मर्निङवर्क गर्ने नाममा मेचीनगरमा भीडभाड बढ्यो, प्रहरी प्रशासनले अब नछाड्ने


लेखक : झुलन रेग्मी

मेचीनगर । मर्निङवर्क र इभिनिङवर्कको नाममा भइरहेको भीडभाडले कोरोना संक्रमणको खतरा बढाएको छ ।
खुला चौर र विद्यालयको खेल मैदानमा यतिखेर मर्निङवर्क गर्ने नाममा भीड बढेको स्थानीयले बताएका छन् । मेचीनगरको खुट्टीडाँगी, धुलाबारी, इटाभट्टा, पुन्यचौक, टोकला बगानलगायतका खाली मैदानमा मानिसहरुको भीड बढेको हो ।

मेचीनगरको कविशिरोमणि मावि खेल मैदानमा दैनिक बिहानको समयमा फुटबल खेल्ने र होहल्ला गर्ने गरिएको छ । ५०–६० को संख्यामा भेला हुने गरेका मानिसका कारण स्थानीय आजित भएका छन् । स्थानीयबासीले यो बेला सामाजिक दूरी कायम गर्न आग्रह पटक–पटक नगरेका होइनन् । तर पनि अटेर गर्ने गरेका छन् ।


सरकारले सामाजिक दूरी कायम गर्न आग्रह गरिरहेको छ । तर यो नियमलाई मर्निङवर्क गर्ने नाममा उल्लघंन गर्ने काम भइरहेको छ ।
विरामीले विहान तथा बेलुका वर्क गर्नु राम्रो हो । स्वास्थ्यको दृष्टिले राम्रो भए पनि सडक तथा खेल मैदानमा हुलका हुल मानिस जम्मा हुँदा कोरोनाको संक्रमण बढ्ने खतरा औँल्याइएको छ ।

मर्निङवर्कको नाममा बढिरहेको भीडभाड नियन्त्रण गर्ने विषयमा प्रहरीको ध्यान गएको छैन । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरीले सामाजिक दूरी कायम गरेर मर्निङवर्क गर्न पाइने बताएका छन् । तर, मर्निङवर्कको नाममा भीड गर्न नहुने बताए ।
उनले बिरामीको हकमा लागू हुने तर जोकोही बाटोमा निस्किएर भीडभाड गर्नेलाई कारवाही गरिने बताए । प्रहरी निरीक्षक चौधरीले विहान र बुलकाको समयमा भीडभाड गर्ने कार्यमा संलग्नलाई नियन्त्रणमा लिइने बताए ।

(Visited 580 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु