झापाली युवाको दुबईमा मृत्यु, अनुसन्धान गर्न शव अस्पतालमै


मेचीनगर । झापाको मेचीनगर–१०, धुलाबारी बजार निवासी एक युवाको दुवईमा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीमा दुबई गएका धुलाबारीका ४९ वर्षीय रेवत थापा मगरको हृदयघातका कारण ज्यान गएको मृतकका भाई धनराज थापा मगरले बताए ।

दुबईमा सेक्युरिटी गार्डमा कार्यरत रेवत गत जेठ १३ गते कोठामा मृत अवस्थामा भेटिएका उनका दाजु मणिराज थापा मगरले इमेचीलाई बताए । दाजुका अनुसार लामो समयदेखि वैदेशिक रोजगारीमा आउँदै जाँदै गरेका उनी गत माघ महिनामा मात्रै दुबई गएका थिए ।

कोठामा मृत अवस्थामा भेटिएकाले त्यहाँको प्रहरीले अनुसन्धानका लागि समय मागेर शव एक अस्पतालमा राखेको छ । अनुसन्धानको प्रक्रिया पूरा गरेपछि मात्रै प्रहरीले शव परिवारलाई जिम्मा लगाउने बताइएको छ । दुबईमै रहेका मृतकका आफन्तका अनुसार प्रहरीले २२ दिनको म्याद राखेर अनुसन्धान गरिरहेको छ ।

२२ दिनपछि शव जिम्मा लगाएपछि उतै दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएपछि रेवतका परिवारले यतै काजकिरिया गरेका छन् । धुलाबारीका गन्नेमान्ने परिवारका रेवत युवामाझ लोकप्रिय थिए । उनका एक छोरा बुद्धम र एक छोरी रितु थापा मगर छन् ।

(Visited 743 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु