झापामा पिसिआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल बन्ने


बिर्तामोड, । झापामा पिसिआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि तयारी सुरु भएको छ ।
जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच बिहीवार बिर्तामोडमा भएको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।
अस्पताल तथा पिसिआर परीक्षण प्रयोगाशाला स्थापनाका लागि स्थान पहिचान लगायतका काम तत्काल अघि बढाउनेसमेत निष्कर्ष निकालिएको छ । कोरोना भाइरसको पिसिआर पद्धतिद्वारा परीक्षण र अस्पताल स्थापनाका लागि झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानको तर्फबाट एक हजार थान भिटिएम किट खरिद गर्ने सहमति भएको छ । भिटिएम अर्थात् भाइरल ट्रान्सपोर्ट मिडियम भनेको स्वाब राख्ने ट्युब हो ।
छलफलमा जिल्लास्तरीय समितिका संयोजक पोर्तेल, नेपाल कम्युनिष्ट पार्टी झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी र दिपेन बाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका वरिष्ठ उपाध्यक्ष कमलप्रसाद खरेलले कोरोना महामारी नियन्त्रणमा झापामा भएको कामको समीक्षासहित आफ्नो धारणा राखेका थिए ।। कोरोना नियन्त्रण जिल्लास्तरीय समिति र अभियानको सहभागितामा कोरोना उपचार, परीक्षणका लागि जिल्लास्तरमा तत्काल गर्नुपर्ने कार्यबारे अध्ययन गरी अघि बढ्ने सहमतिसमेत भएको छ ।

(Visited 51 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु