तानाशाह थिएनन् राजा महेन्द्र


आज जेष्ठ ३० गते, अर्थात स्वर्गीय राजा महेन्द्रको १००औं जन्मजयन्ती । वि.स. १९७७ जेष्ठ ३० गते जन्मेका र नेपालको इतिहासमा करिब १७ वर्ष देशको शासन डोर सम्हालेर देशलाई महत्वपुर्ण योगदान पुर्‍याएका राजा आज इतिहासको स्वर्णिम पानामा सिमित छन्। यसरी इतिहासमा गुमनाम भएका स्वर्गीय राजालाई आज हामी नेपालीले सम्झने दिन अर्थात उनको जन्मदिन ।

वि.स २०११ फाल्गुनमा राजा त्रिभुवनको देहावसान पछि उनका जेष्ठ सुपुत्रका रुपमा महेन्द्रले ३४ बर्षको उमेरमा नेपालको राजगद्दी सम्हालेका थिए । उनी राजा हुँदा सबै तिर बेथितिको वातावरण थियो । राज्यमा न्यूनतम पूर्वाधारहरुको समेत अभाव थियो। सामाजिक, राजनैतिक, आर्थिक ,प्रशासनिक, सुरक्षा लगायतका क्षेत्रमा नेपालको कुनै ठोस कार्ययोजना थिएन । यस कारण उनले राजा हुनासाथ नेपालको चौतर्फी बिकासलाई आफ्नो जिवनको लक्ष्य बनाएर आफ्नो सारा ध्यान देश प्रति केन्द्रीत गरेका थिए । उनी एक महत्वाकांक्षी,दूरदर्शि एवं रास्ट्रप्रेमी ब्यक्ति थिए र नेतामा हुनु पर्ने प्राय सबै गुण उनमा थियो । उनी एक कवि, राजनेता, सफल कूटनीतिज्ञ र विद्वान् थिए ।

उनले नेपाली गित, संगीत र साहित्यिक क्षेत्रमा पनि ठुलो योगदान पुर्‍याएका थिए । धेरै गित तथा गजलहरु जस्तै `गाजलु ती ठुला ठुला आँखा´ , `लोलाएका ती ठुला तिम्रा दुई नजरले´, `के छ र दिउ तिमिलाई मैले कोशेली भनेर ´आदि रचना गरेका उनले धेरै गितहरु जस्तै `गर्छन पुकार आमा´, `नेपाल मेरो तिमी लाई´, `जुन माटोमा मेरो जन्म´ आदि गितहरु मार्फत देश प्रतिको माया झल्काएका थिए । उनको साहित्यिक नाम म.बि.बि.साह थियो ।

विश्वको इतिहास, प्राचीन धर्मशास्त्र, भुगोल, आधुनिक राजनीति र कूटनीतिका ज्ञाता राजा महेन्द्रको यस्ता धेरै विषयमा गहिरो ज्ञान र चाख थियो । विश्वका कतिपय चर्चित राजनेताहरु समेत राजा महेन्द्रको विलक्षण ज्ञान र प्रतिभाबाट प्रभावित थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रका बारेमा उनलाई राम्रो जानकारी थियो। देशको स-साना विषयमा उनी चासो राख्थे र मानिसको शैक्षिक योग्यता र क्षमता बुझेर सोहीअनुसारको जिम्मेवारी दिन्थे ।

दल बिहिन समाजको निर्माण गरि निर्दलिय सिद्धान्त लाई अगाडि बढाएका राजाले स्थानिय निकाय स्थानिय जनता ले नै चलाउनु पर्छ भन्ने मान्यता राख्दथे । उनले शक्ति विकेन्द्रीकरणको नीति लागू गराएर देशभर नै राष्ट्रिय पन्चायत, नगर/गाउँ पन्चायत र जिल्ला पन्चायत निर्धारण गरि केन्द्र सरकारसंग जनतालाई जोड्न सफल भएका थिए । राष्ट्रलाई आत्मनिर्भर बनाउन सके अरुले हेयदृष्टि ले हेर्न सक्दैनन् भन्ने उनी सोच राख्दथे । उनको भनाई “राजधानी बुझेर मात्रै नेपाल कहाँ बुझ्न सकिन्छ र ! नेपालीपन त झुप्रा-झुप्रामा खोज्नु पर्छ “।जुन कुरा आज पनि उत्तीनै सान्दर्भिक छ । जनताका गुनासा र समस्या बुझ्न आफै पनि बेला मौकामा सडक र जनताको घर-आगनमा निस्कने उनी प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको मन पराउदैन थिए । यो कुराले गर्दा हामी उनलाई एक राष्ट्रवादी मात्र नभै एक प्रजातन्त्रवादी राजनेता को रुपमा पनि लिन सक्छौ ।

कतिपय विश्लेषकहरु राजा महेन्द्रको सहि मूल्यांकन हुनु पर्नेमा जोड दिन्छन् र यो क्षेत्रमै उनी जस्ता राजनेता र शाषक विरलै थिए पनि भनेका छन्। धेरै राष्ट्रहरु बिच वैरभाव बढिरहेका बेला ती सबै राष्ट्रलाई नेपालसग कुटनैतिक सम्बन्ध स्थापना गराई आर्थिक लगानी र उद्योगहरू स्थापना गर्न उनैले प्रेरित गरे । यो उनको ज्यादै ठुलो सफलता थियो।

उनले नेपालकै इतिहासमा अहिलेसम्मकै सबै भन्दा धेरै बिकास निर्माणका कार्यहरु अगाडि बढाएका थिए । उनको केही महत्त्वपूर्ण योगदानहरु यस प्रकार रहेका छन ।

१ नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध, भारतीय मुद्राको चलनमा रोक लगाई भारतीय सेनाको नेपालमा उपस्थितिमा समेत रोक,

२ नेपालको मन्त्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक,

३ `जग बाटै उठेको प्रजातन्त्र´ लाई आत्मसात गरि जनहितमा रहने गरि नीति हरु कार्यान्वयन ,

४ पञ्चवर्षीय योजनाको शुरुआत गरि विकेन्द्रीकरणको थालनी ,

५ देशको समानुपातिक र समतामुलक बिकासलाई मध्यनजर गरि नेपाललाई बैज्ञानिक ढंगले १४ अञ्चल र ७५ जिल्लामा विभाजन,

६ सर्वोच्च अदालत स्थापना , सेना र प्रहरीको आधुनिकीकरण,

७ राष्ट्रबैंकको स्थापना, नेपाली मुद्रालाई देश भरी अनिवार्य बनाउनु

८ यातायात ब्यवस्था लाई देशभर नै अझ गतिशील बनाउनु

९ वि.स. २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार, बिदेशी लाई नेपाली जमिन खरिद बिक्री गर्न रोक ( त्यस भन्दा अघि भारतिय हरु नेपालको भूमि खरिद बिक्री गर्न स्वतन्त्र थिए)

१० वि.स. २०२१ सालमा भूमिसुधार ऐन घोषणा गरि जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित,

११ देशमा उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु जस्ता ५० भन्दा धेरै उद्योग- कल-कारखानाहरु उनकै पालामा स्थापना ,

१२ त्रिभुवन विश्वविद्यालयको स्थापना , देश भरी विभिन्न जिल्लाहरुमा बिद्यालय तथा क्याम्पसहरु को स्थापना

१३ नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानको स्थापना ,भाषा-साहित्य र संस्कृतिको क्षेत्रमा आधारभूत कार्य,

१४ रोयल नेपाल एअरलाइन्स (शानेबानी) को स्थापना

१५ पूर्व-पश्चिम राजमार्गको निर्माण ,विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर तराई बाट तराईकै जिल्लाहरुमा जादा पनि भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य

१६ वि.स.२००७ सालदेखि २०११ साल सम्मको बीचमा भारतसगको आर्थिक निर्भरता ९५ प्रतिशत लाई झारेर ६० प्रतिशतभन्दा तल ल्याउनु

१७ अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर करिब ६० राष्ट्रसँग मित्रता स्थापना गराउनु ।

१८ स्वास्थ्य क्षेत्र , सडक निर्माण , सिचाइ , बिजुली, यातायात आदिको बिकासमा बिशेष जोड आदि इत्यादि …

आज ,नेपाली राजनीतिमा देखिआएको बिदेशी दबाब र हस्तक्षेपकै कारण नेपाली राजनीति अस्थिर, अराजक र परिणामविहीन बन्दै गएको आभाष हुन्छ । त्यसलाई सामना गर्न नेपाली राजनीतिले प्रदर्शन गरिरहेको फितलो नितिले समस्या झन् गाह्रो बनाइरहेको छ । राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको इतिहासमा सबैभन्दा कमजोर बनेको आजको अवस्था त्यसैको परिणाम हो । जनताले आत्मनिर्भरता , न्याय र समृद्धि को अनुभूति गर्न पाएका छैनन । यहि कारणले नै बर्तमान अवस्थामा देशले कुशल नेतृत्वको अभाव महसुस गरिरहेको छ ।त्यो समय राजनैतिक दलहरुलाई राजाले अङ्कुस पनि लगाएका थिए । नेताहरु लाई पक्राउ गरि एकलौटी रुपमा शासन ब्यवस्था आफ्नो हातमा लिएका थिए । धेरैले यसको प्रसंशा पनि गरे र बिरोध पनि त्यति नै थियो ।अनि यसमा धेरैको बिमती पनि आउन सक्छ, र आलोचनात्मक चेत सबैमा हुन जरुरी पनि छ।

तर राजा महेन्द्रको असिमित राष्ट्र प्रेम ,दुरदर्शिता र बिकास नितिलाई अहिलेका नेतृत्व तहले अध्ययन गरि सोही अनुसार देश बिकासमा एकीकृत ढंगले लाग्नु आज को आवश्यकता हो।

यसरी राजा महेन्द्रको देश प्रती को योगदान बुझेर उनलाई हामी नेपाली मन ले सम्मान गर्न कन्जुस्याइँ गर्नु हुदैन । जे-जस्तो भए तापनि उनले चालेका कदमहरु समयको मागनै थियो होला र समय परिवर्तनशिल पनि छ । उनले चालेका धेरै कदम दुरदर्शी र रास्ट्र भावना बाट अविप्रेरित छ । उनको सालिकहरु भत्काएर, नाम फेरिदिएर, राजमार्ग लाई लोकमार्ग बनाउने आदि इत्यादि काम गरेर मात्र उनको योगदानलाई कहाँ मेट्न र लुकाउन सकिन्छ र । आखिर सत्कर्म त सधै अमर नै रहन्छ ।
केही लेखकहरुले आफ्नो किताब बिक्ने लोभले काल्पनिक भनाईहरु राखेर राजा महेन्द्र र उनको योगदानलाई छायाँमा पार्न खोजे तापनि वास्तविक कुरालाई आत्मसात गरेर राष्ट्रनिर्माणमा उनले पुर्याएको योगदानको सधै कदर र सम्मान गरिनु पर्दछ । सूर्यको प्रकाशलाई हत्केलाले छेक्न सक्दैन भनेझै जुनसुकै शासन ब्यवस्था हाम्रो देशमा आएता पनि स्वर्गीय राजा महेन्द्र र उनले देशका लागि पुर्याएका महत्वपुर्ण योगदानहरु सधैं अमर र अविष्मरणीय रहने छन। हाम्रो वर्तमान नेतृत्वतहले पनि यो कुरा लाई आत्मसात गरून् र देशलाई समृद्धि तर्फ अगाडि बढाउन अग्रसरता देखाउन् , यहि छ कामना । स्वर्गीय राजा प्रती हार्दिक श्रद्धासुमन ।

(लेखक,प्राध्यापन पेशामा संलग्न छन। यो लेखको निजी विचार हो ।)

(Visited 341 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु