मेचीनगरका व्यवसायी सदस्यको बीमा कोष लागू


धुलाबारी । मेची उद्योग वाणिज्य संघले आफ्ना सदस्यका लागि राहत प्रदान गर्ने उदेश्यले व्यावसायिक सदस्य बीमा कोष लागू गरेको छ । साउन १ गतेदेखि दुर्घटना वा प्राकृतिक मृत्युवरण भएमा एक लाख रुपैयाँसम्म प्रदान गर्नेगरी आफ्नै कोषबाट बिमा लागू गरिएको संघको सभाकक्षमा शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
संघका अध्यक्ष ऋषिराज तिम्सिनाले सदस्यले बिमाको सदस्य बन्न पहिलोपल्ट एक हजार रुपैयाँ र त्यसपछिका वर्षहरुमा वर्षेनी दुई सय रुपैयाँ शुल्क बुझाउनु पर्ने बताए । नयाँ सदस्यको हकमा २०७८ सालदेखि सदस्य बन्नेले सुरुमा एक हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बिमा योजना सञ्चालनका लागि तत्काल २० लाख रुपैयाँको व्यावसायिक सदस्य बिमा कोष खडा गरिएको जानकारी दिए ।


संघका पूर्व अध्यक्ष विजय डालमियाले व्यवसायी र व्यवसाय हितका लागि बीमा कोष सञ्चालन गरिएको स्पष्ट पारे । बिमा कोषमा आवद्ध सदस्यको मृत्युमा अधिकतम् एक लाख र सदस्यले इच्छाएको दुई जना व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने छ ।
कोषमा संघले आफ्नो तर्फबाट ५ लाख र मेचीनगर नगरपालिकाको तर्फबाट ५ लाख जम्मा गरिएको छ । भविष्यमा कोषलाई बढाएर एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
कोष सञ्चालनका लागि अध्यक्ष तिम्सिनाको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष निरौला सहसंयोजक रहेको ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।
समितिको सदस्यमा मेचीनगर नगरपालिकाका प्रतिनिधि एक जना, संघका भूतपूर्व अध्यक्ष एक जना, संघकै महिला सदस्य एक जना, संघकै महासचिव र एक जना कार्यकारिणी सदस्य रहने व्यवस्था गरिएको छ ।
विशेषगरी साना व्यवसायीलाई लक्षित गरेर पनि कोष सञ्चालन गरिएको संघले जनाएको छ । कोष लागू भएयता साउन १ गते १० जना व्यवसायी आबद्ध भएका छन् । राहत कोषलाई आगामी दिनमा अझ व्यापक बनाइने पनि जनाइएको छ ।
मेचीनगर क्षेत्रमा करिब १० हजार व्यवसायी रहेकोमा ४ हजार ५ सयभन्दा बढी संघमा आबद्ध रहेको अध्यक्ष तिम्सिना बताउँछन् ।

(Visited 44 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु