झापाको १५ स्थानीय तहमध्ये ५ वटामा फैलियो कोरोना

झापाको पाँच स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ । त्यसमध्ये कचनकवलमा उच्च संख्यामा कोरोना संक्रमित फेला परेका छन् । आज मात्रै झापाको दुई स्थानीय तहमा १७ जना संक्रमित थपिए ।
झापाको दमकका पहिलो पटक संक्रमण देखा परेको थियो । कचनकवल ४८, दमक १, बाह्रदशी २, झापा १ र गौरादहमा २ जना संक्रमित भेटिसेकका छन् । त्यसमध्ये २ जनाको उपचार भइसकेको छ । झापाको १५ वटा स्थानीय तहमध्ये पाँच स्थानीय तहमा कोरोना भाइरस संक्रमण फेला परिसकेको छ ।
कोरोना भाइरस संक्रमण देखिएका बाहेकका स्थानीय तहमा अहिले चरम लापरबाही भइरहेको छ । जिल्लाको ठुलो बजार बजार बिर्तामोडका वाणिज्य संघले बजार खोल्न अपील नै सार्वजनिक गरिसकेको छ । संक्रमणको जोखिममा अधिकांश स्थानीय तह भएपनि व्यापारीले बजार खोल्न दवाव दिइरहेका छन् ।
र यो पनि पढ्नुहोस्
सिक्किम, उत्तर प्रदेश र मुम्बईबाट आएका थिए झापामा आज भेटिएका १७ संक्रमित
झापाको गौरादहमा आज कोरोना भाइरस पुष्टि भएका दुई पुरुष काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेको खुलेको छ ।
काँकरभिट्टा हुँदै आएका पुरुष सिक्किमबाट काँकरभिट्टा नाकामा आइपुगेपछि नगरपालिकाको टोलीले केही दिनअघि उद्धार गरेको थियो । गौरादहका उनलाई वडा नम्बर ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएको थियो ।
गौरादहका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाका अनुसार कोरोना संक्रमित अर्का पुरुष भारतको उत्तर प्रदेशबाट बिहार हुँदै कुञ्जीबारी नाकाबाट नेपाल प्रवेश गरेका थिए । उनी पनि गौरादहकै हुन् । यसअगाडी गौरादहमा कोरोना संक्रमित फेला परेका थिएनन् ।
त्यस्तै, कचनकवलमा कोरोना संक्रमित पुष्टि भएका १५ जना मानिस मुम्बाईबाट बिहार हुँदै नेपाल प्रवेश गरेका थिए ।
उनीहरु जानकी माविको क्वारेन्टिनमा रहँदै आएका थिए । १७ जना संक्रमितलाई बुधबार नै विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि पठाइएको छ ।
यसअगाडी ३५ जना संक्रमित भेटिएको झापा जिल्लामा नयाँ संक्रमित थपिएसँगै ५२ पुगेका छन् । झापा दमकका एक संक्रमित र बाह्रदशीका अर्का संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो समय झापाको दक्षिण भाग कचनकवलमा ठूलो संख्यामा संक्रमितहरु भेटिन थालेका छन् । भारतले यात्रुबाहक रेल सेवा सुचारु गरेसँगै झापामा संक्रमितको संख्या बढ्न थालेको हो ।
प्रतिकृया दिनुहोस्