सिक्किमबाट काँकरभिट्टा भित्रिएका व्यक्तिमा पहिलोपटक कोरोना पुष्टि


मेचीनगर । पूर्वी नाका काँकरभिट्टाबाट प्रवेश गरेर गृहनगरको क्वारेन्टाइन पुगेका गौरादहका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सिक्किममा रहेका ती व्यक्तिलाई नाकामा आइपुगेपछि नगरपालिकाको टोलीले केही दिन अघि उद्धार गरेर आफ्नै नगरको वडा नं। ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखेको थियो ।

गौरादहमा पहिलोपल्ट बुधवार २ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए । दुबै जना जुरोपानीको एउटै क्वारेन्टाइनमा बस्थे ।

ओझाका अनुसार कोरोना सङ्क्रमित अर्का पुरुष भारतको उत्तर प्रदेशबाट विहार हुँदै कुञ्जीबारी नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

गौरादहमा हालसम्ममा ४२ जनामा पीसीआर टेस्ट गरिसकिएको उनले बताए । पछिल्लोपटक पीसीआर गरिएको २० जनाको खेपमा २ जना सङ्क्रमित भेटिएका हुन् ।

दुबै सङ्क्रमितलाई बुधवार नै विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि पठाइएको उनले जनाए ।

यता काँकरभिट्टा नाकाबाट स्वदेश भित्रिनेको लर्को झन् बढ्दै गएको खबर छ । मङ्गलवार रातिको हावाहुरी समेत व्यहोर्दै करीव ७०० जना भित्रिएका थिए ।

तर भीटीएम किटको अभावका कारण सीमा क्षेत्रको होल्डिङ सेन्टरमै पीसीआर गराउन भने सरकारले सकेको छैन । बिना टेस्ट उनीहरु आफ्नो गृहजिल्लातिर गइरहेका छन् ।

(Visited 369 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु