमाया मेचे आफ्ना बालबच्चासँग बसिरहेकी थिइन् । असक्त एकल महिला देवीमायाको अनुहारमा दैनिकी गुजारा कसरी चलाउने भन्ने चिन्ता पनि उत्तिकै देखिन्थ्यो ।

लेखक : झुलन रेग्मी

उनका लागि मनकारी मनहरुले घर त बनाइदिएका छन् । बेलाबेलामा सहयोग पनि नभएको होइन । तर, आफू र बच्चाहरुलाई कहिलेकाहीँ दिइएको सहयोगले मात्रै उनको परिवारको जीवन चलिरहेको छ । यस अर्थमा देवीमायामा चिन्ता र खुशी दुवै देखिन्छ ।

कान्छी छोरी जन्माएको पाँच दिनमा उनको पतिको मृत्यु भयो । आर्थिक अवस्था कमजोर भएकी सुत्केरी असहाय महिला दुई छोरीकी अभिभावक देवीमाया पतिको मृत्यु भएसँगै सहाराविहीन भइन् ।

पतिको काजकिरिया गर्न समेत उनीसँग पैसा थिएन । सुत्केरी त्यसमा पनि असहाय अनि दुई छोरीको जिम्मेवारी उनकै काँधमा आएको थियो । देवीमायालाई उनीसँगै दुई छोरीको पालनपोषण गर्न र दुईछाक खान पनि धौधौ परेको थियो ।

त्यस्तो समस्या देखेपछि मेचीनगरका केही पत्रकारहरुले देवीमायाको त्यो दयनीय अवस्थाको विषयमा समाचार प्रकाशन गरेर सबै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरे । जसका कारण सहयोगी मनहरु एकजुट भई आर्थिक सहयोग जुटाएर बनाएको घरमा देवीमाया अहिले बसिरहेकी छिन् ।

देवीमाया मेचे घर निर्माण समितिले देश तथा विदेशबाट सहयोग गरेको रकमबाट मेचीनगर–९ स्थित नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले किनेर दिएको सात धुर जग्गामा ६ लाख २० हजार रुपैयाँको लागतमा चार कोठे टिनको छानो र इँटाको पर्खाल भएको चारकोठे पक्की घरमा देवीमाया बस्दै आएकी छिन् ।

हो, तिनै देवीमाया आज मनकारी मान्छेले निरन्तर दिएको सहयोगले जीवन चलाउन सकिरहेकी छिन् । गएको सोमबार पनि देवीमायाको परिवारलाई घरैमा पुगेर ‘धनभन्दा मन ठूलो’ भएका व्यक्तिहरुले खाद्यान्न सहयोग गरेका छन् । देवीमाया मेचे अभियानका अभियन्ता मुक्ति पौडेलको समन्वयमा बिर्तामोड तथा अर्जुनधाराका सामाजिक व्यक्तित्वहरुले सहयोग गरेका हुन् ।

राहतका लागि सामाजिक अभियानले उपलब्ध गराएको १६० केजी चामल, नुन, तेल, दाल तथा १५ सय रुपैयाँ नगद देवीमायालाई हस्तान्तरण गरिएको छ । यस्तै, सवारी दुर्घटनामा घाइते भएका धुलाबारी निवासी अर्जुन अधिकारीलाई पनि ६० केजी चामल, नुन, तेल, दाल तथा नगद निर्माण व्यवसायी शेरबहादुर थापाले सहयोग गरेका छन् ।

सामाजिक अभियानले कोरोनाको जोखिममा परेका बिर्तामोड र अर्जुनधाराका ४ सयभन्दा बढी विपन्न परिवारलाई खाद्यान सामाग्री उपलब्ध गराएको अभियानका सचिव रञ्जित परियारले जानकारी दिए । उनका अनुसार दाताहरुबाट संकलन गरी स्थानीय पालिकाहरुसँगको समन्वयमा राहत सामाग्री हस्तान्तरण गरिदै आएको छ । उक्त सामाजिक अभियानमा जगतबहादुर मगर, निर्माण व्यवसायी थापा, गणेश ढुंगाना, सुनिता धिमाल राईलगायत अभियन्ताहरु रहेका छन् ।

अभियानका संयोजक जगतबहादुर मगरको अध्यक्षतामा भएको देवीमायाका लागि राहत सामाग्री हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी शेरबहादुर थापा, गणेश ढुंगाना, सुनिता धिमाल, मुक्ति पौडेल, मेचीनगर वडा नं ९ का वडा सदस्य इन्द्र प्रधानलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

थर बदल्न कानुनतः मिल्दैन

मेचे समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । मासिक रुपमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ पाउँदा सहाराविहीनहरुका लागि ठूलो राहत मिल्दछ । तर, देवीमायाको परिवार उक्त सुविधाबाट बञ्चित छ । बाबु घिमिरे थरीका भएकाले उनको परिवारले सरकारी सुविधा पाउन सकेको छैन ।

मेचीनगर वडा नं ९ का वडा सदस्य इन्द्र प्रधानले देवीमायाको परिवारलाई लोपोन्मुख जातिको सूचिमा राख्न नसकिने बताए । उनले एउटी छोरीको जन्मदर्ता उहिले नै भइसकेको र अब अरुको थरी बदल्न कानुनतः नमिल्ने बताए । तर, सामाजिक अगुवाहरुले भने व्यावहारिकता हेरेर देवीमायाको परिवारलाई लोपोन्मुख जातिमा सुचिकृत गरेर राहत दिनुपर्ने बताउँदै आएका छन् ।

(Visited 122 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु